अमेरिकामा कोरोना संक्रमितलाई जोगाउन खटिएका नेपाली डाक्टर

विश्वको सबैभन्दा बढी कोरोनाको प्रकोपसँग जुधिरहेको देश हो, संयुक्त राज्य अमेरिका। महामारीमा त्यहाँका नागरिकलाई सहयोग गर्न पाउनु जो कसैका लागि पनि अहोभाग्यकै विषय हो।

अमेरिकालाई कर्मथलो बनाएका हजारौं नेपाली चिकित्सक अहिले जीवन दाउमा राखेर बिरामीको सेवा गर्नमै व्यस्त छन्।

त्यसमा पनि कोरोना भाइरसबाट संक्रमितमध्ये सबैभन्दा सिकिस्त बिरामीको उपचारमा संलग्न चिकित्सकमध्ये एक हुन् डा. कञ्चन कोइराला।

फोक्सोसम्बन्धी उपचार हुने उक्त अस्पतालमा कोरोना भाइरस अर्थात् कोभिड–१९ का संक्रमित कयौं आउँछन्। डा. कोइरालाका अनुसार अधिकांश संक्रमित उपचारपछि घर फर्किएका छन्।

पाल्मोनोलोजिस्ट (फोक्सोसम्बन्धी विशेषज्ञ) डा. कोइराला क्यालिफोर्नियाको सान डिएगोस्थित पालोमार हस्पिटलमा कार्यरत छन्। उनी भन्छन्, ‘हाम्रो जिम्मेवारी स्वास्थ्योपचार हो, संकटसँग जुध्न सक्ने व्यक्तिकै पहिचान स्थापित हुन्छ, हाम्रो कर्मप्रतिको विश्वास पनि यस्तै बेला बढी प्रवल हुनुपर्छ।’

सघन उपचार कक्षमा उपचाररत बिरामी हेर्ने कोइरालालाई अस्पतालका ‘फ्रन्टलाइन’ डाक्टर हुन्। हुन त उनले ‘हेरेका’ केही संक्रमितको मृत्यु भइसकेको छ।

तर, डा. कोइराला विचलित छैनन्। उनलाई लाग्छ, ‘जसरी हुन्छ, बढीभन्दा बढी संक्रमितलाई कोरोनाविरुद्धको लडाइँ जित्न प्रेरणा दिनुपर्छ।’ उनी त्यही गरिरहेका छन्।

फोक्सोसम्बन्धी उपचार हुने उक्त अस्पतालमा कोरोना भाइरस अर्थात् कोभिड–१९ का संक्रमित कयौं आउँछन्। डा. कोइरालाका अनुसार अधिकांश संक्रमित उपचारपछि घर फर्किएका छन्।

आफूलाई जोगाउने, सेवा अघि बढाउने

अमेरिकामा कोरोना भाइरसको संकट चुलिँदै जाँदा त्यहाँ रहेका नेपालीहरू पनि प्रभावित भइरहेका छन्।

यद्यपि डा. कोइरालासहितका चिकित्सा सेवाको क्षेत्रमा कार्यरत डाक्टर र नर्सहरू आफूलाई सुरक्षित राखेर काममा खटिरहेका छन्। जोखिम भए पनि आफ्नो जिम्मेवारीप्रति सधैं सहज र सतर्क भएर काममा खटिने गर्छन् उनी।

अमेरिकी संविधानले स्वतन्त्रताका लागि गरेको खुला व्यवस्थाका कारण विश्वभर लकडाउन गरे पनि त्यहाँ यस कुराको खासै प्रभाव छैन।

‘क्यालिफोर्नियामा पनि बाहिर हिँडडुल गर्न कुनै समस्या छैन, मानिस स्वतन्त्र हिँडिरहेका छन्,’ डा. कोइरालाले आयोमेलसँग भने, ‘त्यसैले संक्रमणको खतरा अझै बढ्ने सम्भावनालाई बल पु-याएको छ।’

नेपालीहरू प्रायः फ्रन्टलाइनमा काम गर्छन्। विशेषतः ट्याक्सी ड्राइभर तथा व्यापारिक प्रतिष्ठानहरूमा काम गर्ने नेपाली कोरोना संक्रमणबाट बढी प्रभावित रहेको उनले सुनाए।

कोइराला बस्ने सहरनजिकै मेक्सिकोसँगको सीमा क्षेत्र पर्छ। मेक्सिकोको टिवाना सहरमा कोरोना महामारी व्यापक फैलिएकाले पनि अमेरिकी सहरमा जोखिम उच्च छ।

‘अस्पतालको आइसियुमा काम गरिरहँदा बिरामी थपिने क्रम बढ्दो छ, सिकिस्त बिरामी हेर्ने भएकाले पनि मैले विशेष सर्तकता अपनाउनुपर्ने हुन्छ,’ कोइरालाले भने।
कामका क्रममा संक्रमणको जोखिम हुन्छ। तर, कोइरालाले उच्च सावधानी अपनाएर काम गरिरहेका छन्।

‘मैले कोरोना संक्रमितको श्वासको नली हाल्ने–निकाल्ने गर्नुपर्छ, त्यसबेला पूरै सिल भएरमात्रै काम गर्छु, सावधानी नअपनाए खतरा मात्रै हुँदैन, संक्रमण नै पनि हुन्छ,’ उनले भने।

फ्रन्टलाइनमा कार्यरत नेपाली बढी संक्रमित

संयुक्त राज्य अमेरिकामा १६ सय नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यसमध्ये डेढ दर्जनको ज्यान गइसकेको छ।

अमेरिकामा अधिकांश जेष्ठ नागरिकलाई नर्सिङ होममा राखिएको छ। डा. कोइरालाका अनुसार नर्सिङ होमहरूमा कोरोनाको संक्रमण व्यापक सरेको छ।

‘मुटुु, सुगर, दमका बिरामी, मोटोपन भएकाहरूलाई बढी नै च्यापिरहेको छ,’ कोइरालाले भने, ‘त्यहाँ काम गर्ने नेपालीहरू पनि कोरोनाको संक्रमणबाट पीडित छन्।’

नेपालीहरू प्रायः फ्रन्टलाइनमा काम गर्छन्। विशेषतः ट्याक्सी ड्राइभर तथा व्यापारिक प्रतिष्ठानहरूमा काम गर्ने नेपाली कोरोना संक्रमणबाट बढी प्रभावित रहेको उनले सुनाए।

‘जवान युवाहरू पनि धेरै प्रताडित छन्, स्वास्थ्यकर्मीलाई पनि कामका दौरान संक्रमण भएको छ, तर धेरैजसो स्वास्थ्यलाभ गरेर फर्किनु भएको छ,’ डा. कोइरालाले भने।

न्युयोर्कलाई कयौं दिन–सातासम्म डाक्टरलाई भ्याइनभ्याइ भएको उनी सम्झन्छन्। उनका अनुसार भेन्टिलेटरमा जाने ८८ प्रतिशतले ज्यान गुमाए।

‘मेरो अस्पतालमा २०–३० प्रतिशतले ज्यान गुमाए, अहिलेसम्म राम्रै सेवा दिन सकिरहेका छौं, एक सिफ्टमा सिरियस बिरामी ८–१० जनाभन्दा धेरै हेर्न सकिँदैन,’ कोइरालाले भने, ‘तथापि हामीले सकेसम्म बिरामी उपचारलाई नै प्राथमिकता दिएका छौं।’

बिरामीलाई उत्प्रेरणा बनिरहेका डाक्टर

भनिन्छ, डाक्टरलाई भेटेपछि धेरै बिरामीको आधा रोग आफैं ठिक हुन्छ। डा. कोइराला पनि त्यस्तै चिकित्सक हुन्, जसले बिरामीलाई हौसला दिन्छन् र जीवनप्रति आशा जगाउँछन्।

‘धेरै संक्रमित इम्युनिटीले नै बाँचिरहेका छन्, आत्मविश्वास जगाउन सकेमा तत्कालै रिकभर हुने पनि देखिएको छ,’ कोइरालाले भने, ‘आत्मबल वृद्धि गर्न र उत्साह कायम राख्न प्रेरणा दिन्छौं, यसो गर्दा धेरै हदसम्म बिरामीको मनस्थिति बदलिन्छ र निको भएर फर्किन्छन्।’

भेन्टिलेटरले सपोर्ट गरे कतिपय बिरामी ७–१० दिनमा आफैं निको हुँदै जाने र निकाल्ने गरिएको पनि डा. कोइरालाले सुनाए। भेन्टिलेटरमा राखेर मात्रै नपुग्ने बताउँदै उनले भने, ‘भेन्टिलेटर साइन्टिफिक हुनुप-यो, बिरामीलाई पल्टाउनुप-यो, त्यतिबेला ४–५ जना चाहिन्छ, त्यतिबेला सुरक्षित रहन उत्तिकै जरुरी हुन्छ।’

कयौं संक्रमितसँग साक्षात्कार गर्दा…

अरू देशका डाक्टरको अनुभव अध्ययन गरेर पनि डा. कोइरालाले बिरामीको उपचारलाई सहज, सरल र उत्प्रेरक बनाउने कोसिस गरेका छन्।

‘मलेरियाको दबाइ पाउन छाडेको थियो, इबोलाको औषधी पनि खासै प्रभावकारी भएन, गर्मी मौसममा कम होला भन्ने आस छ,’ उनले भने, ‘उच्च सतर्कता र अन्य संक्रमणबाट जोगाउनुको विकल्प नै रहेन।’

‘मेरो घरबाहिर प्रेरणा दिने किसिमका पोस्टर लगाइएको हुन्छ, कुन छिमेकीले हो थाहा छैन, सधैं फेरिरहन्छन्, डाक्टरको कामप्रति सम्मान गर्दै नारा लेखेको देख्छु, हौसला जाग्छ,’ उनले भने।

डा. कोइरालाको अस्पतालमा आइसियूमा दर्जनौं धेरै बिरामी उपचाररत थिए। अहिले पनि छन्। आइसियूमा आएकालाई उनले हेरेका छन्, उपचार गरेका छन्।

‘मैले हेरेका केही बिरामीको कोरोनाको संक्रमण भए पनि अरूको ‘अर्गान’ फेल भएर ज्यान गयो। आइसियूमा निकै ग्रसितलाई पनि हेरिरहेको छु। कतिलाई संक्रमण भएको नै थाहा छैन। त्यसैले बेलैमा उपचार नपाएर पछि भर्ना भएकाहरू पनि जोखिममा परे,’ उनले भने।

उपचारमा जानुभन्दा सर्नै नदिनु राम्रो

डा. कोइरालाका अनुसार अमेरिकामा मानवबाट जनावरलाई सरेको केसहरू पनि देखिएका छन्। अमेरिकाको एक चिडियाखानामा काम गर्नेहरूबाट बाघमा सरेको पुष्टि भएको उनले सुनाए।

‘अनुशासन बनाई राख्नुपर्छ, विकल्प घरमै बस्ने मात्रै हो, यो संक्रमण बढिरहन एकदेखि अर्कोमा सर्नुप-यो,’ कोइरालाले भने।

सडकमा आवतजावत गर्दा आँखाबाट पनि संक्रमण सरेको देखिएको बताउँदै कोइरालाले सडकमा हिँड्दा पनि ध्यान दिन सुझाए।

‘कामविशेषले बाहिर जाँदा ध्यान दिनुपर्छ, बाटोमा कुनै अर्को व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा देखिने थुक र नदेखिने थुक निकिन्छ, थुक एक घण्टासम्म पनि हावामा रहन सक्छ,’ उनले भने, ‘त्यस्तो अवस्थामा हामीलाई सर्जिकल मास्क र चश्माले जोगाउँछ।’

खोक्दा थुकका ‘एयर बोन’ तीव्र गतिमा एकदम सानो भएर आउने भएकाले एन
९५ मास्कबाट पनि छिर्नसक्ने सम्भावना ५ प्रतिशत रहने कोइरालाले बताए। ‘९५ प्रतिशत रोकिदिन्छ,’ उनले भने, ‘त्यसैले व्यक्तिगत सुरक्षाका लागि विशेष ध्यान दिनुपर्छ।’

अमेरिकामा हरेक अस्पतालमा ४–५ वटा एयरबोन कोठा अनिवार्य राख्नुपर्ने नियम छ। क्षयरोग, इबोला पनि एयरबोन मानिने उनले बताए। ‘टिबीको अरू सरुवा रोगका बिरामीलाई राख्न यसको व्यवस्था गरिन्छ,’ उनले भने।

कोइराला कार्यरत अस्पतालमा हरेक ५ मिनेटमा १२ पटक हावा फिल्टर हुने उनले बताए। ‘भ्याकुमले हावा तान्छ र त्यो हावा हेपाफिल्टर मेसिनमार्फत् बाहिर जान्छ, कोठामा नर्मल एयर कन्डिसनिङकै च्यानलबाट हावा आउँछ,’ उनले भने।

नेपालमा गरिनुपर्ने तयारी

कोरोना फैलिन नदिनेसँगै सामाजिक आइसोलेसनमा ध्यान दिनुपर्ने डा. कोइरालाको धारणा छ। भेन्टिलेटर किन्ने तथा प्राविधिक सुधारका कार्यहरू तीव्रसाथ अघि बढाउनुपर्नेमा उनको जोड छ।

चीनसँग सिधैं जनसम्पर्क नभएकाले भारतसँगको खुला सिमानामा सरकारको ध्यान जानुपर्ने डा. कोइरालाको धारणा छ।

‘मिलेसम्म सीमा पूर्ण रूपले बन्द गर्नुपर्छ, आउने जाने मान्छेका लागि सीमावर्ती क्षेत्रमा उच्चस्तरीय क्वारेन्टाइन निर्माण गर्नुपर्छ। खाद्यान्न, इन्धनलगायतका आवश्यक सामग्रीका आयात गर्दा विशेष ध्यान पु-याउनुपर्छ,’ उनले भने।

डाक्टरका लागि उत्प्रेरणा बन्छन् अमेरिकी

डा. कोइरालाले काम गर्न जाँदा अस्पतालको स्क्रब, व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) तथा गाउन लगाउँछन्।

हेल्मेट जस्तो आइग्लास, एन९५ र बाहिर कभर गर्न अर्को सर्जिकल माक्स पनि प्रयोग गर्छन्। गाउन र ग्लोब्स दोहो-याएर प्रयोग गर्दैनन्।

‘सिधैं घर गएर यताउता नगरी कपडा धुन हाल्दिने गर्छु, म परिवारभन्दा छुट्टै बस्छु,’ उनले भने।

डा. कोइरालाले आफ्नो त सुरक्षा गर्छन् नै। तर, बिरामीको सेवामा जान पनि त्यतिकै उत्साही हुन्छन्, जतिबेला उनी आफ्ना घरअगाडि छिमेकीका उत्प्रेरक साथ पाउँछन्।

‘मेरो घरबाहिर प्रेरणा दिने किसिमका पोस्टर लगाइएको हुन्छ, कुन छिमेकीले हो थाहा छैन, सधैं फेरिरहन्छन्, डाक्टरको कामप्रति सम्मान गर्दै नारा लेखेको देख्छु, हौसला जाग्छ,’ उनले भने।

भारतसहित केही देशमा अस्पतालबाट घर फर्किदा चिकित्सकलाई कुट्ने–पिट्ने गरेको सुन्दा कोइरालालाई दुःख लागेको सुनाए।

चिकित्सकलाई पनि मनोबल उच्च बनाउन प्रेरणा दिनुपर्ने उनले बताए। ‘आइपरेपछि गर्ने हो, हामीले बिरामीकै सेवा गर्ने हो, तर समाजको साथ चाहिन्छ,’ कोइरालाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय