पर्साका पत्रकारलाई स्वास्थ्यसामग्री प्रदान

कोरोना भाइरस संक्रमणको जोखिममा फ्रन्टलाइनमा रहेर काम गर्ने पर्साका क्रियाशील पत्रकारलाई शुक्रबार इम्युनिटी पावर बढाउने खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको छ।

विश्वमा महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट बच्न भन्दै विन्ध्याबासिनी गाउँपालिकाले जिल्लामा कार्यरत १ सय १० पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ। नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा शुक्रबार उपमेयर किरणदेवी गुप्ताले उक्त सामग्री हस्तान्तरण गरेकी थिइन्।

उपमेयर गुप्ताले कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै फिल्ड रिपोर्टिङमा खटिने सञ्चारकर्मी पनि जोखिममा रहेकाले न्युनतम इम्युनिटी पावर बढाउने स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको बताइन्।

उनले भनिन्, ‘जिल्लाका सूचना आमसञ्चार माध्यमबाट बढी प्राप्त गरेको र सूचनाकै आधारमा कोरोना संक्रमणबाट बच्न विभिन्न उपाय अवलम्बन गरिएको छ। हामी घरभित्रै बसेर सूचना प्राप्त गर्छौं, पत्रकार फिल्डमा हुन्छन्।’

उपमेयर गुप्ताले अहोरात्र खटिएर सूचना प्रबाह गर्ने पत्रकारको बिहान–बेलुकी हातमुख जोड्न समस्या हुनसक्ने र यस्तो बेला थोरै भए पनि इम्युनिटी पावर बढाउन स्वास्थ्य सुरक्षा सामग्री ९मास्क, सेनिटाइजर, च्यावनप्रास, काजु किसमिस, आयुर्वेदिक औषधी० ले थोरै भए पनि राहत दिनसक्ने बताइन्।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले स्वास्थ्य सामग्री उपलब्ध गराउने पालिकालाई धन्यवाद दिँदै विश्वव्यापी संकटलाई मिलेर सामना गर्नुपर्ने बताए।

उनले पर्साका एफएम रेडियो, अनलाइन, पत्रिका र राष्ट्रिय तथा प्रादेशिक स्तरका आमसञ्चार माध्यममा कार्यरत पत्रकारबाट कोरोना नियन्त्रण सम्बन्धित पर्सा विशेष समाचार कभरेज भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय