पुर्ण सावधानीसाथ बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

सरकारले असार २२ र २३ गते देशभर रहेका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने भएको छ। देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन लागिएको स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी गराएका छन् ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रमको ७ सय ५३ वटा स्थानीय तहले जिम्मेवारी पाएका छन्। कोभिड–१९ का कारण बन्दाबन्दी रहेकाले गत वैशाख ६ र ७ गते तय गरिएको कार्यक्रम स्वास्थ्य मन्त्रालयले चैत २१ गते स्थगन गरेको थियो ।

स्थानीय तहको पूर्ण तयारीमा सो कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए।  सम्बन्धित पालिकामार्फत महिला स्वयंसेविकालाई माक्स, सेनिटाइजर, पन्जाको उपलब्ध गराइएर कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

‘सामाजिक दूरी कायम गरी एक घण्टामा १० जनालाई दरले भिटामिन ‘ए’ खुवाइने छ,’ पराजुलीले भने, ‘प्रत्येकचोटि औषधी खुवाएपछि हात सेनिटाइज गर्नुपर्ने जस्ता सावधानी अपनाइने छ।’

सुरक्षा अपनाउनका लागि कतिपय गाउँपालिकाले पिपिई लगाएर भिटामिन ए खुवाउने लक्ष्य राखेका छन्। १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउने र ४२ जिल्लामा बालभिटा वितरण गर्न कार्यक्रम छ।

स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिट ‘ए’ खुवाउँदै आइरहेको छ । सोही कार्यक्रममा बालबालिकालाई जुकाको औषधी र बालभिटासमेत दिइने खुवाइने भएको छ।

सो कार्यक्रमका लागि देशभरका ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ। १६ हजारभन्दा बढी बुथबाट भिटामिन ‘ए’ खुवाइने पराजुलीले बताए। सो कार्यक्रमका लागि ८ करोड बजेट छुट्याइएको छ। दुई दिनमा परिचालन हुने महिला स्वयंसेविका तथा स्वास्थ्यकर्मीले दैनिक ४ सय रुपैयाँ भत्ता पाउँछन्।

भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगप्रति लड्ने क्षमतामा कमीजस्ता समस्या हुन्छन् । बालबालिकालाई रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता वृद्धि र समग्र स्वास्थ्य सुधार ल्याउनका लागि भिटामिन ‘ए’ आवश्यक पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय