चितवनका नौ सक्रमितको दोस्रो रिपोर्ट पोजेटिभ, जो घरजाने तयारीमा थिए

पिसिआर परीक्षणमा नेगेटिभ आएपछि घर जाने तयारी गरेका चितवनका नौजना पुरुषमा फेरि पोजेटिभ रहेको पुष्टि भएको छ।

माडी नगरपालिकाको दिवाकार स्मृति विद्यालय रमाइलो डाँडाको क्वारेटाइनमा रहेका पुरुषको दोस्रोपटक पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको हो।

‘जेठ २७ गते भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षण गर्दा बिहीबार पुष्टि भएका नौजना पुरुषमा नेगेटिभ आएको थियो,’ माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले भने, ‘त्यतिखेरको रिपोर्ट शंका लागेर फेरि परीक्षण गर्दा पोजेटिभ आयो।’

दिवाकर स्मृति विद्यालयको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना पुष्टि भएको हो। असार ८ गते १२ जनाको परीक्षण गरिएकोमा ४ जनामा पोजेटिभ आएको थियो। त्यसपछि २८ जनाको स्वाब संकलन गरी पुनः परीक्षणका लागि भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा पठाउँदा नौजनाको रिपोर्ट पोजेटिभ आएको मेयर ढकालले जानकारी गराए।

माडी नगरपालिकाले क्वारेन्टाइनमा समय अवधि पूरा गरेका सबैको पिसिआर परीक्षण गरिसकेको छ। दिवाकर स्मृति विद्यालयको क्वारेन्टाइनमा ३९ जना थिए। त्यसमध्ये २१ जनामा कोरोना पुष्टि भइसकेको छ। नेगेटिभ आएका व्यक्तिलाई उक्त क्वारेन्टाइनमा नराखिने ढकालले बताए। ‘यहाँ कोरोना संक्रमित भेटिएका क्वारेन्टाइनमा राख्दा उनीहरूलाई झन् जोखिम देखियो। संक्रमित व्यक्ति पत्ता लगाउन पटक–पटक परीक्षण गर्नुपरेको छ,’ उनले भने, ‘अब उनीहरूलाई अन्यत्र सिफ्ट गर्छौं।’

माडी नगरपालिकामा बिहीबार राति ४९, ६३, २६, ४५, ५२, १७, २५, २०, १७ वर्षे पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरू सबै करिब एक महिनाअघि भारतबाट आएका व्यक्ति हुन्।

माडी नगरपालिकामा मात्र कोरोना संक्रमित संख्या २७ पुगेको छ। सोमेश्वर माडीको क्वारेन्टाइनमा रहेका ६ जनामा पनि कोरोना संक्रमण भएको छ। संक्रमित व्यक्तिको बगौडा अस्पतालमा उपचार हुने भएको छ।

बिहीबार भरतपुरमा परीक्षण गरिएका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। पुष्टि हुनेमा माडीका नौजना सहित चितवनका १२, नवलपुरका २१, गोदावरीका एकजना छन्। भरतपुर महानगरपालिका १६ का २१ वर्षे पुरुष, भरतपुर महानगरका–१५ की ३७ वर्षीया महिला र रत्ननगर नगरपालिकाकी २७ वर्षीया महिला रहेका छन्।

उता गैंडाकोट नगरपालिकाका ५३, ३४, २३, ३५, ५२, ५२, २५ वर्षे पुरुष गरी ७ जना, कावासोती नगरपालिकाका ३७ र २५ वर्षीया दुई महिलासहित, २४, २४, ३०, ३३, ३०, ३५,२२, १८, २९, ५८, ३५, १८ वर्षे पुरुष गरी १२ जना र चितवन मेडिकल कलेजमा उपचाररत गोदावरी–७ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ।

बिहीबार भरतपुरमा २ सय १४ जनाको पिसिआर परीक्षण गरिएकोमा १ सय ८० जनाको भने रिपोर्ट नेगेटिभ आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय