हाकिम र कर्मचारीबीचको किचलोले प्रादेशिक प्रयोगशाला जनकपुरमा कोरोना परीक्षण बन्द

प्रादेशिक प्रयोगशाला जनकपुरमा फेरी कोरोना परीक्षण बन्द भएको छ। प्रयोगशालाका हाकिम र कार्यरत कर्मचारीबीचको विवाद उत्कर्षमा पुगेपछि मंगलबारदेखि कोरोना परीक्षण बन्द भएको हो।

यसअघि राष्ट्रिय प्रयोगशला टेकुले दुईपटक जडान गरेको पिसिआर मेसिनले सही नतिजा नदिएको भन्दै  कोरोना परीक्षण बन्द भएपछि प्रदेश सरकारले रियल टाइम पिसिआर मेसिन खरिद गरेको थियो।

तर, प्रयोगशालाका कर्मचारीबीच आन्तरिक द्वन्द्व बढ्दै गएपछि पिसिआर परीक्षण बन्द भएको छ। प्रादेशिक प्रयोगशालामा रियल टाइम पिसिआर मेसिन जडान गर्न प्रदेश सरकारले झण्डै ६० लाखभन्दा बढी रुपैयाँ खर्चेको छ।

प्रयोगशालाका निमित्त निर्देशक रामविनय साह र कार्यरत अन्य कर्मचारीबीच आन्तरिक द्वन्द्व बढेपछि परीक्षण बन्द भएको बताइएको छ। प्रयोगशाला स्थापना भएदेखि निमित्त निर्देशक साह र अन्य कर्मचारीबीच समन्वयको अभाव देखिएको थियो। निर्देशक साह र त्यहाँ कार्यरत अधिकृत जुगल यादवबीच सञ्चार माध्यममा एकअर्कामाथि आरोप प्रत्यारोपसमेत गरेका थिए।

प्रयोशालाका निमित्त निर्देशक साहले कर्मचारीहरूको असहयोगका कारण काोरोना परीक्षण बन्द गर्नुपरेको बताएका छन्। प्रयोगशालाका लेखापाल अमरदीप महतो तथा ल्याब एसिस्टेन्ट जुगल यादवलगायतका कर्मचारीले असहयोग गरेपछि परीक्षण बन्द गर्नुपर्ने अवस्था आएको साह बताउँछन्।

‘स्वाब परीक्षण गर्न रिएजेन्टबाहेक अन्य सामग्रीहरू आवश्यक हुन्छ, रिएजेन्ट संघीय सरकारले पठाइदिएको छ,’ साह भन्छन्, ‘तर, अन्य सामान खरिद गर्न लेखापालले सहयोग गरेका छैनन्। सामान नै नभएपछि परीक्षण बन्द गर्नुपरेको छ।’

लेखापाल महतोले खरिद नै नभएको सामानको समेत बिल पेश गरेर प्रमाणित गराउन खोज्दा आफू तयार नभएपछि परीक्षणको लागि चाहिने आवश्यक सामग्री खरिद गर्न तयार नभएको साहको दाबी छ।

‘प्रयोगशालामा खरिद नै नभएको सामानको समेत बिल पेश गरेर प्रमाणित गराउन खोजेका छन्,’ साह भन्छन्,‘बिल पास गर्न नमानेपछि लेखापालले परीक्षणको लागि खरिद भएका सामग्रीको भुक्तानी रोकेका छन्।’ पुरानो भुक्तानी रुकेपछि सप्लायर्सले कोरोना परीक्षण गर्न आवश्यक सामग्री पठाउन नमानेको उनको भनाइ छ।

कर्मचारीहरूले अनुशासनविपरित काम गरेपछि स्पष्टिकरण मुख्यमन्त्री लालबाबु राउतका पीएले कारबाही नगर्न आफूलाई दबाब दिएको निमित्त निर्देशक साहको भनाइ छ।

‘अनुशासनविपरित काम गर्ने कर्मचारी युगल यादवलाई मैले स्पष्टिकरण सोधेको थिएँ, स्पष्टिकरणपत्र बुझ्न नमानेपछि मेलमै पठाइयो,’ उनी भन्छन,‘तर मुख्यमन्त्रीका स्वकीय सचिव जीतेन्द्र यादवले मलाई स्पष्टिकरणपत्र फिर्ता लिन दबाब दिनुभयो। कसरी काम गर्न सकिन्छ ?’

यता, प्रयोगशालाका लेखापाल महतो निमित्त निर्देशक साहका कारण परीक्षण बन्द भएको दाबी गर्छन्। कार्यालय प्रमुख साहले पूरा भइसकेका कामहरूको भुक्तानी गर्न नमानेपछि समस्या उत्पन्न भएको लेखापाल महतो बताउँछन्।

‘लकडाउनमा जोखिम मोलेर पार्टीहरूले काम गरेका छन्, आर्थिक वर्षको अन्त्यमा क्लोजिङ भइरहेको छ,’ महतो भन्छन्,‘हाकिमले फाइल रोकिदिएका छन्, भुक्तानी गर्न मानेका छैनन्।’

‘हाकिमको चित्त बुझेको छैन् भने छानबिन गर्नु प-यो, तर खरिद भएको सामानको भुक्तानी राकिनु हुँदैन्,’ लेखापाल महतोले भने। आफूले भुक्तानी गर्नुपर्ने चेकसहित सम्पूर्ण कागजातहरू तयार गरेपनि हाकिमले सही गर्न नमानेको उनको दाबी छ। आफू नजिक भएकालाई प्रमुखले भुक्तानी गर्न मानेपनि अन्यलाई भुक्तानी गर्न तयार नभएको लेखापाल महतो बताउँछन्।

पिसिआर परीक्षणको लागि काठमाण्डौंबाट मगाइएका समानहरूको भुक्तानी गर्न किन मानेको प्रश्नको जबाफमा लेखापाल महतो भन्छन्,‘प्रयोगशालामा पार्टिशन भएको छ, जेनेरेटर खरिद भएको छ, त्यसको भुक्तानी गर्न किन मान्नु भएको छैन्? आफूमार्फत आएका सामानको मात्र भुक्तानी गर्ने र अन्यको फाइल रोक्ने?’

‘प्रयोशला र स्टोरमा हुँदै नभएको सामानको समेत भुक्तानी गर्न दबाब दिनु भएको छ,’ लेखापाल महतो भन्छन्,‘मौज्दात नै नरहेको समानको भुक्तानी कसरी गर्न सकिन्छ?’

प्रादेशिक प्रयोगशालामा परीक्षण बन्द भएपछि स्वाब परीक्षणको लागि अन्य प्रयोगशालामा भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ। जेठ १९ गतेदेखि विधिवत रुपमा सञ्चालनमा आएको प्रादेशिक प्रयोगशालाले अहिलेसम्म ४ हजार ५ सयभन्दा बढी स्वाब परीक्षण गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय