गण्डकीमा थपिए ५ संक्रमित
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ९६ पुगेको छ। आइतबार साँझ चार जिल्लाका पाँच जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ११ सय नजिक पुगेको हो।
कास्कीका दुई, लमजङ, गोरखा र बागलुङमा एक/एक जनामा आज कोरोना पोजेटिभ देखिएको हो। संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिकाका दुई, लमजुङको राइनस गाउँपालिकाका एक, गोरखाको गोरखा नगरपालिकाका एक र बागलुङको ढोरपाटन नगरपालिकाका एक जना छन्।
पोखराका दुई संक्रमितबाहेक अरु सबै संक्रमित पुरुष हुन्। बागलुङका कोरोना संक्रमित पुरुषको भने मृत्यु भइसकेको छ। गण्डकी प्रदेशका कुल संक्रमितमध्ये २ सय ९७ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ।
कुवेतबाट फर्किएकामा कोरोना
कोरोना संक्रमण पुष्टि भएका पोखराका दुई महिला कुवेतबाट आएको खुलेको छ।
१२ दिन पहिले पोखरा आइपुगेको पोखरा १७ र ३३ का महिलामा कोरोना पोजेटिभ देखिएको महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले जानकारी दिए।
दुवै जना पोखरा-३ नदीपुरस्थित पद्म नर्सिङ होममा महानगरले बनाएको क्वारेन्टाइनमा बसेका थिए।