स्टार अस्पताललाई शुल्क लिएर कोरोना परीक्षण अनुमति

सानेपास्थित स्टार अस्पताललाई सरकारले तोकिएको शुल्क लिएर पिसिआर परीक्षण गर्ने अनुमति दिएको छ ।

सुरुमा सरकारले संकलन गरेर दिएको नमूना मात्रै परीक्षण गर्नेगरी अनुमति दिएकोमा अब भने आफै नमूना संकलन गर्ने र तोकिएको शुल्क लिएर परीक्षण गर्न पाउनेगरी अनुमति पाएको अस्पतालका प्रवन्ध निर्देशक डा. शैल रुपाखेतीले बताए ।

अस्पतालले तत्कालका लागि आफ्नो अस्पतालका बिरामी, कुटनीतिक नियोगका कर्मचारी र विदेश जाने प्रयोजनका लागि गर्नुपर्ने परीक्षणका लागि मात्रै अनुमति पाएको छ ।

‘अब हामीले अस्पतालमा भर्ना भएका बिरामीको आफै स्वाब संकलन गरेर परीक्षण गर्न पनि परीक्षण गर्न पाउछौ’ डा. रुपाखेतीले भने ।

क्षमता र पूर्वाधार पुगेका निजी क्षेत्रका प्रयोगशालाले परीक्षण अनुमति पाए परीक्षणको दायरा बढ्ने विश्वास लिइएको छ । निजी क्षेत्रकै प्रयोगशालामध्ये स्टार र केएमसी अस्पतालको प्रयोगशालाले परीक्षण अनुमति पाएका थिए ।

यी अस्पतालले अनुमति पाउँदा पनि अन्य अस्पतालका बिरामी वा अन्य सर्वसाधारणले चाहेमा परीक्षण गर्न गरिदिनसक्नेगरी खुल्ला नगरिएका कारण पूर्ण सहज अवस्था भने बन्न नसक्ने मन्त्रालयकै अधिकारीहरु बताउँछन् ।

अस्पतालको छुट्टै भवनमा तीन वटा मेशिनसहितको प्रयोगशाला बायोसेफ्टी लेवल २ प्रयोगशाला हो । जसमा दैनिक १ हजार नमूनाको परीक्षण गर्न सकिने र २४सै घण्टा सेवा दिनसक्ने क्षमता छ । सरकारले पिसिआर परीक्षणका लागि ५ हजार ५ सय शुल्क तोकेको छ ।

पछिल्ला दिनमा संक्रमणको चाप बढेसँगै स्वेच्छिक रुपमा कोरोना परीक्षण गराउने माग बढिरहेको छ । तीबाहेक निजी अस्पतालमा तत्काल शल्यक्रिया, बिरामी भर्नाका लागि पनि पिसिआर परीक्षण रिपोर्ट माग्ने गरेका छन् ।

काठमाडौंका हकमा उपत्यकाबाहिरबाट आएकाहरुसँग घरबेटीले समेत कोरोना परीक्षणको रिपोर्ट माग्ने गरेका छन् । तर यो अनुमतिले पनि यो असहजता हट्ने अवस्था भने बन्ने देखिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय