एकैदिन डिस्चार्ज भए पोखरामा उपचाररत १७ संक्रमित

कोरोना संक्रमण पुष्टि भएपछि पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा भर्ना भएका १७ संक्रमित निको भएर घर फर्किएका छन्।

कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको प्रमाणपत्र हस्तान्तरण गरेर १२ पुरुष र ५ महिला गरी १७ जनालाई शुक्रबार साँझ घर पठाइएको क्षेत्रीय अस्पतलका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए।

योसहित गण्डकीमा निको हुनेको संख्या १ सय १८ पुगेको छ। शुक्रबार घर फर्किनेमा कास्कीका १४, पर्वत, स्याङ्जा र गोरखाका १÷१ जना छन्। अस्पतालमा अरु १६ संक्रमितले उपचार गराइरहेको निर्देशक आचार्यले बताए। संक्रमित भेटिनुपूर्व १० बेडको आइसोलेसन बनाएको अस्पतालले संक्रमित थपिएपछि मेडिकल वार्डलाई आइसोलेन बनाएको छ।

अस्पतालको प्रवेश गेट नजिकै बनाइएको आइसोलेसन वार्डलाई अहिले प्रि–आइसोलेन बनाइएको क्षेत्रीय अस्पतालका सूचना अधिकारी नारायण आचार्यले जानकारी दिए। उनले भने, ‘१० बेडको आइसोलेसनलाई हामीले प्रि–आइसोलेसन बनायौं। कोही शंकास्पद व्यक्ति आए रिपोर्ट नआउँदासम्म त्यहीँ बस्नुहुन्छ।’

गण्डकी प्रदेशमा शुक्रबार साँझसम्म ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये स्याङ्जाका २ जनाको उपचारको क्रममा पोखरामै मृत्यु भएको छ। स्याङ्जाको वालिङ नगरपालिका ३ का ५८ वर्षे पुरुषको २५ जेठ र आँधीखोला गाउँपालिका सिरुवारीका ५५ वर्षे पुरुषको १० असारमा मृत्यु भएको हो।

गण्डकी प्रदेशमा २ वटा मेसिनमार्फत कोरोना परीक्षण भइरहे पनि अझै ७ सय ८ जनाको रिपोर्ट आउन बाँकी छ। प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार हालसम्म प्रदेशभरबाट ९ हजार ४ सय ५८ जनाको स्वाब परीक्षणका लागि नमुना लिइएको छ। तीमध्ये ७ हजार ९ सय ५८ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। पोखराको प्रयोगशालाले स्वाब परीक्षण धान्न नसक्दा पछिल्लो समय प्रदेशका विभिन्न जिल्लाका स्वाब काठमाडौं र भरतपुर पठाउने गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय