कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीले अवरोध गरेपछि प्रहरीले गोली चलायो

तस्बिर सौजन्य : सन्दिप पौडेल

कोरोनाबाट मृत्यु भएका स्याङ्जाका ५५ वर्षे कोरोना संक्रमित पुरुषको शव १३ घन्टापछि व्यवस्थापन गरिएको छ। पोखरास्थित क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएका स्याङ्जा सिरुवारीका पुरुषको शव पोखरा–३२ मजुवामा व्यवस्थापन गरिएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिए।

शव व्यवस्थापनका लागि डोजरले खाडल खन्न लागेको थाहा पाएपछि स्थानीयले विरोध गरेका थिए। स्थानीयबासी शव गाड्न नदिने भन्दै मृतकको शव बोकेको गाडीलाई अघि बढ्न नदिन टायर बालेर प्रदर्शनमा उत्रिएका हुन्।

शव व्यवस्थापन गरेर फकिन लाग्दा स्थानीय युवा कास्की र तनहुँको सिमामा प्रहरीले बनाएको कोरोना डेस्क तोडफोडमा उत्रिएका थिए। ‘हामी शव व्यवस्थापन गरेर फर्किँदै थियौं। त्यस क्रममा स्थानीयबासी मजुवाको डेस्क तोडफोड र ढुंगामुढामा उत्रिनुभयो,’ प्रवक्ता हमालले भने, ‘त्यसपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर भएको हो।’ सशस्त्र प्रहरीले ८ राउन्ड हवाई फायर गरेको उनले जानकारी दिए। प्रहरीले ८ जना स्थानीयलाई नियन्त्रणमा लिएको छ।

उपचारका लागि गत ८ असारमा पोखरा आएका स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको बुधबार मध्यराती ११:३५ बजे मृत्यु भएको हो। डाइबेटिज र निमोनियाबाट ग्रस्त ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि पोखरा ल्याएर भेन्टिलेटरमा राखिएको थियो।

शव व्यस्थापनका क्रममा स्थानीय र प्रहरी बीच झडप भएको यो दोस्रो घटना हो। कोरोनाबाट मृत्यु भएका गण्डकी प्रदेशका पहिलो व्यक्तिको शव व्यस्वस्थापनका लागि जाँदा प्रहरीले लाठीचार्ज नै गर्नुपरेको थियो। स्याङ्जा वालिङ ३ का ५८ वर्षे पुरुषको उपचारको क्रममा गत २५ जेठमा राति ११ः३० बजे पोखरामै मृत्यु भएको थियो। पहिलो मृतकको शव १९ घन्टापछि पोखरा–११ रिठ्ठाघाटमा व्यस्थापन गरिएको थियो।

पहिलो मृतकको शव व्यवस्थापन गर्दा प्रदेश सांसद, वडाका जनप्रतिनिधि र स्थानीय विरोधमा उत्रिएका थिए। गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ। आज बिहान ४ जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ सय ५३ पुगेको हो। संक्रमितमध्ये ९१ जना निको भएर घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय