जनस्तरबाट कनकाइमा पिसिआर ल्याब सञ्चालन हुने

एक महिना लामो कसरत र छलफलपछि झापामा जनस्तरबाट पिसिआर ल्याब सञ्चाल हुने भएको छ। प्रदेश १ सरकारले कनकाइ नगरपालिका- ३ कोटिहोमको समर्पण भवनमा ल्याब सञ्चालन अनुमति दिएको छ।

एकका लागि एक अभियान, झापा जिल्ला सहकारी संघ र अन्तर्राष्ट्रिय झापाली समाजको सहयोगमा ल्याब सञ्चालन हुन लागेको हो। सरोकारवालासँगको छलफलमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले ल्याब सञ्चालनको अनुमति दिइएको बताए।

मन्त्री घिमिरेले खरिद प्रक्रिया र भन्सार छुटका लागि प्रदेश सरकारले जिम्मेवारी लिने बचन गरे। झापाका राजनीतिक दल, सहकारी अभियन्ता र साझेदार संस्थाबीच ल्याब राख्ने स्थानका विषयमा पटकपटक छलफल भएको थियो।

मन्त्री घिमिरेले समर्पण भवनमा ल्याब राख्न अनुमति दिए। पिसिआर मेसिन तत्काल खरिद गर्न अभियान टोलीलाई मन्त्री घिमिरेले आग्रह गरेका छन्। उनले एकदुई दिनभित्रै ल्याब राख्ने योजना बनाएको सुनाए। भवनको मापदण्ड हेर्न र मूल्यांकन गर्न प्राविधिक टोली खटिएको जानकारी गराए।

ल्याब सञ्चालनका लागि पनि प्रदेश सरकारले सहयोग गर्ने उनले बताए। कोटिहोम झापाको मध्यवर्ती क्षेत्र भएकाले पनि ल्याब सञ्चालनका लागि प्रयुक्त स्थान भएको अभियानमा जुटेकाहरुको तर्क छ।

झापामा राजनीतिक दलका प्रमुखहरूले मन्त्री घिमिरेलाई निर्णयबाट पछि नहट्न दवाब दिएका छन्।

नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेस नेता द्वय देउमान थेवे र राम कट्टेल, राप्रपा झापाका उपाध्यक्ष कमल खरेल, जनता समाजवादी पार्टी झापाका अध्यक्ष अनुत राजवंशीले प्रतिबद्धतापछि नहट्न दवाब दिएको एकका लागि एक अभियानका सहसंयोजक बिनोद बस्नेतले बताए।

कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले ल्याब स्थापनापछि सञ्चालनको व्यवस्थापकीय जिम्मेवारी नगरपालिकाले लिने बताए। उनले नगरले २५ लाख रुपैयाँ विनियोजन गरेको जनाए।

ल्याब सञ्चालनका लागि सहकारी संघ मार्फत २५ लाख, अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख र बाँकी रकम अभियानमा आबद्ध संघसंस्थाले जुटाएका छन्। ल्याब सञ्चालनका लागी १ करोड २७ लाख लाग्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय