निगमका एक क्याप्टेन, दुई कोपाइलट र ११ क्याबिन क्रु कोरोना संक्रमित

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका एक क्याप्टेन, दुई कोपाइलट, आठ एयरहोस्टेस र तीन स्टेवार्डलाई कोरोना भाइरस संक्रमण देखिएको छ।
अहिले ती सबै पाइलट र क्याबिन क्रुहरू राजधानीको बाफलस्थित पाँचतारे होटल सोल्टीमा बसिरहेका छन्।

निगम उच्च स्रोतका अनुसार १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजका न्यारोबडी जहाजका एक क्याप्टेन तथा २ सय ७८ सिटे ‘ए३३०–२००’ सिरिजका वाइडबडी जहाज उडाउने दुई कोपाइलट तथा ११ जना क्याबिन क्रुमा कोरोना संक्रमण पुष्टि भएको हो।

‘कोरोना संक्रमित पाइलट तथा क्याबिन क्रुहरूले विभिन्न विदेशी गन्तव्यबाट आधा दर्जनजति उद्धार उडान गरेर फर्किएका थिए,’ स्रोतले भन्यो, ‘तीमध्ये कोही एक साताअघि त कोही दुई साताअघि उडान गरेर आएका थिए। उनीहरूले विभिन्न समयमा विभिन्न गन्तव्यबाट उडान गरेका थिए।’

निगम व्यवस्थापनले उद्धार उडान गरेर फर्किने पाइलट र क्याबिन क्रुलाई होटल सोल्टीमा क्वारेन्टाइन राख्दै आएको छ। यसका लागि करिब ८० वटा कोठा लिइएको छ।

‘उडान गरेर आएपछि हामी छुट्टाछुट्टै कोठामा आइसोलेसनमा बसिरहेका छौं,’ होटल सोल्टी क्वारेन्टाइनमा रहेका एक वरिष्ठ क्याप्टेनले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा आयोमेलसँग भने, ‘कोरोना संक्रमण हुने जोखिम हुँदाहुँदै पनि हामीलाई सोल्टीमा खाना कोठामै दिने व्यवस्था छैन, बुफे (एकै ठाउँमा बसेर खाने) व्यवस्था गरिएको छ। यस्तो व्यवस्था होटलले नभई हाम्रो व्यवस्थापनले गर्नू भनेको रहेछ।’

असार १७ गते बुधबार निगमको ६२औं वार्षिकोत्सवमा रमाइलो गर्दै सोल्टीमा क्वारेन्टाइन बसिरहेका क्याबिन क्रुहरूले केक काटेर रमाइलो गरेको ती क्याप्टेनले बताए।

‘क्वारेन्टाइनमा बसेका क्याबिन क्रुहरूले सामाजिक दुरी कायम गर्नुको सट्टा केक काटेर भिडभाडमा रमाइलो गर्नु उचित थिएन,’ उनले भने, ‘त्यसबाट झन् संक्रमण फैलिन बल पुगेको निश्चित छ।’

उडान गरेर आउने प्रत्येकका लागि भिन्नाभिन्नै कोठा उपलब्ध गराइए पनि अधिकांश जोडा बनेर बस्ने गरेको सम्बद्ध स्रोतले जानकारी दियो।

निगमका पाइलट तथा क्याबिन क्रुलाई कोरोना संक्रमण पुष्टि भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

‘नेपाल सरकारले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा नेपाल वायुसेवा निगमका चालक दलका केही सदस्यमा कोरोना पोजेटिभ देखिएकोमा दुःख लागेको छ,’ मन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘संकटकालीन अवस्थामा उहाँहरूले गर्नुभएको कामको उच्च प्रशंसा गर्दछु। उहाँहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

निगमले कोरोना भाइरस महामारीपछि सरकारले लगाएको ‘लकडाउन’ पछि विभिन्न देशबाट नेपालीहरूको उद्धार गर्दै आएको छ भने नेपालबाट विदेशीलाई सम्बद्ध देश लाँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय