पूर्वतयारी सुस्त हुँदा संक्रमण बढ्यो : डा. नवराज केसी

वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा कार्यरत चार स्वाथ्यकर्मीलाई सोमबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको थियो।

अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल नै सिल गरी त्यहाँ कार्यरत ४२ स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखियो।

बुधबार जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएसँगै अस्पतालको आकस्मिक कक्षबाहेक अन्य सेवाहरू बन्द गरिएको छ।

पहिले भारतबाट कर्णाली प्रवेश गरेका नागरिकले कोरोना संक्रमण ल्याएको बताइरहँदा कर्णालीको समुदाय स्तरमा कोरोना फैलिइसकेको देखिन्छ। योसँग कर्णालीका स्वास्थ्यकर्मीहरू संक्रमण जोखिममा परेका छन्।

कोरोना संक्रमणविरुद्ध कर्णालीको पूर्वतयारी सुस्त भएका कारण संक्रमणबाट स्वास्थ्यकर्मीहरू बढी जोखिममा रहेको प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सक नवराज केसी बताउँछन्।

उनले भने, ‘कोरोना संक्रमणको अवस्था नभएको समयमा कर्णालीमा पर्याप्त तयारी थिएन। स्वास्थ्यकर्मी यस विषयमा अन्योलमै थिए। उहाँहरूलाई कोरोना संक्रमण रोकथामका लागि कसरी अघि बढ्ने भन्ने विषयमा तालिम तथा धेरै विषयमा जानकारी अभाव थियो।’

हरेक प्रकारका सरुवा रोगमा स्वास्थ्यकर्मी बढी जोखिममा हुन्छन् नै। त्यसमाथि कर्णालीमा सीमित स्रोतसाधनसँग सीमित स्वास्थ्यकर्मीहरू कोरोनाविरुद्ध क्रियाशील छन्। स्वास्थ्यकर्मीमा जोखिम न्यूनीकरण गर्न सके कोरोना संक्रमण रोकथामका क्रियाकलाप प्रभावकारी रूपमा अघि बढ्न सक्छ।

डा. केसीले भने, ‘कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्यकर्मीलाई सामग्री कमी छ। पिपिईलगायतका सामग्री अझै आवश्यक छ। अस्पतालले आफ्ना स्वास्थ्यकर्मीलाई धेरै मात्राका पिपिईलगायतका सामग्री दिन सकिरहेका छैनन्।’

अस्पतालहरूमा कोरोना संक्रमण न्यूनीकरणका लागि क्षेत्रगत रूपमा विभाजन गरिनुपर्ने डा. केसीको सुझाव छ। उनले भने, ‘अस्पतालमा रेड, एल्लो र ग्रिन जोन गरी क्षेत्रगत विभाजन गरेर स्वास्थ्य सेवा दिइनुपर्छ। यसले कोरोना संक्रमणको अवस्था केही हदसम्म रोकथाम गर्न सकिन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय