कोरोना नियन्त्रण गर्न मदिरामा प्रतिबन्ध

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ असार ३१ गते १५:१३

हालको कोरोना भाइरसको प्रकोप सामना गर्न संसारभरका मुलुकहरूले सुरक्षाका विभिन्न विधिहरू अवलम्बन गरिरहेका छन्।

यही क्रममा दक्षिण अफ्रिकी सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिन एक अनौठो विधि कार्यान्वयनमा ल्याएको छ। त्यो हो मदिराको बिक्रीमा प्रतिबन्ध।

यस अलावा अफ्रिकाले रात्रिकालीन कफ्र्यूको घोषणा गर्नुका साथै घर बाहिर निस्कँदा मास्क प्रयोग अनिवार्य बनाएको छ।

त्यसो त दक्षिण अफ्रिकाले यसै वर्ष पहिला पनि मदिराको बिक्रीमा प्रतिबन्ध लगाइसकेको छ। राष्ट्रपति क्रिल रामाफेसाले यस्तो खालको प्रतिबन्धले ‘देशको स्वास्थ्यसेवा प्रणालीमा परेको दबाब कम गर्ने’ भन्दै दोस्रो पटक प्रतिबन्धको घोषणा गरेका हुन्।

बिबिसीले यस अफ्रिकी मुलुकमा प्रति एक लाखमा एकतिहाइ जनसंख्या कोरोना संक्रमित भएपछि यस्तो उपाय अवलम्बन गरिएको जनाएको छ।

यसभन्दा अघि मादक पदार्थको सेवन गरी हुने झैझगडा, घरेलु हिंसा र सम्पूर्ण देशभर सप्ताहन्तमा गरिने अत्यधिक मदिरा सेवनलाई नियन्त्रण गर्न मदिराजन्य पदार्थको बिक्री वितरणमा तीन महिना लामो प्रतिबन्ध लगाइएको थियो।

उक्त प्रतिबन्धका कारण अस्पतालमा आकस्मिक रूपमा भर्ना हुने बिरामीको संख्यामा अत्यधिक गिरावट आएको स्वास्थ्यकर्मी र प्रहरीले जनाइरहँदा उता मदिरा बनाउने कम्पनीहरूले भने यो कदमले आफूहरूलाई व्यवसायबाट पलायन गराउने गुनासो गरिरहेका छन्।

सरकारी तथ्यांकअनुसार दक्षिण अफ्रिकामा हालसम्म संक्रमणको कारण चार हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने यस वर्षको अन्त्यसम्म संक्रमित संख्या ५० हजार नाघ्ने आँकलन गरिएको छ।
एक सम्बोधनका क्रममा राष्ट्रपति रामाफेसाले अधिकांश मानिस कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सचेत रहेता पनि केही भने एकअर्काप्रतिको जिम्मेवारी भुलेर अन्य व्यक्तिको सुरक्षालाई बेवास्ता गर्ने किसिमको क्रियाकलाप संलग्न भइरहेको टिप्पणी गरे।

‘यस्ता मानिसहरू पनि छन् जो जमघट, पार्टीहरूको आयोजना गरिरहेका छन्, मदिरा सेवन गरी खुला रूपमा हिँडिरहेका छन्। अझ कति त मास्क नै नलगाई भीडभाडमा प्रवेश गरिरहेका छन्,’ राष्ट्रपति रामाफेसाले भने।

कोरोना भाइरसको ‘आँधीहुरी’ बाट देशलाई जोगाउन यस्तो उपाय अवलम्बन गरिएको बताउँदै उनले हाल लागू गरिएको संकटकालीन अवस्था अगस्ट १५ सम्म थप गरिएको जानकारी दिए। रात्रिकालीन कफ्र्यू भने रातको ९ बजेदेखि बिहान ४ बजेसम्म लागू गरिएको छ।

उता सुरक्षा सतर्कताअन्तर्गत दक्षिण अफ्रिकाले कोभिड–१९ बिरामीका लागि मात्रै २८ हजार अस्पताल शैय्याको व्यवस्था गरेको छ। तथापि सो मुलुकले अझै पनि कम्तीमा १२ हजार जति डाक्टर, नर्स र फिजियोथेरापिस्टलगायतका स्वास्थ्यकर्मीको अभाव झेलिरहेको जनाएको छ।

अनुवादित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय