‘कार्पेटको साटो क्वारेन्टाइनको ढोकाको चुकुल फेरेको भए बलात्कृतको घटना हुने थिएन’

प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले कोभिड–१९ प्रकोप व्यवस्थापनमा पुनः सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसदहरूले ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको अवस्थामा पनि सरकारले पिसिआर परीक्षण र क्वारेन्टाइन व्यवस्थामा उच्च प्राथमिकताका साथ काम गर्न नसकेको बताएका हुन्।

नेपाली कांग्रेसकी नेतृ एवं सांसद रंगमति शाहीले पुस महिनामै कोरोना संक्रमणको सन्देश पाइसक्दा पनि सरकारले पूर्व तयारीमा ध्यान नदिएको बताएकी छिन्।

शाहीले प्रतिपक्षीले साथ दिँदा पनि सरकारले इच्छाशक्ति देखाउन नसकेको बताइन्। ‘रातो कार्पेट फेर्नभन्दा क्वारेन्टाइनका ढोकाको चुकुल फेरिदिएको भए महिलाहरू बलात्कृत हुने थिएनन्,’ उनले भनिन्।

सत्तारुढ नेकपाकी नेतृ तथा सांसद मनकुमारी जिसीले सरकारले विदेशबाट फर्किएका नागरिकको व्यवस्थापन गरिरहेको बताइन्।

तर, यतिले मात्रै सरकारको दायित्व पूरा नहुने जिसीको टिप्पणी छ। उनले बाढी, पहिरोका कारण नागरिकहरू समस्यामा परेको उनले बताइन्।

क्वारेन्टाइनहरूको व्यवस्थापन तथा महिलाहरूका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै जिसी सबै जुटे महामारीविरु लड्न सकिने बताइन्।

त्यसैगरी, सत्तारुढ दलकै सांसद महेश्वरजङ्ग गहतराजले कोभिड–१९ को महामारीका कारण नागरिकको दैनिकमा अस्वाभाविक असर पुगेको बताए।

गहतराजले प्राथमिक तहका जनताले गम्भीर समस्या झेलिरहेको बताउँदै राहतको विषयमा ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।

त्यसैगरी, नेपाली कांग्रेसका नेता तथा सांसद मीन विश्वकर्माले कोरोना भाइरसको महामारीका बीचमा भएका आर्थिक कारोबारका बारेमा विरोध र बहस देखिएको बताए। विश्वकर्माले यसको समाधानका लागि सरकारले ठोस नीति लिनुपर्ने बताए।

‘लकडाउन सुरू भएको सुरूदेखिको समयलाई शून्य समय मानौं, यो समयमा व्यापार–व्यवसाय रहेको घरधनीले घरभाडा नलिऔं, घरधनीसँग बैंकले ब्याज नलिऔं, सो अवधिमा सरकारले कर नलिऔं, स्कूलले विद्यार्थीसँग शुल्क नलिऔं, निजी विद्यालयका शिक्षकलाई पनि सरकारी विद्यालयका शिक्षकसरह तलब भुक्तानी गरोस्, मजदुर र श्रमिकलाई मासिक ७ हजार दिने निर्णय गरोस्, होटल, रेस्टुरेन्ट र क्याफेलाई सुलभ ब्याजदरमा पुनः सञ्चालन गर्ने कर्जा दिने निर्णय गरियोस्, उद्योग सञ्चालन नभएको अवधिमा आधा तलब उद्योग सञ्चालकले दिने निर्णय गरियोस्’ विश्वकर्माले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय