डा. सन्दुक रुइतको टिमद्वारा सभामुख सापकोटाको आँखाको शल्यक्रिया
सभामुख अग्निप्रसाद सापकोटाको बुधबार मोतियाबिन्दुको शल्यक्रिया भएको छ। सापकोटाको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो।
वरिष्ठ आँखा चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले आज बिहान १०ः३० बजे शल्यक्रिया गरेको हो। केही समययता उनको आँखामा समस्या देखिएको थियो।
चिकित्सकहरूको सल्लाहमा आज शल्यक्रिया गरिएको हो। उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्नेगरी सभामुख सापकोटा स्वयंले व्यहोरेका छन्।
सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार शल्यक्रियापछि सापकोटा आराम गरिरहेका छन्। सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक रुइतसहितको चिकित्सकको टोलीप्रति आभार व्यक्त गरेका छन्।