साउनदेखि आकस्मिक स्वास्थ्य सेवा निःशुल्क, कहाँ–कहाँ पाइन्छ त?

असार २९– संविधानको व्यवस्था र स्वास्थ्यमा लोककल्याणकारी राज्यको अवधारणाअनुसार सरकारले साउन १ गतेदेखि आकस्मिक स्वास्थ्य सेवा निःशुल्क गर्ने भएको छ ।

तर तत्काल यो सेवा सेवा सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाबाट मात्रै प्राप्त हुनेछ । अहिले निजीले दिने सेवालाई पनि यो दायरामा ल्याउँने सरकारी योजना छैन् ।

कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट विमुख हुन नपरोस् र तत्काल उपचार नपाएका कारण ज्यान जाने अवस्थाको अन्त्य होस् भन्ने उद्देश्यले आकस्मिक सेवा निःशुल्क गर्न लागिएको हो ।

नेपालको सविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हकअन्तर्गत प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्यसेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्यसेवाबाट वञ्चित गरिने छैन’ भन्ने उल्लेख छ ।

अन्तरिम संविधानमा भएको व्यवस्थाअनुसार यसअघि सरकारले २०६५ सालदेखि आधारभुत स्वास्थ्य सेवा (तोकिएका औषधिसहित) र प्रसुति सेवा निःशुल्क गरेको थियो । पछिल्लोपटक संविधानजारी भएपछि यो व्यवस्था कार्यन्वयन अर्को महत्वपूर्ण काम हुनेछ ।

सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा केन्द्रीय तथा प्रदेश स्तरका अस्पतालबाट प्रारम्भिक आकस्मिक सेवा निःशुल्क गर्ने घोषणा गरेको थियो।  १ साउनबाट पैसाको अभावमा कुनै पनि बिरामीको आकस्मिक सेवाको उपचार उपचार नरोकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाई छ ।

यो व्यवस्था कार्यान्वयनका लागि मन्त्रालयले असारको दोस्र्रो सातामा आकस्मिक स्वास्थ्य सेवा निःशुल्क सम्बन्धी कार्यविधिको मस्यौदा तर्जुमा गर्नको लागि स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाका प्रमुख डा.तारानाथ पोखरेल संयोजत्वमा ६ सदस्य समिति बनाएको थियो ।

समितिको सदस्यहरुमा रोशनी तुईतुई, डा आशिष श्रेष्ठ, डा. झलक गौतम, डा. सुशील बराल र अच्युतराज कार्की रहेका थिए। समितिको सदस्य सचिवमा डा पोमावती थापा रहेकी थिइन। आकस्मिक स्वास्थ्य सेवा निशुल्क गर्नेको लागि कार्यविधिको काम सकिन लागेको संयोजक डा. पोखरेलले बताए।

‘कार्यविधि बनाउनको लागि जनस्वास्थ्यविद् र विशेषज्ञसँग छलफलमा रहेका छौ, डा. पोखरेलले हेल्थपोस्टसँग भने, ‘अन्तिम मस्यौदा असार ३१ गते भित्र मन्त्रालयमा बुझाछौँं।’

सोही अनुरुप सरकारले आर्थिक वर्ष २०७७/०७८ देखि निशुल्क आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न लागेका हो। उनका अनुसार देशभर १५ वटा भन्दा बढी अस्पतालबाट निशुल्क आकस्मिक सेवा प्रदान हुनेछ ।

कुन–कुन अस्पतालबाट पाइन्छ सेवा ?

देशभरका केन्द्रीय अस्पताल तथा प्रदेश स्तरका अस्पतालबाट निशुल्क आकस्मिक सेवा पाउने छन्।

जसअन्तर्गत वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, शहीद गंगालाल राष्ट्रिय हदृय रोग केन्द्र, कान्ति बाल अस्पताल, आयुर्वेद अस्पताल, परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल, पाटन अस्पताल, मानसिक अस्पताल पाटन, भक्तपुर अस्पताल, सार्क क्षयरोग केन्द्र रहेका छन्।

त्यसैगरी, वि.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, कोसी अस्पताल, नारायणी अस्पताल, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराज, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, डडेल्धुरा

अस्पताल, जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालबाट आकस्मिक स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुनेछ ।

कस्तो सेवा पाउँछन्?
आकस्मिक निशुल्क सेवामा गरिब तथा विपन्न वर्गलाई पहिलो प्राथमितमा राखिएको डा. पोखरेलले जानकारी दिए। उनका अनुसार उपचार खर्च नभएको अवस्था कार्यविधिमा व्यवस्था भएअनुसार सबैले निशुल्क सेवा पाउनेछन्।

‘आकस्मिक सेवा लिनको लागि जीवन तथा अंग जोखिममा रहेका मानिसहरु आउने गर्दछन्, उनले भने, ‘जबसम्म बिरामीहरु खतरामुक्त हुनुहुन्न सबै सेवाको खर्च सरकारले व्यर्होछ।’

आकस्मिक विभाग अन्तर्गत रहेका एक्सरे, भिडियो एक्सरे, आकस्मिक अप्रेशन, औषधि, अप्रेशनको लागि चाहिने मेडिकल समाग्री, टिकट शुल्क, भर्ना शुल्कलगायतका सेवा निशुल्क हुनेछ।

अस्पतालबाट उपलब्ध भएको निशुल्क आकस्मिक सेवा भुक्तानी सरकारले व्यर्होने छ। सरकारले आकस्मिक निशुल्क सेवा प्रदान गरेसँगै उपचारबाट विमुख भएर मृत्यु हुने संख्या कम हुने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय