स्याङ्जाका मृतक संक्रमित : किराना पसल सञ्चालक, भोजमा सरिक

कोरोनाबाट मृत्यु भएका स्याङ्जा सिरुवारीका पुरुषको कुनै ट्राभल हिस्ट्री नभएको खुलेको छ। घर अर्जुनौपारी गाउँपालिका भएका मृतकले आँधीखोला गाउँपालिकाको पञ्चमुलमा किराना पसल गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए।

‘उहाँको कुनै ट्राभल हिस्ट्री रहेनछ। व्यवसाय गर्ने भएकाले त्यहीँ आउनेबाट स-यो कि भन्ने अनुमान गरेका छौं । सम्पर्कमा हुनुभएका ३५ देखि ४० जनाको लिस्ट आएको छ,’ उनले भने। प्रमुख शर्माका अनुसार संक्रमित पुरुष ६ जेठमा श्वासप्रश्वासमा समस्या भएपछि भोलिपल्ट स्थानीय पञ्चमुल स्वास्थ्य केन्द्र पुगेका थिए।

जिल्लामा आइसियु र भेन्टिलेटरको समस्या भएपछि उनलाई उपचारका लागि पोखरा पठाइएको थियो। ‘स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले केस जटिल देख्नुभयो। त्यसपछि पोखरा पठाइयो। उतै स्वाब लिँदा कोरोना पोजेटिभ देखिएछ,’ प्रमुख शर्माले भने। संक्रमित पुरुष कोरोना पुष्टि भएदेखि भेन्टिलेटरमा रहेकाले उनको ट्रेसिङमा समस्या भएको शर्माले बताए।

परिवार र आफन्तको आजै स्वाब लिइने उनले जानकारी दिए। ‘भेन्टिलेटरमा रहेकाले सोधपुछ गर्नसक्ने अवस्था भएन। आफन्तसँग बुझ्दा श्राद्ध र भोजमा गएको पत्ता लागेको छ,’ प्रमुख शर्माले भने।

उपचारका लागि गत ८ असारमा पोखरा आएका स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको बुधबार मध्यराती मृत्यु भएको हो। डाइबेटिज र निमोनियाबाट ग्रस्त ती पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि पोखरा ल्याएर भेन्टिलेटरमा राखिएको थियो।

योसहित गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ। यसअघि स्याङ्जा वालिङ ३ का ५८ वर्षका पुरुषको २५ जेठमा क्षेत्रीय अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ। आज बिहान ४ जिल्लाका ११ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ सय ५३ पुगेको हो। संक्रमितमध्ये ९१ जना निको भएर घर फर्किएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय