लमही आँखा अस्पतालमा फन्डस क्यामरा जडान
लमही आँखा अस्पतालमा फन्डस क्याम्परा जडान गरिएको छ। आँखा परीक्षणमा सहयोग पुर्याउने उद्देश्यले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालन गरिएको लमही आँखा अस्पतालमा फन्डस क्यामरा जडान गरिएको हो।
आँखाको नशाको अवस्था पत्ता लगाउन सजिलो हुने भएकाले आँखा उपचारलाई प्रभावकारी बनाउन सकिने लमही आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर निता सुनामले जानकारी दिइन्। ‘यस उपकरणले बिरामीको आँखामा रगत जमेको, दाग भएको पत्ता लगाउन सकिन्छ, आँखाको एक्सरे गर्ने हो,’ डाक्टर सुनामले भनिन्, ‘रेटिना जाँचको सुविधा थिएन, फन्डस क्यामराले सजिलो बनाएको छ।’
आँखाको पर्दाको फोटो खिच्ने भएकाले चिकित्सक र बिरामी दुबैले सजिलोसँग तस्बिर हेरेर समस्याको पहिचान गर्न सकिने छ।
जिल्लामा यो सुविधा नहुँदा बिरामीहरूलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता थियो। सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय प्रदेश ५ को चिकित्सकीय औजार उपकरण खरिदका लागि पुँजीगत अनुदान र लमही आँखा अस्पतालको साझेदारीमा उपकरण खरिद गरिएको हो। सोमबार क्यामरा खरिद कार्य सम्पन्नको सामाजिक परीक्षण गरिएको छ।
निर्देशनालको २० लाख र लमही आँखा अस्पतालको १५ लाख गरी ३५ लाखको लागतमा फन्डस क्यामरा खरिद गरिएको अस्पतालका बरिष्ठ प्रशासकीय प्रमुख शमशेर थापाले जानकारी दिएका छन्। लकडाउनको अवधिमा क्यामरा खरिद प्रक्रियालाई अघि बढाउन निकै जटिल भए पनि आफूहरूले उपकरण गरिद गरेको बताए।
नेपाल नेत्रज्योति संघका सचिव तथा क्यामरा खरिद समितिका संयोजक सुरेन्द्र खड्काको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख केसीले आँखा उपचारमा लमही आँखा अस्पताल सफल रहेको भन्दै थप नयाँ सेवा विस्तार गरेको भन्दै धन्यवाद व्यक्त गरे। ‘पहिले हामी आँखा उपचार गर्न कि त रक्षाचौर जानुपथ्र्यो कि त काठमाडौं, अहिले सहज भएको छ’, उनले भने। उनले आँखा अस्पतालको थप सेवा विस्तार गर्न हामी साझेदारी गर्न तयार छौं।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका जिल्ला सभापति एव अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले अस्पताललाई थप सुविधा सम्पन्न गराउन आफूहरू लागेको भन्दै यसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए।