‘संक्रमित व्यक्तिसँग सम्पर्क भए होम क्वारेन्टाइनमा बस्नु’

हेल्थपोस्ट/बुटवल
प्रकाशित
२०७७ असार १४ गते १८:३९

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कुनै कारणले संक्रमित व्यक्तिहरूसँग सम्पर्कमा रहन गएमा त्यस्ता व्यक्तिलाई तुरुन्तै होम क्वारेन्टाइन वा छुट्टै आइसोलेशनमा बसेर स्वास्थ्यकर्मीलाई खबर गर्न आग्रह गरेको छ। शनिबार नगरपालिकाभित्रका दुई जना पत्रकारमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाले यस्तो सूचना जारी गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले सूचना जारी गर्दै कुनै कारणले संक्रमित व्यक्तिहरूसँग सम्पर्कमा रहन गएमा त्यस्ता व्यक्तिहरू तुरुन्तै होम क्वारेन्टाइन वा छुट्टै आइसोलेशनमा बसेर स्वास्थ्यकर्मीलाई खबर गर्न आग्रह गरे।

नगरपालिकाले भिडभाड हुने गरी कुनै कार्य नगर्न तथा नगराउनसमेत अपिल गरेको छ। नगरपालिकाले आइतबार सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको पूर्ण रोकथाम नभएसम्म नियमित रुपमा स्वास्थ्य मन्त्रालयबाट जारी गरिएका स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।

कोरोना भाइरसको संक्रमण छिटफुट रुपमा समुदायस्तरमा समेत देखिन थालेको छ, सामाजिक तथा अन्य कामका लागि भेला, जमघट गर्दा संक्रमण दर अझ बढ्ने देखिन्छ, सूचनामा भनिएको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा पनि १२ हजार ३ सय बढी व्यक्तिहरू संक्रमित भइसकेको र २८ जनाको ज्यान गएकोले सिद्धार्थनगर नगरपालिका र आसपासका अन्य क्षेत्रमा समुदायस्तरमा संक्रमण फैलिन नदिन सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरिएको नगरपालिकाका सूचना अधिकारी देव ज्ञवालीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय