संक्रमितको शव व्यवस्थापनमा खटिएका दुई सैनिकमा कोरोना पुष्टि

पाल्पामा दुई सैनिकमा कोरोना संक्रमणक पुष्टि भएको छ। उनीहरू कोरोना संक्रमणले ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका सैनिक हुन्।

प्रदेश प्रयोगशाला भैरहवामा हिजो थपिएका ७७ संक्रमितमध्ये शव व्यवस्थापनमा खटिएका दुई जना सैनिक पनि रहेका स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको छ। भारतबाट घर फर्किएका पूर्वखोला गाउँपालिका, सिलुवाका ३६ वर्षीय एकजना पुरुषको गएको जेठ २० गते उपचारका क्रममा तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालमा ज्यान गएको थियो।

ज्यान गुमाएका ती पुरुषमा कोरोना संक्रमणको पुष्टि भएपछि २२ गते पाल्पा बुटवल सडक खण्डको डुम्रेखोलामा शव व्यवस्थापन गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार नै नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो।

शव व्यवस्थापनदेखि नै व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई आइसोलेशनमा राखिएकाले सबै सुरक्षित रहेको तानसेनस्थित गोरखदल गणले जनाएको छ।

मिशन अस्पतालका डाक्टरकै निगरानीमा उनीहरुलाई सुरक्षित राखिएको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली गणले जनाएको छ।

शुक्रबार थपिएका ७७ जनासँगै पाल्पामा कोरोना संक्रमितको सङ्ख्या ४ सय ४६ पुगेको छ। पाल्पाका संक्रमितमध्ये १६ जना निको भएर घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय