प्रदेश २ मा ४५ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशको धनुषा, महोत्तरी, रौतहट र सर्लाही जिल्लास्थित क्वारेन्टाइनमा रहेका ४५ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा धनुषामा ९, महोत्तरीमा १८, रौतहटमा १६ र सर्लाहीको एक जनामा संक्रमण पुष्टि भएको छ। ४५ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ३ हजार ३६४ पुगेको छ। संक्रमितहरू मध्ये २०७ जना महिला र ३ हजार १५७ पुरुष रहेका छन्।

धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित क्वारेन्टाइन, महोत्तरीको सम्सी नगरपालिका क्वारेन्टाइनका १६ र एकडारा नगरपालिकास्थित क्वारेन्टाइनका २ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी रौतहटको गौर अस्पतालस्थित आइसोलेसनका दुई, लौकहा क्वारेन्टाइनका ४ र ठाउँ नखुलेको १० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। संक्रमण पुष्टि भएका सर्लाहीका एकजनाको समेत ठाउँ खुल्न नसकेको मन्त्रालयले बताएको छ।

प्रदेश २ मा हालसम्म ४२ हजार २१७ जनाको स्वाब संकलन भएकोमा ३५ हजार २८० जनाको निगेटिभ रिपोर्ट आएको छ भने ३ हजार ५७३ जनाको रिपोर्ट आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय