झापामा डाक्टरमाथि आक्रमण

झापाको बिर्तामोडस्थित मेडिका हस्पिटलका मेडिकल अफिसर सुधाकर झामाथि आक्रमण भएके छ ।

बिहीबार राति ९.३० बजे हुल बाँधेर हस्पिटल पुगेको १०/१५ जनाको समूहले डा. झामाथि आक्रमण गरेको हस्पिटलका अध्यक्ष हरिशचन्द्र बाँस्तोलाले बताए।

बिर्तामोड नगरपालिका-६ बुट्टाबारीका ८ वर्षे बालक विज्ञान राईको हात भाँचिएपछि उपचारका लागि राति ८ बजे हस्पिटल लगिएको थियो। हस्पिटलका अनुसार बालकको हातको अप्रेसन गरिएको र अवस्था सामान्य थियो।

त्यसको दुई घण्टा पनि नबित्दै त्यहाँ पुगेको उक्त समूहले खाना खाएर कार्यकक्ष नजिक आराम गरिरहेका डाक्टरलाई कुटपिट गरेको अध्यक्ष बाँस्तोलाले बताए। समूहले पहिला बिरामी हेर्न दिनुपर्ने र उपचारमा लागेको रकम डिस्काउन्ट गर्नुपर्ने भन्दै काउन्टरमा रहेकी कर्मचारीसँग विवाद गरेको थियो।

उनीहरूले बिरामी हेर्न एकैपटक जान खोजेपछि नजिकै रहेका डाक्टर झाले सम्झाउन खोज्दा त को होस् भन्दै आक्रमण गरेको अध्यक्ष बाँस्तोलाले बताए।

‘बिर्तामोड हाम्रो कब्जामा हुन्छ,  डिस्काउन्ट भएन भने राम्रो हुँदैन’ भनेपछि डाक्टरले सम्झाउन खोजेको हस्पिटलका अध्यक्ष बाँस्तोलाको भनाइ छ।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अध्यक्ष बाँस्तोलाले भने, ‘डाक्टरले मास्क लगाएर एक-एक जना मात्रै माथि जानुस् भनेपछि विवाद भएर आक्रमण भएको हो।’

आक्रमणबाट डाक्टर झाको नाकमा चोट लागेको छ।  उनलाई तत्कालै उपचारका लागि बिएण्डसी अस्पताल लगिएको थियो। अहिले उनको उपचार भइरहेको र अवस्था सामान्य रहेको अध्यक्ष बाँस्तोलाले जनाए।

आक्रमणबाट घाइते भएका डाक्टर धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा समेत कार्यरत रहेको बुझिएको छ।

आक्रमणकारी समूहको पहिचान भएको र उनीहरूलाई नियन्त्रणमा लिन प्रहरी परिचालित भइसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मुकुन्द रिजालले बताए। अनुसन्धान प्रभावित हुनसक्ने भन्दै प्रहरीले आक्रमणकारीको नाम गोप्य राखेको छ।

उक्त समूहका केही व्यक्तिले मादकपदार्थ सेवन गरेको हस्पिटलका कर्मचारीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय