चट्याङ्बाट कसरी बच्ने ?
एकैदिने चट्याङमा परेर सप्तरीका चार, मकवानपुरका दुई र मोरङका एक गरी ६ जनाको ज्यान गएको छ । यो आज (असार ११) कै घटना हो ।
चट्याङबाट नेपालमा सर्वसाधारणले ज्यान गुमाउने, पशुचौपाय मर्ने र घरगोठको क्षति हुने समस्या वर्षौदेखि हुँदै आएको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा चट्याङ लागेर नेपालमा ४९ जनाको मृत्यु भएको थियो भने ६९ जना घाइेत भएका थिए ।
चट्याङबाट गत वर्ष २ सय ४३ पशुचौपायको मृत्यु हुनुका साथै २३ घर र ३ गोठमा क्षति पुगेको तथ्यांक छ ।
आर्थिक वर्ष २०७६/७७ मा चट्याङबाट ६१ जनाको ज्यान गएको छ भने ६९ जना घाइते र ३ जना बेपत्ता भएका थिए। चट्याङका कारण २०७६÷७७ मा १ सय १७ पशुचौपायको मृत्यु, १ सय १९ घर, २३ गोठमा क्षति पुगेको थियो । ३६ घर विस्थापित भएको थियो ।
चट्याङ किन पर्छ?
बिजुली चम्किँदा आकाशबाट शक्तिशाली विद्युतीय तरंग पृथ्वीमा प्रवाह हुन्छ । जसलाई चट्याङ भनिन्छ। सूर्यको किरण वायुमण्डलमा ठोक्किँदा पृथ्वीमा विद्युतीय चार्ज उत्पादन हुने र यसलाई सन्तुलनमा राख्न चट्याङ पर्ने गर्छ।
चट्याङ जुनसुकै मौसम र समयमा पर्न सक्ने भए पनि मनसुनअघिको अवधि (मार्च–अप्रिल– मे)मा बढी पर्ने गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘वायुमण्डल अस्थिर हुँदा आकाशमा कालो बाक्लो कुमुलो निम्बस बादलको मात्रा बढी हुन्छ, जसले गर्दा जमिनको तातो हावा उठेर माथिको चिसो हावासँग ठोक्किँदा चट्याङ पर्छ,’ महाशाखाकी मौसमविद् सजिना शाक्य भन्छिन्, ‘चट्याङबाट बच्न घरभित्र बस्ने र बाहिर भएको अवस्थामा आफ्नो उचाइ घटाउने हातले भुईं नछुने र रुखबाट टाढा बस्नुपर्छ।’
‘चट्याङ बिहानभन्दा बढी दिउँसोको समयमा पर्ने गर्छ, बिजुली चम्किएको र मेघ गर्जिएको बेला सकेसम्म घरबाहिर निस्कनु हुँदैन। निस्किएको भए पनि ३० सेकेन्डभित्र रुखभन्दा टाढा रहेर ओत लाग्नुपर्छ,’ शाक्य सुझाउँछिन्।
मेघ गर्जिएको र बिजुली चम्किएको बेला हातले पृथ्वीलाई छुन नहुने बताउँदै उनले भनिन्, ‘जनावर चारखुट्टे भएकाले मान्छेभन्दा बढी उनीहरूलाई चट्याङ लाग्ने गर्दछ ।’
चट्याङबाट कसरी बच्ने?
१. मेघ गर्जिएको र बिजुली चम्किएको बेला सकेसम्म घरभित्रै बस्ने
२. घरबाहिर भए खोंच र होंचो ठाउँमा बस्ने
३. रूख नजिक नबस्ने
४. आफ्नो उचाइ कम गर्ने
५. जमिनलाई हातले छुन नहुने
६. विद्युतीय उपकरणको प्रयोग नगर्ने
७. धातुका चिज वस्तुहरू नछुने