बढ्दो डेंगु प्रकोप, घट्दो सरकारी चासाे

भाइरसको संक्रमणबाट फैलने रोग डेंगु विगतका वर्षहरूझै यस वर्ष पनि नेपालको पूर्वी तथा मध्य तराई भागमा फैलिएको छ। यो रोग लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ। यस रोगकोे बिरामीको संख्याका तुलनात्मक रूपमा गर्मीयाममा बढ्ने गर्छ, यस वर्ष पनि त्यस्तै छ।

मुख्यतः नेपालको पूर्वीभागमा पछिल्ला केही वर्षमा डेंगु इन्डेमिकको रूपमा फैलिएकाले यस वर्ष पनि सोही रुपमा फैलने खतरा छ। हुन त कोभिड महामारीका कारण डेंगुको विषय ओझेलमा परेको देखिन्छ तर यसको विकराल रूपको अवतरणपूर्व नै उचित व्यवस्थापन गर्नु विवेकशील कदम हुनेछ।

त्यो हाम्रा लागि, चिकित्सकका लागि अनि सरकारका लागि। अधिकांश डेंगु रोगीको उपचार स्थानीय स्तरमा नै सम्भव छ, धेरैलाई घरमै पनि सामान्य औषधी सेवनबाट निकोसमेत हुने गर्दछ तर केही बिरामीलाई सघन उपचारका लागि आइसियूसहितको ठूला अस्पतालमा रिफर गर्नुपर्ने हुन्छ। डेंगुले भयावह रूप लिन नपाओस् भन्ने नै हाम्रो मुख्य उद्देश्य हुनुपर्छ।

डेंगु लामखुट्टेको टोकाइबाट अति नै शीघ्र फैलने भाइरस संक्रमणबाट हुने रोगमध्येको रोग हो। विश्वभर नै यस रोगको फैलावल भए पनि एसियामा खास गरी भारत र पछिल्लो समयमा नेपालमा पनि यो रोग इन्डेमिक भएर एक समस्याको जड भएको छ।

यो रोगग्रसित भएको क्षेत्रको मानिसको आर्थिक, शारीरिक र मानसिक बोझ हुने गरेका विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले जनाएको छ। नेपालीको जस्तो आर्थिक स्तर कम भएको समाजमा यो रोगको प्रकोपबाट धेरै प्रभाव पर्ने भएकाले सरकारले समयमा नै उचित समाधान खोज्नु जरुरी छ।

बिरामीमा सामान्य ज्वरो आउने, जिउ, हात दुख्ने, जोर्नीहरू दुख्ने, टाउको दुख्ने र आलस्यता हुने जस्ता लक्षण भएको खण्डमा चिकित्सकले अन्य रोगको पहिचानका लागि गरिने परीक्षणका अलावा डेंगु रोगको पनि परीक्षण गर्ने अवस्था सिर्जना भएको छ। हुन त ज्वरो आएको बिरामीको कोभिडका लागि गरिने परीक्षण पनि सरकारको नीतिमा छ तर लक्षणअनुसारको परीक्षण अबको आवश्यकता हो।

केही वर्षदेखि डेंगु रोगबाट बिरामी आत्तिने गरेको पाइएको छ, तर त्यसो गरिनुहुन्न। तीन दिनको ज्वरोको चरण पार गरेपछि रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाने र रक्तचाप कम हुने पनि हुन्छ। शरीरमा प्लेटलेटको संख्या कम भएमा रक्तनलीबाट रगत शरीरका अन्य तन्तुहरूमा जाने भएकाले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने र शरीरमा आवश्यक रगतको अभावमा बिरामी सिकिस्त भई मृत्युसम्म हुनसक्ने भएकाले बेलामा नै उपचार गराउनु र चिकित्सकको निगरानीमा मात्र उपचार गराउनु बुद्धिमानी हुनेछ।

सामान्य ज्वरो वा भाइरल ज्वरो भए पनि हल्का रूपमा नलिन र डेंगु प्रकोपित क्षेत्रका बासिन्दा समयमा नै अस्पताल आउन मेरो अनुरोध रहने छ। तर, यो रोग लागिहाल्यो भनेर आत्तिने र त्रासमा बस्ने पनि गर्नुहुँदैन किनकि अधिंकाश रोगीको सामान्य उपचारपछि घर फर्काउन सकिन्छ। केही पाँच प्रतिशत बिरामीमा मात्र यो रोग विकराल रूपमा आउने गर्दछ जसको सघन उपचार आवश्यक हुन्छ।

रोगको पहिचान केही बिरामीमा गरिए पनि धेरै बिरामीको पहिचान हुन सकेको छैन। किनकि सामान्य ज्वरो आएका बिरामी औषधी पसलको सामान्य औषधी सेवन गर्ने परम्परा हाम्रो समाजमा स्थापित छ। डाक्टरको सल्लाह लिन रोगले थलिएपछि मात्र आउने वैचारिक तथा आर्थिक रूपको गरिबी पनि हाम्रो समाजमा नै छ। सरकारले चासो नदिने हो भने यस रोगले यस क्षेत्रमा विकराल रूप लिन सक्छ र धेरैको ज्यान खतरामा हुनेछ।

कसरी बच्ने?

विभिन्न मानिसको शरीरमा विभिन्न चार प्रकारको रूप धारण गर्नसक्ने डिईएन वान, टु, थ्री र फोर (एक प्रकारको डेंगु) भाइरसको संक्रमणबाट यो रोग मानिसमा स्थापित हुन्छ। यो रोग मुख्यतः स्त्री जातिका एडिज लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ।

पानी जम्ने ठाउँ, एयर कन्डिसन, फूलका गमला, पुराना टायर , नरिबलका खोस्टा, साना खाल्डाहरूमा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यो रोग फैलने सम्भावना रहन्छ। उक्त प्रजातिका लामखुट्टे सौखिन मानिन्छन्, त्यसैले मुख्यतः सफा पानीमा फैलने भएकाले फोहर नालीहरू भएको ठाउँहरूभन्दा घर र त्यसआसपासका पानी जम्ने पुराना भाडाकुँडामा बस्ने लामखुट्टेबाट यो रोग फैलने सम्भावना भएकाले मानिसलाई नै यो रोग फैलनुको बढी जिम्मेवार मानिएको छ। तसर्थ आफ्नो घर सफाई गर्नु र घरमा पानी जम्ने ठाउँ हटाउनु नै यो रोगको उचित रोकथामको उपाय हो। साथै मच्छडको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा मच्छड धूप वा क्रिम प्रयोग गर्नु पनि उत्तिकै आवश्यक छ।

यस रोगको उपचार सुरुमा चिकित्सकको निगरानीमा लक्षणअनुसार गरिने हुन्छ, शरीरमा पानीको मात्रा कम भए सोहीअनुसार पानीको मात्रा कम हुन नदिन सलाइन चढाउनुपर्ने हुन्छ तर शरीरमा प्लेटलेटको मात्र कम भएमा कम्पोनेन्ट ब्लड (सेतो रगत) चढाउनुपर्ने हुन्छ। बिरामी सिकिस्त भएमा सघन उपचार कक्षमा चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिनुपर्ने भएकाले सम्बन्धित स्वास्थ्यकर्मीले पनि यस रोगको उपचारको कुनै खास पद्धतिअनुसार उपचार गर्नु हुन समेत मेरो अनुरोध रहने छ।

अन्तमा हुन त कोभिड महामारीका कारण डेंगु ओझेलमा परेको देखिन्छ। सरकार मातहतका निकाय र स्थानीय निकायले यस प्रकारका रोगबारेमा जनचेतना दिनेदेखि उचित व्यवस्थापन गर्दै रोग नियन्त्रणमा चासो दिनुपर्ने र बिरामीहरूको उपचारमा सरकारी सहयोगको व्यवस्था गर्दै रोग नियन्त्रणमा समेत रफ्तारमा कार्य गर्नुपर्नेमा सरकार यस रोगबारे मौन छ। मात्र कोभिड महामारीमा केन्द्रित भएको भान हुन्छ। तराई क्षेत्रका आमजनता दिनानुदिन रोगले थप ग्रसित हुने सम्भावना रहेकाले यस रोगप्रति सरकारी चासो कम हुनुहुन्न। पछि चाहेर पनि नियन्त्रण बाहिर जानसक्छ र अनावश्यक सरकारी रकम धेरै खर्च हुनसक्छ ।

अस्पताल व्यवस्थापनका जानकार साह पाटन अस्पतालमा एमडी अध्ययनरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय