टेकु अस्पताल जाने कि नजाने ?

टेकु अस्पतालको गेट बाहिरैदेखि लम्बेतान लाइन छ।

भित्रबाट टिकट काटेर बाहिर आई फेरि लाइन बस्नुपर्ने बाध्यता छ।

त्यो कोरोना जचाउन टिकट लिने र स्वाब परीक्षणको लाइन थियो।

सर्वसाधारणहरू टाँसिएर उभिएका छन्।

टिकट काउन्टरको झ्यालमा ‘कृपया २ मिटर दूरीमा रहेर लाइन बसिदिनु होला’ भनी सार्वजनिक सूचना टाँसेको देख्न सकिन्छ।

तर, सामाजिक दूरीको कुनै मतलब गरेको देखिँदैन।

कसैले घामबाट बच्न सी बुक टाउकोमा राखेका छन् त कोहीले छाता ओढेका छन्।

बाटो हिँड्नेहरू ‘बाबै कस्तो भीड हो’ भन्दै आफ्नो गन्तव्यतिर लागेका छन्। अस्पताल परिसर भरिभराउ छ।

सामाजिक दूरी कायम गरेर बस्ने हो भने लाइन भन्सार रोडसम्म पुग्ने अनुमान गर्न सकिन्छ।

दूरी कायम न सर्वसाधारणले गरेका छन् न त अस्पताल प्रशासनले लागू गराउन सकेको छ।

बुधबार यही भीडबीच हातमा सी बुक लिई उभिएका थिए सर्लाहीका पारस चौधरी।

उमेरले ५५ कटेका उनलाई उभिन गाह्रो भइरहेको थियो। एकातिर बूढो शरीर अर्कोतिर तीन घण्टा लाइनमा उभिनुपर्ने उनको बाध्यता।
चर्को घाम छेक्न टाउकोमा गम्छा राखेका थिए।

सी बुक हल्लाउँदै हावा ल्याउन खोजे तर हात हल्लाउने ठाउँ पाएनन्।

कोरोना संक्रमण भए नभएको थाहा नपाएका उनलाई त्यही भीडबाट पो सर्छ कि भन्ने पिर थियो ।

‘अहिलेसम्म भए नभएकोमा त्यति चिन्ता थिएन । अब झन् लाग्छ कि भन्ने चिन्ता पो भयो । जचाउन नआउँदा घरबेटीले किचकिच गर्छ, सबै टाँसिएर उभिएका छन् यस्तो भीडमा कतिलाई कोरोना छ के थाहा?,’ चौधरीले मलिन स्वरमा सुनाए ।

बिहान ९ बजेदेखि लाइन बसेका चौधरीको ११ बजेसम्म पालो आएको थिएन।

उभिँदा खुट्टा दुख्न थालेपछि उनी बेलाबेला टुसुक्क बस्थे।

चौधरीले ताहाचलमा मसलाको सानो पसल राखेका छन्। मसला पसल भएकाले मान्छेको आउजाउ चलिरहन्छ।

‘कोरोना चेक गरेर आउ भनेर घरबेटीले हैरानी दिन्छ,’ उनले भने, ‘नगरे घरभित्र पस्न नदिने भन्छ । त्यही डर भएर आफ्नै लागि हो भनेर चेक गर्न आएँ।’

उनमा कोरोना भाइरसको कुनै लक्षण भने देखिएको छैन। उनी आफनो स्वास्थ्य राम्रो भएको र केही समस्या नभएको बताइरहेका थिए।
उनी श्रीमतीसँगै आएका थिए।

उनकी श्रीमतीले आफूहरूलाई कुनै समस्या नभएको र घरबेटीले बारम्बार कोरोना चेक गरेर आऊ भनेर किचकिच गरेकाले आउनुपरेको गुनासो गरिन्।

उनलाई आरडिटी पिसिआरबारे केही थाहा छैन। मात्र स्वास्थ्य परीक्षण गर्नु छ, घरबेटीलाई रिपोर्ट देखाउनु छ।

‘लक्षण त हामी दुवैमा केही छैन के गर्छन् हेरौं, नगरौंभन्दा नहुने एकचोचि आफू पनि ढुक्क हौं र घरबेटीलाई पनि देखाउँ भनेर आएका हौं,’ चौधरीले भने।

उनीहरू काठमाडौंबाहिर गएका छैनन्। तर पसलमा ग्राहक आइरहने भएकाले केही डर भने लागेको छ। ‘त्यतिकै बसेर घरबेटीको किचकिच सुन्नुभन्दा चेक गर्न जानु राम्रो भनेर आयौं। तर टेकुको भीड देखेर दिक्क लाग्यो।’

घरमै बस्नुभन्दा यहाँ आउँदा थप जोखिम हुनसक्ने उनको भोगाइ रह्यो।

‘सरकारले टाढा–टाढा बस्नु भनेको छ तर यहाँ त जात्रा, बिहे जस्तो गञ्जागोल छ, यस्तोमा कोरोना नसरेर के सर्छ,’ उनले भने। एकअर्काको सुरक्षालाई भौतिक दूरी कायम नगरिएकोमा चौधरीको गुनासो छ।

त्यसो त अस्पताल परिसरको ठाउँठाउँमा लेखिएको छ ‘२ मिटरको दूरी कायम गरौं।’ तर त्यसतर्फ कसैले ध्यान छैन। पछिल्लो दुई सातादेखि स्वास्थ्य परीक्षणका लागि टेकु पुग्ने सर्वसाधारणको संख्यामा तेब्बर वृद्धि भएको छ।

अस्पतालका अनुसार तीन महिनाअघिसम्म स्वास्थ्य परीक्षणका लागि दैनिक ५ सय सर्वसाधारण आउने गरेकामा दुई सातायता दैनिक करिब १५ सय आउने गरेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले कोरोना परीक्षणका लागि आउने संख्या उल्लेख्य मात्रामा बढेका कारण सामाजिक दूरी कायम गराउन समस्या भएको बताए।

‘सरकारी, सस्तो र भरपर्दो अस्पताल भएकाले सबै यतै आउन खोज्छन् यतिको व्यवस्थापन कसरी गर्ने, सामाजिक दूरी कायम गर्ने हो भने पनि लाइन पल्लो चोक पुग्छ,’ डा. राजभण्डारीले भने, ‘यो अस्पतालको बाध्यता हो, यति सानो परिसरमा यति धेरै व्यवस्थापन कसरी गर्नु?’

टेकुमा पछिल्लो दुई सातादेखि निकै भीड बढेको भन्दै उनले तराई क्षेत्रका सर्वसाधारण र भाडामा बस्नेहरू परीक्षणका लागि आइरहेको बताए।

सबैले सोचेअनुसारको उचित व्यवस्थापन गर्न नसक्नु अस्पतालको बाध्यता भएको बताउँदै उनले भने, ‘धनी मान्छे निजी अस्पताल, पाटन, वीर, टिचिङ जाने गर्छन्। टेकु गरिबको अस्पताल भएकाले सबै आउँछन्। हो, अधिंकाश बिरामीहरू निःशुल्क, सस्तो र राम्रो हुन्छ भन्ने हिसाबले सबै आउनुहुन्छ।’

‘सरुवा जन्य रोगको व्यवस्थापन गरेको हिसाबले पनि यही अस्पतालमा आउने आकर्षण बढ्दो छ। भीड कन्ट्रोल गर्नु हाम्रो बाध्यता पनि हो,’ उनी भन्छन्।

महामारीका समयमा अन्य अस्पतालले पनि टेकु अस्पतालकै जस्तै सेवा दिनुपर्नेमा परीक्षण नै नगरिदिएकामा उनको गुनासो छ ।

अहिले पनि कोभिड–१९ संक्रमितको व्यवस्थापनमा अझै डरत्रास छ। हाल टेकुमा ८ जना आइसियू र २८ जना आइसोलेसनमा छन्। टेकुको ५० जना बिरामी राख्ने क्षमता छ।

सबैभन्दा बढी ३५ संक्रमितको एकै पटक उपचार गरिएको छ।  हालसम्म कोरोना आशंकामा रहेका र संक्रमित गरी ८ सयभन्दा बढीलाई सेवा दिएको निर्देशक राजभण्डारीले जानकारी दिए।

टेकु अस्पतालबाट ८५ कोरोना संक्रमित निको भई घर फर्किसकेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय