भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

चितवन मेडिकल कलेजले कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा रेफर गरेका एकजना पुरुषको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका-७ का ५० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ।

शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको अस्पतालले बताएको छ।

लामो समयदेखि फोक्सोको क्यान्सरको समस्या र हाल कोरोना संक्रमणका कारण मृत्यु भएको भरतपुर अस्पतालका मेसु डाक्टर श्रीराम तिवारीले जानकारी गराए।

अस्पतालका अनुसार असार ११ गते कोरोना पुष्टि भएपछि त्यसै दिन राति १० बजे भरतपुर अस्पताल रेफर गरिएको थियो। असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनी फोक्सोको क्यान्सरका बिरामी थिए।

विपी कोइराला क्यान्सर अस्पताल भरतपुरले भर्ना नलिएपछि उनी चितवन मेडिकल कलेज आएका थिए। उपचाररत उनको बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो।

चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र अथक प्रयासमा उपचार गर्दागर्दै मृत्यु हुन पुगेको तिवारीको भनाइ छ। आज संक्रमित व्यक्तिको शव व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयसँग छलफल भइरहेको अस्पतालले जनाएको छ।

यसअघि चितवनमा भरतपुर महानगरपालिका-११ का ६८ वर्षे व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। उनको पनि कोरोना संक्रमण पुष्टि भएपछि नारायणी सामुदायिक अस्पतालले रेफर गर्दाको भोलिपल्ट नै मुत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय