डब्लुएचओको चेतावनी– ‘राष्ट्रहरू गलत दिशामा हिँड्दै छन्, संक्रमण अझै भयावह हुनसक्छ’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले देशका सरकारहरूले थप निर्णायक कदम लिन चुकेमा हालको विश्व महामारीले अझै विकराल रूप लिनसक्ने भन्दै चेतावनी दिएको छ।

संगठनका महानिर्देशक डा. टेड्रोस अडानम ग्रेब्रियससले प्रमाणित र प्रभावकारी सुरक्षाका उपाय एवं विधिहरूको अवलम्बन नभएको राष्ट्रमा संक्रमण दर बढिरहेको जानकारी दिँदै धेरै मुलुक अहिले गलत दिशातर्फ लागेको जनाएका छन्।

अहिलेको अवस्थामा कोरोना भाइरस संक्रमणको केन्द्रबिन्दु अमेरिका बन्न पुगेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र स्वास्थ्य विज्ञहरूबीच दूरी बढिरहँदा संक्रमितको संख्यामा दिनानुदिन वृद्धि आइरहेको छ।

हालसम्म सबैभन्दा बढी कोभिड–१९ प्रभावित मानिएको अमेरिकामा ३३ लाख जनतामा संक्रमण पुष्टि भइसकेको र संक्रमितमध्ये एक लाख ३५ हजारभन्दा बढी मानिसको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ।

जेनेभामा आयोजित सूचना आदानप्रदान कार्यक्रममा गे्रब्रियससले नेतृत्वकर्ताहरूको मिश्रित सन्देश र प्रतिबद्धताले महामारीलाई नियन्त्रणमा लिने प्रयासमा आमजनताको भरोसा टुटेको बताए।

‘कोरोना भाइरस अहिलेको सबैभन्दा ठूलो साझा सत्रु हो, तर सरकार र जनताको कदममा यो गम्भीरता झल्किएको देखिँदैन,’ उनले भनेका छन्।

निर्देशक गे्रब्रियससले सामाजिक दूरी, हात धुने कार्य र मास्कको प्रयोगलगायत उपयुक्त अवस्थाअनुसार गम्भीर रूपमा लिइनुपर्नेमा जोड दिँदै तत्काल हिजोको जस्तो सामान्य अवस्थामा फर्कन सकिने खाले संकेत नदेखिएको स्पष्ट पारे।

‘यदि हामीले सामान्य र आधारभूत सुरक्षा विधिको पनि पालना गरेनौं भने हालको प्रकोप रहिरहने छ। त्यति मात्र नभएर यसले अझ थप भयानक रूप लिनेछ,’ उनले अगाडि थपे ।

डब्लुएचओका इमर्जेन्सी विभागका डाइरेक्टर डा. माइक रायनले अमेरिकामा लकडाउन खुकुलो गरिएको र अन्य केही क्षेत्रहरूलाई पुनर्संचालनमा ल्याइएका कारण संक्रमण अति तीव्र गतिमा बढ्न गएको बताए।

ल्याटिन अमेरिकाले हालसम्म एक लाख ४५ हजार कोरोना भाइरससँग सम्बन्धित मृत्युको पुष्टि गरिसकेको छ भने अपर्याप्त परीक्षणका कारण सो संख्या अझ बढ्ने अनुमान गरिएको छ। त्यसमध्ये आधाजसो मृत्युको घटना ब्राजिलमा दर्ता भएका छन्, जहाँका राष्ट्रपति स्वयंले भाइरसको संक्रमण रोक्ने खालका सुरक्षाका कडा कदमको विरोध गरेका थिए।

डा. रायनले सम्पूर्ण क्षेत्रलाई बन्दाबन्दीको अवस्थामा राख्दा त्यसको आर्थिक परिणाम बृहत हुने भएता पनि संक्रमण दरलाई घटाउन निश्चित स्थानमा स्थानीयस्तरको लकडाउन लागू गरिनुपर्ने आवश्यकतामाथि जोड दिए।

यसका साथै उनले सरकारलाई स्पष्ट र ठोस रणनीति अवलम्बन गर्न आग्रह गर्दै भने, ‘यस्तो रणनीति नागरिकले बुझ्ने खालको भयो भने उनीहरूलाई त्यसको पालना गर्न सजिलो हुन्छ।’

डब्लुएचओले हालै कोरोनाविरुद्धको खोप कहिल्यै पत्ता लाग्छ भन्ने विषय अझै अज्ञात भएकाले संसारले कोरोनासँग मिलेर बाँच्न सिक्नुपर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय