‘आरडिटीको विश्वसनीय छैन, प्रतिवादीहरूको पिसिआर परीक्षण गरेर मात्रै थुनछेकमा पेस गर्नू’

काठमाडौं जिल्ला अदालतले आरडिटी परीक्षणलाई विश्व स्वास्थ्य संगठनले नै विश्वसनीय नरहेको बताएकाले अदालतमा उपस्थित गराउने सबै प्रतिवादीहरूको पिसिआर परीक्षण अनिवार्य गर्न आदेश दिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले विद्युतीय कारोबार शीर्षकमा टङ्कमान तामाङ समेतको जाहेरीले नेपाल सरकारले एकराम राई समेतका प्रतिवादीविरुद्ध दायर गरेको रिटमा यस्तो आदेश दिएको हो।

‘अब आइन्दा अदालतमा थुनछेक वा अन्य कार्यका निमित्त उपस्थित गराइने प्रतिवादीहरूको अनिवार्य रूपमा आरआरटी–पिसिआर टेस्ट गराइ सोको प्रतिवेदन मिसिल संलग्न राख्नू भनी सम्बन्धित प्रहरी कार्यालयलाई लेखी पठाउनू,’ आदेशमा भनिएको छ।

प्रतिवादीलाई सुरक्षितरूपमा हिरासत कक्षबाट अदालतमा उपस्थित गराउने कार्यका लागि खटाइने वा खटाइएका सुरक्षाकर्मी पनि प्रतिवादीसँग भौतिकरूपमा अत्यन्त निकटमा रही काम गर्नुपर्ने बाध्यता भएकाले निजहरूको पनि आरआरटी–पिसिआर परीक्षण अनिवार्य देखिएकाले अब उनीहरूको हकमा पनि त्यस्तो परीक्षण गराइ उक्त रिपोर्ट मिसिल संलग्न राख्न जिल्ला अदालतले आदेश दिएको छ।

‘परीक्षण गराउँदा लाग्ने शुल्क वा दस्तुर थुनुवा वा सम्बन्धित राष्ट्रसेवकले स्वेच्छाले आफै तिर्न वा बुझाउन खोजेमा बाहेक सरकारी खर्चमा त्यस्तो परीक्षण गर्ने प्रबन्ध मिलाउने कार्यका लागि आवश्यक व्यवस्था मिलाउनू भनि जिल्ला सरकारी वकील कार्यालय काठमाडौंमार्फत नेपाल सरकारलाई लेखी पठाउनू,’ आदेशमा भनिएको छ।

विद्युतीय कारोबार मुद्दामा प्रतिवादी एकराम राईलाई २०७७ जेठ २८ गते थुनुवा पुर्जी थमाइएको थियो। ‘निजलाई हिरासतमा लिएको दिन आरडिटी टेस्ट गरेको शुक्रराज ट्रपिकल अस्पतालको ल्याबरटरी टेस्ट रिजल्ट मिसिलमा देखियो,’ आदेशमा भनिएको छ।

तर, नेपाल सरकार हेल्थ रिसर्च काउन्सिलले कोभिड–१९ परीक्षणको सबैभन्दा सही र उत्तम प्रविधि आडिटी नभइ आरआरटी–पिसिआरलाई नै सिफारिस गरिएको आदेशमा उल्लेख छ।

‘विश्व स्वास्थ्य संगठनको ८ अप्रिल २०२० को एड्भाइस अन दी युज अफ पोइन्ट–अफ–केयर इम्यूनोडाइग्नोस्टिक टेस्ट्स फर कोभिड–१९ को साइन्टिफिक ब्रिफ ले पनि हाललाई कोभिड–१९ को परीक्षणका लागि आरडिटी प्रविधिलाई विश्वसनीय मानेको छैन,’ आदेशमा भनिएको छ।

विश्वका केही मुलुकले आरडिटी परीक्षणको विश्वसनीयतामा शंका गरी यसको प्रयोग बन्द गरेको अवस्थालाई आदेशमा स्मरण गराइएको छ।

‘तसर्थ प्रतिवादीको हकमा पनि निजमा कोभिड–१९ को संक्रमण भए/नभएको यकिन गर्नका लागि तत्काल आरआरटी–पिसिआर टेस्ट गराउनू भनी महानगरीय अपराध महाशाखा टेकुलाई लेखी पठाइ सो परीक्षण रिपोर्ट साथै राखी ल्याएपछि मात्र थुनछेक प्रयोजनका लागि इजलाससमक्ष पेस गर्नू,’ आदेशमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय