‘दुर्गमबाट स्वाब संकलन गरी धनगढी पुर्‍याएर परीक्षण गर्नुपर्ने बाध्यता छ’

अक्कल धामी
प्रकाशित
२०७७ असार २४ गते १४:३९

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट हामी छविस पाथिभेरा गाउँपालिकाबासी पनि अछुतो हुन सकेका छैनौं।

खासगरी हाम्रो गाउँपालिकाबाट रोजगारीको सिलसिलामा भारत गएकाहरू अहिले गाउँ फर्कन थालेका छन्। हामीलाई उहाँहरूको स्वास्थ्यका बारेमा अझ बढी चासो र जिम्मेवार हुन आवश्यक छ।

किनकी भारतबाट आएका नागरिकमा संक्रमणको जोखिम केही बढी छ। ती नागरिकमालाई कोरोना संक्रमण नहोस् वा संक्रमण निराकरण गर्न कदम चाल्न आवश्यक हुन्छ। तर, यो विषय चुनौतीको रुपमा छ।

भारतबाट आएका नागरिकलाई सुरक्षित ढंगबाट राख्न ७ वटै वडास्थित सामुदायिक विद्यालयलाई सुरक्षित क्वारेन्टाइन बनाएका छौं। बाहिरबाट गाउँपालिका आउने हरेक नागरिकलाई सम्बन्धित वडाको समन्वयमा मापदण्ड पालना गराएर क्वारेन्टाइनमा राख्ने गरेका छौं।

हरेक क्वारेन्टाइनमा रहेका नागरिकको स्वास्थ्य हेरचाहका लागि स्वास्थ्यकर्मीलाई खटाइएको छ, भने आवश्यक सुरक्षा कवच पूरा गरी सुरक्षाकर्मी पनि खटाएका छौँ।

निश्चय नै भारत लगायत अन्य स्थानबाट गाउँपालिका प्रवेश गर्ने नागरिकको स्वास्थ्य चेकजाँच समयमै नहुँदा हामीलाई निक्कै समस्या भएको छ।

स्वास्थ्य चेकजाँच नहुँदा नागरिकलाई एक महिनाभन्दा बढी समयसम्म क्वारेन्टाइनमा राख्नुपर्ने बाध्यता छ। प्रदेशभर कोरोना परीक्षणका लागि एउटा मात्र पिसिआर मेसिन हुनु र सो मेसिनमा पनि एक दिनमा तीन सयसम्म मात्रै स्वाब संकलन हुने गरेकाले समग्र सुदूरपश्चिमबासीको समस्या बनेको छ।

पिसिआर मेसिन खरिदका लागि स्वास्थ्य कार्यालयका मेडिकल सुपरिटेन्डेन्टको पनि राय लिइएको छ।

पिसिआर मेसिनसँगै कीटको व्यवस्थानका लागि पनि पहल भइरहेको छ। स्थानीय तहले कोरोना कोष स्थापना गरेका छन्। त्यहाँको रकमबाट कीटको व्यवस्थापन गर्ने योजना छ।

कोरोना नियन्त्रणका लागि सहयोगको कुरा गर्दा त्यति उत्साहजनक छैन। प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरेका थियौं तर अपेक्षा अनुसार भएन। हामी कोरोनासँग जुधिरहँदा पिसिआर ल्याब धनगढीमा मात्रै छ। जहाँ सबै जिल्लाबाट स्वाव संकलन गरी परीक्षण हुन्छ।

दुर्गमका जिल्लाबाट स्वाब संकलन गरी धनगढी पुर्‍याएर परीक्षण गर्दा ढिलो हुने गरेको छ। गाउँमा बिरामीको अवस्था बिग्रिसकेको हुन्छ तर रिपोर्ट आएको हुँदैन। यस्तो अवस्थामा प्रदेश सरकारले कम्तीमा दुई जिल्लाका लागि एउटा पिसिआर मेसिनको व्यवस्थापन गर्नुपर्ने हो। तर हुन सकेन।

आवश्यकता अनुसार कीट पनि उपलब्ध हुन सकेन। कोरोनाको संकटमा प्रदेश सरकार भूमिकाविहीनझैँ देखिनु राम्रो होइन।

हुन् त प्रदेश सरकारका पनि आफ्नै जटिलता र बाधाअवरोध होलान् तर यो कुरा जनताले बुझ्नदैनन्।

प्रभावकारी कदम चाल्न नसक्दा नागरिक निराश बनेका छन्। यस्तो अवस्थामा कानुन नै सबथोक हुँदै होइन। जनताका भावनालाई कदर गर्न सक्नुपर्छ। हिम्मतका साथ प्रदेश सरकारले काम गर्नुपर्छ। हाम्रो विशेष अनुरोध छ की सरकार चुप लागेर नबसोस्।

हामीले प्रदेश स्तरीय सरसफाइ कार्यक्रम ल्याउन प्रदेश सरकारलाई आग्रह गरेका छौँ। सो कार्यक्रमले कोरोना व्यवस्थापनका क्षेत्रमा पनि काम गर्न सक्ने अधिकार दिनुपर्दछ। जसले कोरोना नियन्त्रण र सरसफाइलाई पनि सँगसँगै अगाडी बढाउन सकोस्।

(बझाङकाे छबिसपाथिभेरा गाउँपालिकाका अध्यक्ष धामीसँग धनगढीस्थित आयाेमेल स‍ंवाददाता माेहन जाेशीले गरेकाे कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय