कर्णालीमा आत्महत्याको घटना बढ्यो, सुर्खेतमा सबैभन्दा बढी

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि लकडाउन घोषणा भएयता कर्णाली प्रदेशमा आत्महत्या गर्नेको संख्यामा वृद्वि भएको छ।

चैत ११ गतेयता कर्णालीमा दैनिक एक जनाले आत्महत्या गर्ने गरेको तथ्यांक छ। जेठ अन्तिमसम्म कर्णालीमा कुल ८५ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

गत वर्ष कर्णालीमा कुल २ सय ५० वटा आत्महत्याका घटना भएका थिए। त्यसमा यही समयमा ४४ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेश प्रहरीका प्रहरी उपरिक्षक राजीवबहादुर बस्नेतका अनुसार चैतअघि फागुनमा सात जनाले विष र १५ जनाले झुन्डिएर आत्महत्या गरेका थिए।

२०७६ चैत ११ देखि २०७७ जेठ ३२ सम्म ४४ पुरुष, २७ महिला, ८ बालक र ६ बालिकाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ।

प्रदेश राजधानीमा धेरै

आत्महत्या गर्नेहरूको संख्या सबैभन्दा बढी सुर्खेत देखिएको छ। लकडाउनको यस अवधिभर सुर्खेतमा ३५ जनाले आत्महत्या गरेका छन्। दैलेखमा १५, रुकुम पश्चिममा ११, सल्यानमा २०, जुम्लामा ३ र डोल्पामा १ जनाले आत्महत्या गरेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए।

आत्महत्या गर्नेमा विष खाएर १६, झुन्डिएर ६८ जना र हातहतियार र औजारबाट १ जनाले आत्महत्या गरेका हुन्।

निराशावादी सोच पलायो : मनोविद्

लकडाउनका कारण नागरिकमा निराशावादी सोच पलाएको मनोविद् राजेशकुमार झाको भनाइ छ। उनले भने, ‘लकडाउनले अर्थतन्त्रलाई गहिरो प्रभाव पारेको छ।नागरिकको व्यापार, व्यवसाय तथा रोजगारी धरापको अवस्थामा पुग्यो। यस्तो अवस्थामा नागरिकमा सकारात्मक सोच हराउँदै निराशावादी सोच पलाउन थाल्छ। जसका कारण मानसिक समस्याबाट नागरिक पीडित बन्न सक्छन्।’

तनाव मान्छेले धेरै दिन सहन नसक्ने हुँदा यस्ता आत्महत्या धेरै हुने गरेको उनी बताउँछन्। मान्छे अवसर, काम, लक्ष्य र जीवन जिउने बाटोको खोजीमा हुन्छन् भन्दै उनले भने, ‘ती सबै बाटाहरू बन्द भएपछि विचलित भएर छटपटाहट धेरै हुने र आवेगमा आएर सोच परिवर्तन गर्न सक्छन्।’

अवस्था र परिस्थितिको सामना गर्न नसक्नु र आफ्ना समस्या व्यक्त गर्न नसक्नुले पनि मानसिक समस्या पैदा हुने उनले बताए। यस्तो अवस्थामा मानसिक समस्या भएका व्यक्तिको समस्या बुझ्न जरुरी छ। यस्तो बेला आफन्त र अभिभावक सँगै हुनुपर्ने उनको सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय