सर्जक सर्जन- जसले प्रधानमन्त्रीका कवितालाई गीत बनाएर गाए

सुदूरपश्चिम पहाडको बैतडीमा जन्मिएका डा. रमेशसिंह भण्डारी।

सानै उमेरमा पढ्न भनेर उनलाई परिवारले काठमाडौं पठायो। त्यतिबेला उनी ५ वर्षका मात्रै थिए।

राजधानीको भिएस निकेतन स्कुलबाट एसएलसी पास गर्दासम्म उनको जीवनमा ‘गायकी धून’ चढिसकेको थियो।

र, गीत गाउने रहरमा उनी बहकिएका थिए।

तर, भनेजस्तो सजिलो त कहाँ थियो र?

पाँच वर्षको छोरालाई पढ्नकै लागि काठमाडौं पठाउने आमाबुवाको सपना छोरोलाई ‘गायक’ बनाउने सपना पक्कै थिएन।

हो, जीवन यस्तै ‘जन्जाल’ त हो नि। आफ्ना सपना थाँती राखेर कहिलेकाहीं अरुकै सपनामा बाँच्नुपर्ने हुन्छ।

काठमाडौं पठाउँदै गर्दा उनका बाआमाले सपना देखिसकेका थिए, ‘छोरा रमेश डाक्टर बनोस्।’

एसएलसीपछि उनी आइएस्सीका लागि वीरेन्द्र सैनिक स्कुलमा भर्ना भए।

मन त आफ्नै थियो। रहरहरू आफ्नै। तर, परिवारको चाहना अर्कोतिर।

उनी न परिवारको सपना बिथोल्न चाहन्थे, न त आफ्नो चाहना मार्न।

उनले खुरुखुरु साइन्स नै पढ्न थाले।

धरानबाट एमबिसिएस पनि सकाए। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पतालबाट एमसिएच गरे।

त्यसपछि उनी दुई वर्ष कलेजो प्रत्यारोपणसम्बन्धी थप अध्ययनका लागि अस्ट्रेलिया गए।

त्यहाँबाट फर्किसकेपछि उनी कलेजो सर्जनका रूपमा त्रिवि शिक्षण अस्पतालमा कार्यरत छन्।

र, तिनै भण्डारीको नेतृत्वमा नेपालमै कलेजो प्रत्यारोपण सफलतापूर्वक भएको थियो। यो नेपाली चिकित्सकले नेपालमा गरेको पहिलो कलेज प्रत्यारोपण थियो।
त्यसभन्दा अघि एकपटक नेपालमा विदेशी चिकित्सकसम्मिलित टोलीले कलेजो प्रत्यारोपण गरेको थियो।

सानैदेखि संगीतमा रुचि

उनी सानैदेखि गीत/संगीतमा औधी रुचि राख्थे। स्कुलका सांगीतिक कार्यक्रममा सहभागी भइहाल्थे।

त्यही गीतप्रतिको हुटहुटीले उनले आइएस्सी पढ्ँदा गिटार बजाउन पनि सिके। र, पछि आफ्नै स्वरमा गिटारको धून भर्न थाले।

सन् १९९७ को कुरा हो। धरानमा पढ्दै गर्दा साथीभाइसँग मिलेर उनले एउटा गीत रेकर्ड गराए। त्यसताका एफएमहरूमा त्यो गीत खुब बज्थ्यो।

पढाइमा अवरोध हुने ठानेर उनले पछि गीतप्रतिको झुकावलाई धेरै हदसम्म घटाए। पढाइको एक लेवल सकिएपछि फेरि आफ्नो रुचिलाई मूर्त रूप दिने ध्याउन्न लागे उनी।

उनै डाक्टर भण्डारी भन्छन्– ‘आजभोति त घरमा बस्दा पनि गीत गुनगुनाउने गरेको छु। मोबाइलमा गीत रेकर्ड गर्दै रमाउने गरेको हुन्छु।’

‘प्रधानमन्त्रीलाई मनपर्ने र फ्रेस पनि हुने भएकाले मैले यस्तो गरेको हुँ। उहाँले मलाई अरु गीत पनि सुनाउनुहोस् भनिरहनुहुन्थ्यो। तपाईले अब गीत रेकर्ड गर्नुपर्छ भनेर प्ररेणा पनि दिनुहुन्थ्यो,’

प्रधानमन्त्रीको शब्दमा स्वर

मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिविमा एपेन्डिसाइटिसको अप्रेसन गरियो। अप्रेसन टोलीमा डा. भण्डारी पनि थिए।

त्यस क्रममा उनको प्रधानमन्त्री ओलीसँग निकटता बढ्यो।

अस्पतालको बेडमा रहेका प्रधानमन्त्रीको मुड फ्रेस पार्न मोबाइलमा रेकर्ड गरिएका आफ्ना गीत सुनाउन थाले।

‘प्रधानमन्त्रीलाई मनपर्ने र फ्रेस पनि हुने भएकाले मैले यस्तो गरेको हुँ। उहाँले मलाई अरु गीत पनि सुनाउनुहोस् भनिरहनुहुन्थ्यो। तपाईले अब गीत रेकर्ड गर्नुपर्छ भनेर प्ररेणा पनि दिनुहुन्थ्यो,’ प्रधानमन्त्रीसँगको क्षणबारे उनले सुनाए।

‘मैले जिस्किएर भइहाल्छ नि सर। हजुरले लेख्नुपर्छ अनि मैले गाउँछु भनेको थिएँ,’ प्रधानमन्त्रीसँगको वार्तालाप उनले स्मरण गरे।

जेठमा सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका कविताका बारेमा व्याप्त चर्चा भयो।

डा. भण्डारीलाई झट्ट अस्पतालमा प्रधानमन्त्रीलाई गीत गाउँदै सुनाएको याद आयो। र, उनले प्रधानमन्त्रीकै कविता गाउने सोच बनाए।

आफ्नो मोबाइलमा स्वर भरे। र, त्यही लिएर उनी बालुवाटार पुगे। प्रधानमन्त्रीलाई सुनाए।

अस्पतालको शैय्यामा मनपरेको एक चिकित्सकको स्वरमा आफ्नो कविता लयबद्ध भएको सुन्दा प्रधानमन्त्री पनि पुलकित भए। प्रधानमन्त्रीले डा. भण्डारीको स्वर मन परेको भन्दै गीतमा संगीत भर्न अनुमति दिए।

त्यसपछि एक महिनाको मिहिनेत पनि बजारमा आयो। एक सर्जन सर्जकको स्वरमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित ‘बन्छ नमुना नेपाल’ गीत।

प्रधानमन्त्रीले लेखेको कवितालाई गीत बनाएर गाएका भण्डारीले परिवारका सदस्यलाई पनि सुनाए। घरका सबैले राम्रो छ भन्दै हौसला दिनुले पनि आफूमा प्रेरणा जागेको उनले सुनाए।

गीतका शब्द सरल र सहज रहेकाले सबैले मन पराउने डा. भण्डारीको विश्वास छ।

‘सन् १९९७ मा एमबिबिएस पढ्दा गाएको गीत त्यो समय कान्तिपुर एफएममा बज्थ्यो। जुन सुनेर म निकै सन्तुष्ट हुन्थें,’ उनले भने।

अहिले पनि उनी घरमा खाली समय हुनेबित्तिकै गिटारको धुनमा स्वर मिलाउन उद्धत हुन्छन्।

डाक्टर भण्डारी फुटबलप्रेमी हुन्। उनी फुटबल भनेपछि हुरुक्कै हुन्छन्।

गीतमा पप लय उनलाई खुबै मनपर्छ। र, गाउन पनि त्यही लय सहज लाग्छ।

आजभोलिको मोर्डन गीत गाउने उनी रूचाउँछन्। पप गीत गाउन सजिलो हुने उनी सुनाउँछन्। प्रायजसो उनी सुगम पोखरेल, नवीन भट्टराईको गीत गाउने गरेका छन्।

उनी बिहान दैनिक ७ बजे अस्पताल पुग्ने गर्छन्। बेलुकी ६–७ बजे घर फर्किसक्छन्। अस्पतालमा कहिलेकाहींबाहेक उनी ७ बजे घर पुगिसकेका हुन्छन्।
घर आएपछि संगीतलाई १ घण्टा जति समय दिने गरेका छन् भने शनिबारको दिनमा अलि बढी समय त्यता लगाउँन्।

अप्रेसन गर्नुभन्दा अघि वा अप्रेसन गरेपछि संगीत मनपर्ने बिरामीलाई गीत सुनाउने गर्छन उनी। त्यसले बिरामीलाई राहत दिने उनको भोगाइ छ।

बिरामी हेर्नेबाहेक पढाइ वा अस्पतालको काम अफिस आवरमै सकाउने गर्छन्। घरमा उनी आफूलाई फ्री नै राख्न खोज्छन्।

उनी भन्छन्– इच्छा भएपछि समय मिलाउन कुनै समस्या हुँदैन।

बिदाको दिन मुड आएको खण्डमा घण्टौंसम्म गीत नै गाएर बसिदिन्छन्।

रमाइलो गर्न मनपराउँछन्। जुन बेला फुर्सद हुन्छ त्यही बेला गाउन थाल्छन्।

छुट्टीका दिन प्रायःजसो घरमा नै समय बिताउने गर्छन् उनी।

सकारात्मक सन्देश दिने र इनर्जी दिने खालका गीत गाउन मन पराउँछन्।

आफूलाई मनपरेको कुरा कसैले गर्छ भन्ने शरीरको तनाव कम हुन्छ भन्ने सोच उनको छ।

अप्रेसन गर्नुभन्दा अघि वा अप्रेसन गरेपछि संगीत मनपर्ने बिरामीलाई गीत सुनाउने गर्छन उनी। त्यसले बिरामीलाई राहत दिने उनको भोगाइ छ।
चिकित्सा क्षेत्रमा काम गर्दैगर्दा उनी गीत–संगीत आउँदा सन्तुष्ट मान्छन् डा. भण्डारी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय