सामाजिक दूरी कायम गर्न नसक्नु हाम्रो बाध्यता होः टेकु अस्पताल निर्देशक राजभण्डारी

पछिल्ला दिनमा उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दो छ । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै संक्रमणको दर बढिरहेको छ। सुरुका पाँच महिनासम्म थोरै सख्यामा मात्रै संक्रमण पुष्टि भए पनि पछिल्लो एक हप्तामा २ सय ९० भन्दा बढीमा संक्रमण देखिसकेको छ।

राजधानीका अस्पतालका आइसोलेसन बेड सबै भरिभराउ नै भइसेकका छन्। पछिल्लो समयमा टेकु अस्पतालमा परीक्षण गर्न आउनेको भीड बढिरहेको छ। उपत्यकाको संक्रमणको अवस्था र अस्पतालको व्यवस्थापन विषयमा केन्द्रित रहेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीसँग हेल्थपोस्ट नेपालले गरेको कुराकानी :

टेकु अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) आशंकामा परीक्षण गर्न आउनेको अवस्था के छ?

दुई सातादेखि कोरोना भाइरसका आशंका गरेका मानिसको संख्या बढिरहेको छ। दैनिक ८ सय देखि १ हजार २ सयसम्म मानिसहरू परीक्षणका लागि आएका छन्। अधिकांश तराईका जिल्लाका संक्रमित रहेका छन्।

अधिकांश मानिसहरू ‘घरबेटीले परीक्षण गराएर मात्र आउनु’ भन्नेहरू आइरहेका छन् । गर्भवती महिला, जेल स्थानतरण गर्ने कैदी, तराईबाट आएका केही लक्षण भएका व्यक्ति र संक्रमण पुष्टि भएकाको सम्पर्कका रहेकाहरू परीक्षण गर्न आइरहेका छन्।

भीड नियन्त्रण गर्न नसक्नु हाम्रो बाध्यता हो। किनभने हामीले दिएको सेवा जसरी अन्य अस्पतालले सेवा दिन सकेका छैनन्। अहिले पनि कोरोना संक्रमितको केस व्यवस्थापनमा त्रास छ।

कोरोना नियन्त्रणका लागि तपाईहरू सामाजिक दूरी कायम हुनुपर्छ भनुहुन्छ तर, अस्पतालमै कुनै सावधानी छैन त?

यो भीड हुनु हाम्रो बाध्यता हो। धनी मानिसहरू वीर, टिचिङ, पाटन अस्पतालमा शुल्क तिरेर परीक्षण गर्लान्। यो गरिबकै अस्पताल हो। निःशुल्क भएका कारण पनि टेकु अस्पतालमा भीड हुन्छ।

पहिलादेखि नै विभिन्न सरुवाजन्य रोगको व्यवस्थापन गर्दै गएको हुँदा विश्वासको हिसाबले पनि यही अस्पताल रोजिरहेका छन्।  यो भीड नियन्त्रण गर्न नसक्नु हाम्रो बाध्यता हो। किनभने हामीले दिएको सेवा जसरी अन्य अस्पतालले सेवा दिन सकेका छैनन्। अहिले पनि कोरोना संक्रमितको केस व्यवस्थापनमा त्रास छ।

सकेसम्म संक्रमणको केसहरू हेर्नु नपरोस् भन्ने छ। जसले गर्दा पनि टेकुमा भीड लागिरहेको छ। भीड व्यवस्थापन गर्नका लागि पहिला मानिसको हिस्ट्री लिइन्छ। लक्षण तथा संक्रमणको ठाउँहरूको आएको आधारमा ट्याग दिने गरिन्छ। यदि रेड ट्याग पाएको छ भने पिसिआर परीक्षण हुन्छ।

ग्रीन ट्याग पाएका लागि काउन्सिलिङमार्फत घरमा सुरक्षित बस्नका लागि सल्लाह दिन्छौं। अस्पताल आएका १ हजारमध्ये दैनिक करिब ३ सय जतिको स्वाब लिने गरेका छौं।।

उपत्यकामा पछिल्लो एक सातादेखि संक्रमण बढ्दो छ। लकडाउनको मोडालिटी खुकुलो गरेसँगै उपत्यकामा संक्रमण बढेको हो?

एक महिनाअघि भारतको सिमाना खुकुलो भएपछि दैनिक हजारौं मानिस आउने क्रम थियो। तराईका थुप्रै जिल्लामा क्वारेन्टाइन व्यक्ति राख्न गाहो भएको थियो। अहिले हेर्दा ती क्वारेन्टाइन खाली भइसकेको छ। हजारौं मानिस सयौंको संख्यामा सीमित भएको छ।

पहिला उपत्यका प्रवेश गर्न मानिसको संख्या एकदमै कम थियो। अहिले लकडाउनको स्थिति परिर्वतन भएपछि आउने क्रम बढिरहेको छ। धेरैजसो मानिस खाद्यान्न, तरकारी गाडीमा आएका छन्। कतिपय रुट परिवर्तन गरेर उपत्यका भित्रिएका छन्।

उपत्यका प्रवेश गर्नुका कारण कतिपय व्यक्तिहरू आफ्नो जन्मस्थान बाहिर भएता पनि कर्म स्थान काठमाडौंलाई बनाएका छन्। कोही जिन्दगी चलाउनका लागि व्यापार, व्यवसायलाई आउँछन्।

कतिपय औषधी उपचार र विदेश जानका लागि पनि प्रवेश गर्ने क्रम बढ्दो छ। काठमाडौ अहिले हजारौं मानिस भित्रिने क्रम बढिरहेको छ। विदेशबाट आउने मानिसको व्यवस्थापन राम्रो हुन नसक्दा अहिले काठमाडौं एकदमै उच्च जोखिममा छ।

भनेपछि विदेशबाट आएका व्यक्तिबाट संक्रमण जोखिम बढेको हो त?
सरकारले पछिल्लो समय विदेशमा रहेका नेपालीलाई उद्धार गरेर ल्याइरहेको छ। अन्तराष्ट्रिय हेल्थ रेगुलेसनका अनुसार कुनै व्यक्तिलाई संक्रमणको अवस्थामा अन्य देशमा पठाउन मिल्दैन।

बाहिरबाट आउने मानिसमध्ये ३० प्रतिशत पिसिआर, केही व्यक्ति आरडिटी गरेका आएका छन्। केही परीक्षण नै नगरी आएका र केही संक्रमित व्यक्तिलाई जहाजमा राखेर ल्याइएको अवस्था छ।

एयरपोर्टबाट लक्षण थुप्रै व्यक्तिलाई काठमाडौंका विभिन्न अस्पताल ल्याइएको छ। परीक्षण गर्दा धेरै व्यक्तिको पिसिआर पोजेटिभ पुष्टि भएको छ।

उहाँहरूलाई ल्याइसकेपछि कतिपयलाई होल्डिङ सेन्टर, होटल र समुदायको क्वारेन्टाइनमा राखिएको छ। उहाँहरूको अझै पनि राम्रो व्यवस्थापन गर्न सकिएको छैन। त्यहाँ बस्दा हुनुपर्ने केही रेगुलेसन र फलोअप भएको छैन। क्वारेन्टाइनमा बसेपछि केही दिन भित्रमा परीक्षण हुनुपर्ने भए पनि नसकेको अवस्था छ।

विदेशबाट आएका मानिसहरू घर जाँदा कुन यातायातमा गए, कोसँग भेट गरे सबैको कन्ट्रयाक ट्रेसिङ नहुँदा एकदमै जटिल अवस्थामा पुगेको छ। विदेशबाट आएका मानिसहरूको स्थायी ठेगाना काठमाडौं बाहिर भएता पनि काठमाडौं उल्लेख गर्ने गरेका छन्।

अहिले पनि कोरोना संक्रमितप्रति हाम्रो समाजले हेर्ने दृष्टिकोणमा त्यति सकारात्मक छैन। केही गरी कोरोना पोजेटिभ भयो भने जिल्ला वा समुदायले हेर्ने दृष्टिकोण अर्कै हुन्छ भन्ने हिसाबले पनि व्यक्तिगत विवरण खुलाउन चाहँदैनन्।

काठमाडौंका अस्पतालहरूका आइसोलेसन सेन्टर भरिँदै गएका छन्। अब संक्रमितको व्यवस्थापन कसरी गर्न सकिन्छ?

अहिले सम्म अधिंकाश केसलाई लक्षण देखिएको छैन। अस्पतालको आइसोलेसन वेडमा राख्न नसकिएको अवस्थामा लक्षण नभएका मानिसको होम आइसोलेसनमा राख्नुपर्ने हुन्छ। यसका लागि उहाँहरूको घरको अवस्था कस्तो छ। यदि कुनै व्यक्तिको घरमा छुट्टै कोठा, शौचालय छ भने घरमा बस्न सजिलो हुन्छ।

अहिले पनि कोरोना संक्रमितप्रति हाम्रो समाजले हेर्ने दृष्टिकोणमा त्यति सकारात्मक छैन। केही गरी कोरोना पोजेटिभ भयो भने जिल्ला वा समुदायले हेर्ने दृष्टिकोण अर्कै हुन्छ भन्ने हिसाबले पनि व्यक्तिगत विवरण खुलाउन चाहँदैनन्।

अस्पतालबाट स्वास्थ्यलाभको विषयमा हामीले खबर लिने काम गर्छौं। कतिपय होटल, क्लबहरूलाई आइसोलेसन सेन्टर रूपमा प्रयोग गर्न सकिन्छ। स्वास्थ्य समस्या परेका बिरामीलाई मात्र अस्पताल राख्नुपर्छ। निमोनिया, श्वासप्रश्वासमा समस्या र औषधी नै चलाउनुपर्ने व्यक्तिमात्र अस्पताल राख्नुपर्ने हुन्छ। अहिले टेकु अस्पतालको कुरा गर्दा आठजना आइसियु र २४ जना आइसोलेसनमा छन्। अस्पतालले ५० जना बिरामी राख्ने क्षमता छ।

कोरोना सुरु भएदेखि नै आशंका गरिएका र संक्रमित गरी ८ सयभन्दा बढीलाई सेवा दिएका छौं। ८५ जना कोरोना संक्रमित निको भई घर फर्किसकेका छन्।

उपत्यकामा संक्रमित व्यक्तिको संक्रमण स्रोत नखुलेको अवस्था छ। अब संक्रमण फैलिइसकेको भन्न सकिन्छ र?
अझै पनि संक्रमण समुदायमा फैलिएको भन्न सकिने अवस्था छैन। यसका लागि कन्ट्रयाक ट्रेसिङको कामलाई तीव्रता दिनुपर्छ। ट्रेसिङलाई एकदमै फराकिलो बनाएर लानुपर्ने हुन्छ। अहिले उपत्यकामा संक्रमणको घटनाले ट्रेसिङ हुन नसकेको देखिन्छ।

कुनै व्यक्ति औषधी उपचारका लागि अस्पताल गइरहेको हुन्छ। आफ्नो घरबाट दूध वा तरकारी लिन बाहिर गइरहेका हुन्छन्। यस्ता ठाउँबाट संक्रमण सरेको पनि हुनसक्छ। यसको यकिन गर्ने ट्रेसिङलाई गर्नुपर्ने हुन्छ।

अबको नियन्त्रणको बाटो के?
कोरोनाले गर्दा विश्वलाई त्रसित बनाएको छ। नेपालले पनि ४–५ महिना बिताइसक्यो। कोरोना अझै १–२ वर्षमा सकिने अवस्थामा छैन। कोरोनाले भन्दा अन्य कारणले गर्दा मृत्यु हुने संख्या बढिरहेका छन्।

यसले गर्दा हाम्रो जनजीवनको हरेक पक्षलाई सँगसँगै लैजानुपर्ने हुन्छ। अस्पतालमा कोरोनाका कारणले गर्दा अन्य बिरामी सेवाबाट वञ्चित छन्। अब अस्पतालका सम्पूर्ण सेवालाई सुचारु गर्नुपर्ने देखिन्छ।

सबैभन्दा नियन्त्रणको उपाय सर्वसाधारणको पहुँचसम्म जनचेतना फैलाउने हो। सामाजिक दूरी कायम किन गर्ने, अनिवार्य रूपमा माक्स लगाउने जस्ता कुरा सबैलाई बुझाउन आवश्यक छ। अझै सबै मानिसले कोरोना कसरी गर्छ र कसरी बच्नुपर्छ भनेर बुझ्न सकेका छैनन्।

यसका लागि सरकारले जनचेतनाको विस्तारमा ध्यान दिनुपर्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय