‘जागिर पाउनभन्दा, पिसिआर परीक्षण गाह्राे ’

डा.मनबहादुर केसी
प्रकाशित
२०७७ असार २७ गते १०:५२

संसार कारोना कहरले आक्रान्त छ। पछिल्ला यो महामारीको ग्राफ बढ्दो चरणमा रहेका थोरै देशमध्ये नेपालको पनि नाम आउँछ।

नेपालमा सरकारले सुरुमा १ हजार ५ सय र पछि ५ हजारसम्म संक्रमित हुन्छन् भनेर अनुमान गरेर तयारी थालिरहेको अवस्थामा अहिले १६ हजारभन्दा भन्दा बढी नघिसकेका छन्। बढी जनसंख्या भएको उपत्यकामा अहिले संक्रमितको संख्या बढ्न थालेको छ।

सदुपयोग गर्न नसकिएको ‘सराहनीय सुरुवात’

कोरोनाको विश्वव्यापी महामारीको रोकथामका लागि सरकारले सुरुकै अवस्थामा देशव्यापी लकडाउन जाने निर्णय गर्‍याे। जुन आफैंमा सराहनीय थियो, जसले गर्दा कोरोना फैलिन पाएन। तर, सरकार यसलाई नियन्त्रण गर्न चुक्यो र यो केही हदसम्म पछाडि धकेल्यो।

हामीले लकडाउनको सदुपयोग गर्न सकेनाैं। यो अर्थमा सरकारले त लकडाउनलाई केवल ‘ढोका लगाएर’ सुतेजस्तै गर्‍याे। नेपालजस्ता सीमित स्रोतसाधन भएको अवस्थामा लकडाउनको भविष्यको तयारीका लागि समय र अवसर बन्न सक्थ्यो।

लकडाउनकै बीचमा महामारीलाई कसरी सामना गर्ने तयारी गर्नुपर्ने थियो, त्यो भएन। यो अर्थमा स्वास्थ्य साम्रगीको जोहो गर्ने, रणनीति बनाउने, कार्यक्रम बनाउने, जनशक्ति व्यवस्थापन गर्न सरकारले प्रर्याप्त तयारी गर्न सकेन।

लकडाउन भनेकै उपचार, समस्याको समाधान नै हो भन्ने सरकारले बुझेको छ। बीचको समयमा जुन तयारी नगर्दा पहिलो कुरामा चुकेका छाैं।
कोरोनाका धेरै संक्रमित अन्य देशबाट आएका छन्। बाहिरबाट आएको भाइरस भएकाले धेरै मानिस भारत तथा अन्य खाडी मुलुकमै श्रम गरेर बसेको कुरा सरकारको जानकारीमा थियो।

त्यसमा पनि भारतमा गएका नेपाली आर्थिक हिसावले निम्न स्तरका छन्। साहुले काम नदिने बित्तिकै खानसम्म समस्या भयो। यस्ता मानिसलाई व्यवस्थित गरेर ल्याउने रणनीति बनाइन्। त्यहीँ नै बस भनियो, उनीहरूको बारेमा सरकारले केही पनि सोचेन।

भारतका भएका मानिसलाई चैतमा नै व्यवस्थित गरेर ल्याएको भए आज यो स्थितसम्म आउने थिएन।

सीमा क्षेत्रमा खाली जग्गा थियो। त्यसबेला पाल टागेर ५ मिटरमा दूरीमा बेड राख्न सकिथ्यो नि! जुन बेला भारतमा कोरोना समुदायस्तरमा फैलिएको अवस्था नै थिएन। त्यहीँ बेला नै सरकारले नागरिकलाई सुरक्षित साथ ल्याएको भए अहिलेको अवस्था हामीले भोग्नुपर्ने थिएन।

संक्रमणको अवस्था
केही दिन सरकारले संक्रमित संख्या घट्दै गएको भन्दै ‘सेलेब्रेसन’को मुडमा देखिन्छ। परीक्षणकै संख्या घटेपछि कसरी संक्रमण देखिन्छ।

भारतबाट आएका करिब २ लाख व्यक्ति जेठका सुरुमा नै आएका हुन्। कतिको स्वाब संकलन गरेर १० दिनपछि मात्र परीक्षण गरिएको छ। जुन बेलासम्म भाइरस नै मरिसकेको हुन्छ।

संकलन गरेर २-३ दिनभित्रमा परीक्षण गर्नुपर्ने थियो। परीक्षणलाई व्यवस्थापन राम्रो हुन सकेन।

सरकारले लक्षण नभएका व्यक्तिलाई केहि समय क्वारेन्टाइनमा राखेर परीक्षण नै नगरी घर पठाउने नीति लिएको छ। मानिसहरु घर पुगेपछि संक्रमित भएका धेरै घटना बाहिर आए। ती संक्रमित व्यक्तिले घर परिवारका मानिसलाई सम्म कोरोना सारे।

अहिले काठमाडौं उपत्यका परिवेश हेर्दा मास्क लगाएका छैन, न त भौतिक दूरी नै कायम गरेका छन्। विकसित देशले भौतिक दूरी कायम नगर्ने, मास्क नलाउने वा लकडाउनको नियम नमान्ने लागि महिनौसम्म जेल हालेका छन्।

अहिले प्रहरीले चोकचोकमा बसेर गाडीको जोर-बिजोर नम्बर हेर्नु कुनै अर्थ छैन। बाटो हिँड्दा मानिस मास्क तथा दूरी कायम नगरी नै हिँडेका छन्। अहिले उपत्यका बाहिरबाट दैनिक हजारौं मानिस भित्रिएका छन्। उपत्यकाका अस्पतालमा कोरोना परीक्षणको लागि मानिसको लाइन छ।

अहिले टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा यति भीड छ कि भौतिक दूरी नै कायम छैन। लक्षण भएको वा सक्रमण क्षेत्रबाट आएका मानिसलाई मात्र परीक्षण गरिँदै आएको छ। यो परिदृश्यले पनि के आकलन गर्न सकिन्छ भने भोलिका दिन उपत्यका ‘हटस्पट’ हुने देखिन्छ।
उपत्यकामा भित्रिने मानिसलाई नाकाबाट नै स्वाब संकलन गर्न सरकारले सक्छ होला नि !

अहिलेको अवस्थामा कामदार भोकभकै बसिरहेका छन्। सरकार चैतमा ५ केजी चामल बाँडेर राहत दिएको भन्दै बसेको छ। लकडाउनले नै गर्दा अन्य आत्महत्याको दर बढिरहेको छ। कमजोर मनस्थित भएका मानिसले खुल्ला ठाउँमा हिँड्न पाएनन, केही कुरा सेयर गर्न पाएनन् भने मानसिक तनाव बढ्न गइ आत्महत्याको बाटो रोज्ने गरेका छन्।

धेरै मानिसले रोजगारी गुमाएका छन्। घरपरिवार कसरी चलाउने भन्ने चिन्ताले मानिसमा मानसिक तनाव बढिरहेको छ।

कोरोना लक्षण नभएका संक्रमितलाई सबैलाई अस्पतालमा राख्ने क्षमता हामीसँग छैन। लक्षण नभएका व्यक्तिलाई घरमा राखेर केही समस्या भएमा अस्पताल ल्याउने जिम्मेवारी लिन सक्नुपर्छ।

अब उपचारमा
अहिले काठमाडौंका अस्पतालमा कोरोना संक्रमण देखिएको छ। कतिपय अस्पतालमा कोरोनाका संक्रमित रहेका छन्। कोरोना संक्रमितलाई कोरोना अस्पतालमा उपचार गर्ने वा सबै अस्पतालले कोरोनाका बिरामीलाई लिने भन्ने स्पष्ट नीति छैन।

सबै अस्पतालले कोभिड-१९ तथा नन कोभिडको बिरामी राख्दा भीड तथा नन कोभिडको बिरामी राख्दा संक्रमण फैलिने देखिन्छ।
काठमाडौं बाहिरको संक्रमण घट्दो रहेको छ। अब भारतबाट आउने संख्या पनि घटिरहेको छ। काठमाडौंमा प्रवेश गर्न लक्षण भएका वा नभएका सबैको वा समुदायमा देखिएका सबैको पिसिआर गर्नुपर्छ।

काठमाडौंमा अहिले व्यापार, व्यवसाय गर्न आउनेको क्रम बढिरहेको छ। उपत्यकामा कोरोना नियन्त्रण गर्ने हो भने १४ दिन पूर्ण क्वारेन्टाइन र पिसिआर परीक्षण गर्नुपर्छ।

केही अस्पतालले महामारीमा सेवा राम्रोसँग दिइरहेका छन्। केही यस्ता अस्पताल छन्, संक्रमित भेटिने बित्तिकै अस्पताललाई सिल गर्ने क्रम नै बढेको छ।

अस्पतालमा बिरामीलाई कोरोना देखियो भनेर सिल गर्ने गलत तरिका हो। केहीगरी देखियो भने सावधानी अपनाउनु पर्यो। जुन संक्रमित सँग आएका मानिस क्वारेन्टाइन जानुपर्यो र परीक्षण नै गर्नुपर्‍याे।

अहिले धेरै अस्पतालले सर्वसाधारण दुख दिने काम मात्र गरेका छन्। सानो उपचार गर्नुपर्यो भने पनि कोरोना परीक्षण नभइ डाक्टरले उपचार गर्दैनन्। अहिले पिसिआर गर्न जागिर राख्नुभन्दा गाह्रो छ।

अब कोरोना नियन्त्रण गर्न सर्वसाधारणमा नै भर पर्छ। जनमानसले भौतिक दूरी कायम गर्ने, बाहिर निस्कदा मास्कको प्रयोग, हातधुने बानीको विकास गर्ने हो भने कोरोनाको महामारीलाई जित्न सकिन्छ।

(वरिष्ठ मुटुरोग विशेषज्ञ डा. केसीसँग पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय