‘सुदूरपश्चिममा स्वास्थ्यकर्मीले संक्रमित धान्न नसक्ने स्थिति आउनसक्छ’

सुदूरपश्चिम प्रदेशमा हालकै गतिमा कोरोना संक्रमित थपिदै गए संक्रमितको संख्या २५ हजार भन्दा बढी पुग्नसक्ने भन्दै स्वास्थ्यकर्र्मी चिन्तित बन्न थालेका छन्।
सुदूरपश्चिममा पछिल्लो चरणमा भारतबाट भित्रिएका नेपालीहरुको कोरोना परीक्षण भइरहेको छ।

अहिलेसम्मको संकेत हेर्दा परीक्षण गरिएकामध्ये १० प्रतिशतभन्दा बढीमा संक्रमण पुष्टी हुनेगरेको पाइएको छ।

यसलाई विज्ञहरुले ‘भयावह’ भन्दै यस्तै अस्था आए थेग्न नसक्ने गरी संक्रमित थपिने चिन्ता व्यक्त गरेका हुन्।

सेती प्रादेशिक अस्पतालका डा‌. शेरबहादुर कमरले विरामीको संख्या हरेक दिन थपिँदै उनीहरुको रेखदेखमा समस्या आउन थालेको बताए। सुदूरपश्चिम प्रदेशको एकमात्र सुविधा सम्पन्न अस्पताल सेती प्रादेशिक अस्पतालमा उनी कोरोना संक्रमितको उपचारमा निरन्तर खटिइरहेका छन्।

‘हरेक दिन बिरामीको संख्या बढ्दै जाँदा उपकरण र स्वास्थ्यकर्मी सिमितमात्रै छौं’ डाक्टर कमरले भने–‘अहिलेकै संरचनाले संक्रमितलाई प्रभावकारी सेवा दिन पनि समस्या भएको छ।’

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले अहिलेसम्म भारतबाट आएका व्यक्तिमा देखिएको संक्रमण दरका आधारमा कम्तीमा २५ हजार संक्रमित हुने प्रक्षेपण गरिएको बताए।

उनका अनुसार तत्कालै भारतबाट आएका सबैको परीक्षण हुन सक्ने अवस्था पनि छैन। ‘कोरोना संक्रमण पुष्टी गर्न सरकारसँग पर्याप्त मात्रामा किट छैन’ डाक्टर अवस्थीले भने–‘लक्षण देखिए मात्रै परीक्षण गर्ने विश्वका अन्य देशको अभ्यासअनुसार नै हामी पनि अगाडि बढेका छौं, तर समुदायमा संक्रमण फैलिए त्यसलाई नियन्त्रण गर्ने क्षमता हामी संग छैन।’

यस प्रदेशका नौ वटै जिल्लाहरुमा हालसम्म पिसिआर विधीबाट २० हजार ७ सय ५ व्यक्तिको नमुना संकलन गरिएकोमा शुक्रबार सम्म १५ हजार ७ सय ९८ नमुना परीक्षण भएका डाक्टर अवस्थीले बताए। परीक्षण गरिएकामध्ये १ हजार ८ सय ८६ जनामा कोरोना पोजेटिभ भेटिएको छ, ४ हजार ९ सय ७ जनाको नतिजा आउन बाँकी रहेको छ।

डा. अवस्थीले सुदूरपश्चिममा कम्तीमा २५ हजार व्यक्ति कोरोनाबाट संक्रमित हुने प्रक्षेपणको आधारका रुपमा अहिलेको संक्रमण दर रहेको बताए।

सेती प्रयोगशालामा ११ हजार ७ सय ७४ नमुना संकलन भएको छ भने राष्टिय जनस्वास्थ्य प्रयोगशालामा १० हजार बढी नमुना पठाईएको छ। पठाइएका मध्ये २ हजार १ सय ५७ नमुनाको नतिजा आउन बाँकी रहेको छ। सृदूरपश्चिममा शुक्रबार कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८६ पुगेको छन्। जेठ १२ गते यता भारतबाट नेपालीलाई स्वदेश फर्काउन थालेपछि सुदूरपश्चिममा संक्रमण फैलिने क्रम तीब्र बनेको छ।

पछिल्ला दुई सातामा मात्रै सुदूरपश्चिम प्रदेशमा १ हजार २ सयभन्दा बढी अर्थात ७५ प्रतिशत संक्रमित थपिएका छन्। पछिल्लो पटक भारतबाट डेढ लाखभन्दा बढी नागरिक सुदूरपश्चिम भित्रिएका छन्।

चैत २२ गतेसम्म नेपालमा ९ जना संक्रमित भेटिएका थिए। तीमध्ये ४ जना संक्रमित सुदूरपश्चिमकै थिए। पछिल्लो एक महिनामा भने सुदूरपश्चिममा कोरोना संक्रमणको दर तीव्र बनेको छ। गत चैत १४ गते दुबईबाट फर्किएका धनगढीका एक ३४ बर्षिय युवकमा कोरोना भाइरस संक्रमणको पहिलो केस सुदूरपश्चिम प्रदेशमा फेला परेको थियो।

जेठ २४ गतेसम्म प्रदेशभर एक सय संक्रमित रहेकोमा अहिले बढेर १ हजार ६ सय नाघेको छ। सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पहिलो सय नाघ्न दुई महिनाभन्दा बढि लाग्यो तर दुई साताको अवधिमै संक्रमितको संख्या एक हजार नाघेको छ।

डा. अवस्थीले सुदूरपश्चिममा कम्तीमा २५ हजार व्यक्ति कोरोनाबाट संक्रमित हुने प्रक्षेपणको आधारका रुपमा अहिलेको संक्रमण दर रहेको बताए। नेपाल भित्रिएकाहरु सबै र उनीहरुबाट सर्ने अग्रपंक्तिका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी सहितका व्यक्तिको परीक्षण गरिए संक्रमितको संख्या २५ हजार नाघ्ने उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय