बुवाआमासँग भारतबाट आएका थिए स्याङ्जाका १२ महिने संक्रमित शिशु
स्याङ्जामा शनिबार बिहान १६ पुरुष र ६ महिला गरी ३२ जनामा कोरोना पोजेटिभ देखियो। संक्रमितमध्ये १९ जना अर्जुनचौपारी गाउँपालिकाका हुन्। १९ संक्रमितमध्ये १२ महिनाका एक शिशुमा पनि कोरोना पोजेटिभ देखिएको छ।
गत ३१ जेठमा आमाबुवासँगै भारतबाट आएर क्वारेन्टाइनमा बसेका शिशुमा कोरोना देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले जानकारी दिए। ‘शिशु र आमाबुवालाई सीमामाबाट उद्धार गरेर ल्याइएको हो। तीनै जना क्वारेन्टाइनमै हुनुहुन्छ,’ प्रमुख प्रशासकीय अधिकृत गौतमले भने।
उनका अनुसार संक्रमित शिशुका आमाबुवामा कोरोना पोजेटिभ भए/नभएको यकीन गर्न बाँकी छ। गौतमले भने, ‘प्रदेश स्वास्थ्य निर्देशनालयबाट संक्रमितको उमेर मात्रै आउँछ। आमा छोरी भनेर रेकर्डमा नराखिने भएकाले थाहा हुँदैन। उतै गएर सोधे मात्रै थाहा हुन्छ।’
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर कुमार केसीले संक्रमित शिशु रहेको क्वारेन्टाइनमा जाने तयारी भइरहेको जानकारी दिए। उनले भने, ‘बच्चा बसेको क्वारेन्टाइन यहाँबाट १५ किलोमिटर टाढा वडा नम्बर ५ मा पर्छ। त्यहाँ हामी जाँदैछौ। बच्चाको अभिभावकको नाम प्रहरीसँग खोज्दै छु।’
गाउँपालिकाले ५ असारमा ४७ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पोखरा पठाएको थियो। गाउँपालिकाको क्वारेन्टाइनमा अहिले ९२ जना बसिरहेको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिए। तीमध्ये ८१ जना भारतबाट र ११ जना तेस्रो मुलुकबाट आएका हुन्।
अर्जुनचौपारी गाउँपालिकाबाहेक शनिबार बिहान कोरोना पुष्टि हुनेमा वालिङ नगरपालिका, पुतलीबजार नगरपालिका र बिरुवा गाउँपालिकाका १/१ जना छन्। बागलुङको काठेखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका ८ र नवलपुरको हुप्सेकोटका २ जनामा पनि शनिबार बिहान संक्रमण पुष्टि भएको छ।
आज बिहान थपिएका ३२ सहित गण्डकीमा कोरोना संक्रमितको संख्या ८ सय ३८ पुगेको छ। तीमध्ये १ सय १८ जना निको भएर घर फर्किएका छन्। संक्रमितमध्ये स्याङ्जाको वालिङ नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाका क्रमश ५८ र ५५ वर्षे २ पुरुषको मृत्यु भएको छ।