‘आइसोलेसनमा रहेका बिरामीको पिसिआर परीक्षण गरी रोगमुक्त भएपछि मात्रै घर पठाउनू’

सर्वोच्च अदालतले आइसोलेसनमा रहेका बिरामीको पिसिआर परीक्षण गरी रोगमुक्त भएपछि मात्रै घर पठाउनू अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले आइसोलेसनमा राखिएकालाई घर पठाउँदा अनिवार्य पिसिआर परीक्षण गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।

‘आइसोलेसनमा रहेका बिरामीहरूको संख्या र सरकारको परीक्षणको क्षमता हेर्दा आइसोलेसनमा रहेका बिरामीहरूको पुनः पिसिआर गर्न सकिँदैन भन्ने नदेखिएको समेतबाट आइसोलेसनमा राखिएका बिरामीहरूलाई निश्चित अवधिपछि बिना परीक्षण घर पठाउन सकिने भनी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७७।२।२० को निर्णयद्वारा जारी निर्देशिकाको दफा ६ हाल कार्यान्वयन नगरी आइसोलेसन मा रहेका बिरामीहरूको पिसिआर परीक्षण गरी रोगमुक्त भएपछि मात्र घर पठाउनू भनी नेपालको संविधानको धारा १३३ र सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम विपक्षीहरूको नाममा यो अन्तरिम आदेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ।

अधिवक्ता सन्तोष भण्डारी समेतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

राज्य संयन्त्रद्वारा स्थापित परीक्षणबाट संक्रमित देखिएका बिरामीहरू जुन मानसिक संत्रासमा हुन्छन् सो कुराको निवृत्ति पनि परीक्षणद्वारा नै गरी उनीहरूलाई आफू स्वस्थ छु भन्ने कुरामा आश्वस्त पार्नुपर्ने दायित्व सर्वोच्चले सम्झाएको छ।

‘जनताको स्वास्थ्य, समानता र सम्मानपूर्वक बाँच्न पाउने हकको संरक्षण गर्नु राज्यको कर्तव्य रहेको सन्दर्भका परीक्षण पश्चात कोरोना संक्रमित देखिइ आइसोलेसन मा राखिएका बिरामीहरूलाई बिरा परीक्षण घर फर्काउने भन्ने कुरा किञ्चितरूपमा पनि मानवीय तथा संविधानसम्मत हुने देखिँदैन,’ आदेशमा भनिएको छ।

कोरोना संक्रमित दखिइ आइसोलेसनमा राखिएका बिरामीहरूलाई पिसिआर परीक्षण घर फर्काउने भन्ने कुरा मानवीय तथा संविधानसम्मत नहुने आदेशमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय