प्रदेश २ मा आठ जनामा कोरोना संक्रमण
प्रदेश २ मा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा आठजनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुने सबैजना धनुषाका रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। ८ जना थपिएसँगै धनुषामा कोरोना संक्रमितको संख्या ३ हजार ९११ पुगेको छ।
धनुषाको हंसपुर नगरपालिकाका १, लक्ष्मीनियाँ गाउँपालिकाका १, औरही गाउँपालिका क्वारेन्टाइनका ३, सहिदनगर नगरपालिका क्वारेन्टाइनका १ र जनकनन्दनी गाउँपालिका क्वारेन्टाइनका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
बुधबार पुष्टि भएका संक्रमित सबैको स्वास्थ्य सामान्य रहेको बताइएको छ। यता, ३० हजार ८०५ क्वारेन्टाइन बेड क्षमता रहेको प्रदेश २ मा अहिले २ हजार ७७७ जना र आइसोलेसनमा ४२६ जना रहेका छन्।
यसैगरी ४९ हजार जनाको स्वाब संकलन भएकोमा १ हजार ५६२ जनाको नतिजा आउन बाँकी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।