निको भएर एकैदिन घर फर्किए स्याङ्जाका ३४ संक्रमित

स्याङ्जाका ३४ जना कोरोना संक्रमित निको भएर एकैदिन घर फर्किएका छन्। जिल्लाको हेलुस्थित कालिका सामुदायिक अस्पतालमा उपचाररत ५ पालिकाका ३४ जना शनिबार घर फर्किएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए।

निको हुनेमा गल्याङ नगरपालिकाका १६, वालिङ नगरपालिकाका १०, आँधीखोला गाउँपालिकाका ४, अर्जुनचौपारी गाउँपालिकाका १ र भीरकोट नगरपालिकाका १ जना छन्। सामुदायिक अस्पतालमा उपचाररत ४१ संक्रमितको स्वाब परीक्षणका लागि पोखरा पठाइएकोमा ३४ जनाको नेगेटिभ आएपछि घर पठाइएको हो।

बाँकी ७ जनाको रिपोर्ट दोस्रो पटक पनि पोजेटिभ आएको छ। अस्पतालमा उपचाररत वालिङ नगरपालिकाका ४ संक्रमितलाई नगरपालिकाले आफ्नै आइसोलेसनमा लगेको स्वास्थ्य कार्यालय प्रमुख शर्माले बताए।

वालिङ नगरपालिकाले १४ संक्रमितको उपचार आफैले बनाएको आइसोलेसनमा गरिरहेको छ। ‘हेलुबाट आज ४ जना आउनुभयो। सबै गरेर यहाँ १४ जना हुनुहुन्छ। अझै बेड थप्दैछौं,’ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले भने।

स्याङ्जामा शनिबार बिहानसम्म १ सय ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख शर्माले जानकारी दिए। कोरोना भाइरसलाई जितेर आज घर फर्किएकासहित गरेर स्याङ्जामा निको हुनेको संख्या ५५ पुगेको छ। स्याङ्जाको वालिङ र अर्जुनचौपारीका क्रमश ५८ र ५५ वर्षे २ पुरुषको कोरोना संक्रमणपछि मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय