भिडियो लिंकमार्फत बिरामीको जीवन रक्षार्थ जुटे बेलायती–पाकिस्तानी चिकित्सक

लन्डनको बाहिरी क्षेत्रमा रहेको आफ्नो निजी घरबाट पाकिस्तानी मूलका डाक्टर ताहिर अख्तर लाहोरमा रहेका एकजना बिरामीको उपचारमा संलग्न छन्।

भिडियो लिंकमार्फत पाकिस्तानको जिनाह अस्पतालको एकजना डाक्टरले ताहिरलाई सघन उपचार कक्षमा रहेका बिरामीको उपचारमा सहजीकरण गरिरहेका छन्।

डाक्टर ताहिर बेलायतको नेसनल हेल्थ सर्भिसको सघन उपचार कक्षका परामर्शदाता हुन्। हाल आफू बस्ने सहर एसेक्सको कोभिड–१९ प्रतिकार्यमा उनले अगुवाको भूमिका निभाइरहेका छन्।

तर फुर्सदको समयमा आफ्नो जन्मभूमि पाकिस्तानका चिकित्सकलाई बिरामीहरूको उत्कृष्ट तरिकाले कसरी उपचार गर्ने भन्ने विषयमा अनुभव सेयर गर्न उनले टेलिमेडिसिन (दूर उपचार) को सफ्टवेयर प्रयोग गरिरहेका छन्।

‘हामीले यहाँ प्रदान गरिरहेको नेसनल हेल्थ सर्भिस सेवाको गुणस्तरबारे हामी गौरवान्वित छौं,’ डाक्टर ताहिर भन्छन्, ‘उपचार तथा जन्मभूमिका रूपमा गाँसिएको नाताका कारण मैले पाकिस्तानस्थित मेरा स्वास्थ्य सहकर्मी र पाकिस्तानी जनतालाई सहयोग गर्नु ज्यादै महत्त्वपूर्ण छ।’

ठूलो संख्यामा कोरोना भाइरस संक्रमितहरू बढेका कारण बेलायतमा पनि सघन उपचार कक्षका डाक्टरले मात्रै गम्भीर अवस्थाका बिरामीको हेरचाह गर्न सम्भव नभएका कारण विविध क्षेत्रमा विज्ञ चिकित्सक आबद्ध हुनुपरेको बताउँदै उनले अगाडि भने, ‘तर पाकिस्तानको समस्या त झनै बृहद छ। तसर्थ, त्यहाँ कार्यरत चिकित्सकसँग ज्ञान र जानकारी आदानप्रदान गर्नुका साथै सरसल्लाह लिन कोही उपलब्ध हुनु अति नै महत्त्वपूर्ण छ।’

पाकिस्तानको जिनाह अस्पतालमा सघन उपचार कक्षको नेतृत्व गरिरहेका डा. मोहम्मद असरफ जिया आफैं वरिष्ठ चिकित्सक भए पनि कोरोना भाइरस नयाँ रोग भएकाले डाक्टर ताहिरसँग ज्ञान र अनुभव आदानप्रदान गर्नु ‘धेरै नै उपयोगी’ भएको बताउँछन्।

उदाहरणका लागि उनका अनुसार पहिला अभ्यास नगरेको उपचारको विधि हाल अभ्यास गर्न थालिएको र उक्त विधिले उत्कृष्ट परिणाम दिइरहेको छ।

पाकिस्तानमा हालसम्म २ लाख ५० हजार कोरोना भाइरस संक्रमित पुष्टि हुँदा त्यसमध्ये ५ हजार बिरामीले ज्यान गुमाएका छन्। तर बेलायतसँग तुलना गर्दा त्यो संख्या अति नै कम हुन आउँछ। बेलायतमा मात्र कोभिड–१९ का कारण करिब ४४ हजार संक्रमितको मृत्यु भइसकेको छ।

तर प्रतिव्यक्ति डा. संख्याको कुरा गर्ने हो भने पाकिस्तान बेलायतभन्दा धेरै पछाडि छ। विश्व स्वास्थ्य संगठनले जनाएअनुसार पाकिस्तानमा प्रति १९ हजार जनसंख्याका लागि १० डाक्टर उपलब्ध छन् जुन बेलायतभन्दा तीन गुणाले कम हो।

पाकिस्तानी मूलका अर्का बेलायती डा. सुहेल चग्दाइले लाहोर सहरको सघन उपचार कक्षमा सम्पर्क स्थापना गर्नका लागि आफैंले टेलिमेडिसिन सफ्टवेयर बनाएका छन्। यसले दुई देशका चिकित्सकलाई भिडियो लिंकमार्फत कुरा गर्न र सोक्रममा घटना अध्ययनका मस्यौदा आदानप्रदान गर्न सघाउ पुर्‌याउँछ।

‘टेलिमेडिसिनको सहयोगमार्फत बेलायती डाक्टरलाई पाकिस्तानी बिरामीको सेवामा तैनाथ गरी सघन उपचार विज्ञहरूको अभाव भएको पाकिस्तान र उपचार तथा सोसम्बन्धी प्रविधिमा अब्बल मानिएको बेलायतबीचको दरार कम गर्नु मेरो टेलिमेडिसिन प्रविधिको प्रमुख उद्देश्य छ,’ चग्दाइले जानकारी दिए।

त्यसो त डाक्टर चग्दाइले अन्य समान परियोजनाहरू पनि सञ्चालनमा ल्याएका छन्। जसमध्ये पन्जाब प्रान्तको सरकारसँगको सहकार्यमा सुरु गरिएको एक परियोजनाले पाकिस्तानका कोरोना भाइरस संक्रमितलाई बेलायत, आयरल्यान्ड, अमेरिका र पाकिस्तानका डाक्टरसँग निःशुल्क परामर्श लिने सुविधा प्रदान गर्दछ।

यस परियोजनाले संक्रमित व्यक्तिहरू स्वास्थ्य सेवा हासिल गर्नका लागि विभिन्न अस्पताल तथा क्लिनिकमा धाउनु नपर्ने अवस्थाको सिर्जना गर्छ जसको फलस्वरुप संक्रमितले अन्य व्यक्तिलाई संक्रमण गराउने सम्भावना कम हुन्छ।

यस परियोजनाअन्तर्गत मार्च महिनायता यी चार देशका चिकित्सकले ३५ हजारभन्दा बढी परामर्श सत्र सम्पन्न गरिसकेका छन्।

डा. चग्दाइले यस्ता परियोजनालाई ‘भविष्यको उपचार’को रूपमा लिएका छन्। ‘यदि चिकित्सक र बिरामीले उही भाषा बोल्छन् भन्ने जरुरी छैन। जहाँ छन्। टेलिमेडिसिनमार्फत उनीहरूलाई एकअर्कासँग राम्ररी जोड्न सकिन्छ,’ उनी आफ्नो विचार राख्छन्।

बेलायती–पाकिस्तानी डाक्टरहरूको अन्य विभिन्न समूहहरूले पाकिस्तानको स्वास्थ्य प्रणालीको क्षमता बढाउन आफ्नो खाली समय सदुपयोग गरिरहेका छन्। सन् २००५ मा पाकिस्तानको नियन्त्रणमा रहेको काश्मीर क्षेत्रमा विनासकारी भूकम्प गएपछि ‘मिडल्यान्ड डक्टर्स’ नामक परोपकारी संस्थाको स्थापना भएको थियो, जसले मुजाफरबादमा एउटा अस्पतालको स्थापना गर्‌यो।

संस्थाका सदस्य डा. फरान रसिदले हाल पाकिस्तानी चिकित्सकहरूलाई आफ्नो संस्थाले अनलाइन तालिम दिइरहेको र बेलायतमा रहेका डाक्टरले उक्त अस्पतालको सघन उपचार कक्षमा ‘भर्चुअल राउन्ड’ लिन थालेको जानकारी दिए। उनका अनुसार पाकिस्तानभन्दा बेलायतले कोरोनाको ठूलो चपेटामा रहेकाले उनीहरूले आफ्ना पाकिस्तानी सहकर्मीलाई सोसम्बन्धी अमूल्य ज्ञान बाँड्न सक्ने विश्वास व्यक्त गरे।

विभिन्न टेलिमेडिसिन पोर्टल विकसित गरेका डा. चग्दाइले अधिक संख्याका बेलायती–पाकिस्तानी चिकित्सकले टेलिमेडिसिनको काममा संलग्न हुन रुचाएको बताए। ‘उनीहरू बेलायतलाई माया गर्छन्। तर सोही बेला आफ्नो जन्मभूमिका लागि पनि उनीहरू केही योगदान गर्न चाहन्छन्,’ उनले भने। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय