निर्देशनालय गम्भीर त्रुटी : संक्रमितको ठेगाना उल्टो, पुरुषलाई महिला बनाइदियो

गण्डकी प्रदेशको ४ जिल्लामा १७ जना कोरोना संक्रमित थपिएका छन्। कास्कीका ८, तनहुँका ५, लमजुङका ३ र स्याङ्जाका एक जनामा संक्रमण पुष्टि भएको हो।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिकाका ७, मादी गाउँपालिकाका १, तनहुँको व्यास नगरपालिकाका १ छन्।
त्यसबाहेक लमजुङको बेसीशहर नगरपालिका, मध्यनेपाल नगरपालिका, मस्र्याङदी गाउँपालिकाका १/१ जना र स्याङ्जाको पुतलीबजार नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ।
पोखरामा ६ जनामात्रै
प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरामा ७ जनामा कोरोना पुष्टि भएको बताए पनि पोखरा महानगरले ६ जनामा कोरोना देखिएको जनाएको छ।
महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यका अनुसार तेस्रो मुलुकबाट आएका ६ जनामा कोरोना पोजेटिभ देखिएको हो।
निर्देशनालयले जारी गरेको विज्ञप्तीमा पोखराका ६ पुरुष र १ महिलामा कोरोना देखिएको उल्लेख छ। तर वरिष्ठ स्वास्थ्य अधिकृत आचार्यले ३६ वर्षे पुरुष कास्कीको माछापुच्छ्रे गाउँपालिकाको रहेको बताए।
उनका अनुसार निर्देशनालयको विज्ञप्तीमा महिला भनिएका २७ वर्षे संक्रमित पुरुष हुन्।
‘विज्ञप्तीमा ३६ वर्षको पुरुष पोखराको भन्ने आएको छ। तर उहाँ पोखराको नभई माछापुच्छ्रे गाउँपालिकाको हुनुहुँदो रहिछ,’ आचार्यले आयोमेलसँग भने।
पोखराका बाँकी ६ संक्रमितमध्ये ४ जना साउदी अरब, १ जना कुवेत र १ जना युएईबाट आएका हुन्। संक्रमित ६ जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा लगिएको छ।
त्रुटी छैन : निर्देशनालय
महानगरले संक्रमित पोखराको नभएको बताइरहँदा निर्देशनालयले आफ्नो विज्ञप्तीमा कुनै त्रुटी नरहेको जनाएको छ।
‘माछापुच्छ्रेका पुरुषको स्वाब पोखरामै संकलन भएकाले यतै देखाइएको हो। मिस्टेक भएको होइन,’ निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले भने।
महिला भनिएका २७ वर्षे संक्रमित पुरुष रहेको बारेमा आफूलाई केही जानकारी नभएको उनले बताए। शर्माले भने, ‘हामीलाई जे रिपोर्ट आउँछ त्यही प्रिन्ट गर्ने हो। त्यो महानगरमै बुझ्नुपर्छ।’
माछापुच्छ्रेका पुरुषको स्वाब पोखरामै संकलन भएको विषय महानगरले अस्वीकार गरेको छ। ‘उहाँको स्वाब पोखरामा संकलन भएको होइन। गाउँपालिकामै भएको हो। उतै क्वारेन्टाइनमा हुनुहुन्छ,’ महानगरका वरिष्ठ स्वास्थ्य अधिकृत हरिलाल आचार्यले भने।
संक्रमित पोखराका होइनन् : गाउँपालिका
पोखराका भनिएका पुरुष आफ्नै पालिकाको रहेको माछापुच्छ्रे गाउँपालिकाले पुष्टि गरेको छ। संक्रमितको नाम, ठेगाना, वर्ष सबै पालिकाबाटै पठाएको स्वाबसँग मिलेको गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्द आचार्यले बताए।
उनले भने, ‘पोखरा १० को भनिएका पुरुष त्यहाँका होइनन्, नाम, उमेर, ठेगाना सबै हामीसँगै मिल्छ। तर मलाई आधिकारीक जानकारी कतैबाट आएको छैन।’
संक्रमित पुरुषको स्वाब असार १३ गते गाउँपालिकामै संकलन गरेर परीक्षणका लागि पोखरा पठाएको स्वास्थ्य संयोजक आचार्यले बताए।