वीरको कोरोना प्रयोगशालामा ताला, विवाद ‘कोठा’ प्रयोग

वीर अस्पतालमा कोरोना भाइरसको परीक्षण तीन दिनदेखि हुन सकेको छैन। कोठा विवादका कारण परीक्षण ठप्प रहेको अस्पतालका एक कर्मचारीले जानकारी गराए।

संक्रमणको जोखिम हुने भएका कारणले अस्पताल प्रशासनले रिपोर्ट वितरण गर्न छुट्टै एउटा कोठाको व्यवस्था गरेको थियो। जुन कोठामा एमडी मेडिसिनका विद्यार्थीहरू अध्ययन गर्दै आएका थिए।

अस्पतालले प्रशासनले विद्यार्थीलाई अन्य कोठाको व्यवस्थापन गर्दा पनि उनीहरूले त्यही कोठा चाहिने भन्दै जेनेटिक ल्याबमा ताला लगाएका हुन्।

‘परीक्षण गरिरहको ठाउँबाट रिपोर्ट विवरण गर्दा संक्रमण जोखिम हुने भएका कारण हामीले अस्पताल प्रशासनसँग ल्याब नजिकको एक कोठा मागेका थियौं,’ ल्याबका एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘त्यसैअनुरुप प्रशासनले कोठा उपलब्ध गराएको थियो। तर, विद्यार्थीले विरोध गर्दै ताला लगाइरहेका छन्।’

त्यसकारण तीन दिनदेखि कोरोना परीक्षण हुन सकेको छैन। ‘हरेक दिन बिहान विद्यार्थीले ल्याबको कोठामा ताला लगाउँदै आएका छन्। पटक–पटक हामीले ताला तोडेर भित्र काम गर्दै आएका छौं,’ उनले भने।कोरोनाको रिपोर्ट बनाउने ठाउँ अभावका कारण विद्यार्थीले प्रयोग गर्दै आएको क्लास रूम प्रयोगशालालाई दिइएको अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बताए।

‘विद्यार्थीले त्यही क्लास रुम चाहिने भनेर परीक्षण नै अवरोध हुने किसिमको वातावरण गरे,’ डा. सेञ्चुरीले भने, ‘अहिले यो समस्या समाधान गर्नेतर्फ लागेको छु।’

१ असार संकलित भएको नमुनाको रिर्पोट आजसम्म पनि नआएको गुनासो सेवाग्राहीको रहेको छ। तर, अस्पताल प्रसाशन भने त्यतिका धेरै दिन नुमना होल्डमा नरहेको बताउँछ।

चैत २९ देखि वीर अस्पतालमा कोरोना परीक्षण गर्दै आएको थियो। अन्य सामान्य दिनमा दैनिक १ सय ५० भन्दा बढी परीक्षण हुँदै आएको अस्पतालको तथ्यांक छ।

पिसिआर परीक्षण गर्ने मेसिन क्षमता रहेता पनि जनशक्ति अभावको कारण परीक्षणलाई तीव्रता दिन नसकेको ल्याबका कर्मचारीको गुनासो छ।  जनशक्ति अभावका भएको कारण परीक्षण न्युन भइरहेको डा. सेञ्चुरीले बताए।

वीरमा एक मेसिन र केही जनशक्ति तयार रहेको र अब केही दिनपछि ५ सयको परीक्षण गर्ने तयारी भइरहेको उनले बताए।  हालसम्म अस्पतालले २ हजार ६ सयको हाराहारीमा परीक्षण गरेको छ। हाल ६ जना जनशक्तिले कोरोना परीक्षणमा खटिएका छन्।

हाल परीक्षणलाई चाहिने जनशक्तिमा आनुवंशिक वैज्ञानिक, दुई मेडिकल ल्याब टेक्नोलोजिस्ट, ल्याब टेक्निसियन, माइक्रो बायोलोजिस्ट, बायोलोजिस्ट रहेका छन्।
पछिल्लो समय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सुदूरपश्चिम प्रदेशबाट आएको संकलित नमूना वीरमा पठाउँदै आएको छ।  वीरले उपत्यकामा रहेका २७ स्याटलाइट अस्पतालबाट आएको नमूनाको परीक्षण गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय