स्वाथ्यमन्त्रीको आश्वासनः निर्देशिका परिमार्जन हुन्छ, सबै स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउँछन्

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सबै स्वास्थ्यकर्मीले जोखिम भत्ता पाउने बताएका छन्।

मंगलबार ट्रेड युनियन तथा पेसागत संघ–संगठनले कोरोना भाइरस (कोभिड–१९) का सम्बन्धमा स्वास्थ्यकर्मीहरूले भोगिरहेका समस्याबारे मन्त्रालयमा ज्ञापनपत्र बुझाउने क्रममा उक्त आश्वासन दिएका हुन् ।

१४ वटा ट्रेड युनियन तथा पेसागत संघ–संगठन एकजुट भएर विभिन्न १२ बुँदे माग र समाधानको उपाय ज्ञापनपत्र बुझाएका हुन्। स्वास्थ्यकर्मीको समस्याप्रति मन्त्री ढकालले समाधान गर्नेतर्फ प्रयत्नरत रहेको बताएको नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्वलकुमार शर्माले जानकारी दिए।

संगठनहरूले कोरोना संक्रमण वृद्धि भइरहेको, क्वारेन्टाइन र आइसोलेसन व्यवस्थित नभएको, स्वाब संकलन र परीक्षणमा समस्या परिरहेको, स्वास्थ्यकर्मी संक्रमित भइरहेको र पर्याप्त रूपमा गुणस्तरीय सुरक्षाका सामग्रीको अभाव भएको जस्ता समस्या समाधान गर्न माग राखेका थिए।

स्वास्थ्यकर्मीहरू दुरुत्साहनमा परिरहेका, कतिपय स्थानहरूमा सामाजिक तथा मानसिक समस्यामा पीडामा परेको, कार्यालय वा व्यवस्थापनले अवकाश दिने, काम नलगाउने, ज्याला वा तलब नपाउने जस्ता समस्या भोगिरहेको हुनाले जतिसक्दो चाँडो समाधान गरिदिनका लागि मन्त्रालयसँग अनुरोध गरेका छन्।

जोखिम भत्ता निर्देशिका २०७७ ले सबै स्वास्थ्यकर्मीलाई सम्बोधन गर्न नसकेकाले तत्काल सो संशोधन गरी सम्पूर्ण स्वास्थ्यकर्मीले कामको प्रकृतिका आधारमा जोखिम भत्ता पाउने व्यवस्था हुने, तत्काल जोखिम भत्ता निर्देशिका बनाउने, स्वास्थ्यकर्मीलाई कोभिड– १९ सँग सम्बन्धी विभिन्न तालिम दिने, विगत दुई वर्षबाट स्तरवृद्धि नभएको हुनाले सोही मितिबाट सेवा सुविधा पाउने गरी स्तरवृद्धि गर्ने जस्ता माग राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय