अब देशभर ३३ प्रयोगशालाबाट कोरोना परीक्षण
थप १० अस्पतालले कोरोना भाइरस(कोभिड १९) को पिसिआर नमुना परीक्षण गर्न पाउने भएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० वटा अस्पतालाई परीक्षण गर्न अनुमति दिएको हो।
यसअघि सातै प्रदेशका २३ अस्पतालमा आरटी पीसीआर विधिबाट स्वाब परीक्षण प्रयोगशाला सञ्चालन भइरहेका थिए। यि प्रयोगशालामा दैनिक ६ हजारभन्दा बढी नमुना परीक्षण हुँदै आएको थियो।
संकलित नमुना होल्ड भएर बसेपछि मन्त्रालयले थप १० अस्पतालका प्रयोगशालाई परीक्षणको अनुमति दिएको हो।सरकारले असार १५ बाट दैनिक १० हजार परीक्षण गर्ने लक्ष्य लिएको छ। सो लक्ष्य पुरा गर्नको लागि पनि मन्त्रालयले प्रयोगशालाको सख्या विस्तार गरेको हो।
प्रयोगशाला सञ्चालन सम्बन्धी सूचना सार्वजनिक गर्दै मन्त्रालका डा. गुणराज लोहनीले शुक्रबार थप १० अस्पताललाई आरटी पीसीआर स्वाब परीक्षणको अनुमति दिइएको जानकारी दिए।
अब मेची अस्पताल, डडेलधुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पतालमा प्रयोगशाला सञ्चालन गर्ने निर्णय भएको हो।