गण्डकीका विपन्नलाई राहत : १९ लाख ३८ हजार किलो चामल, डेढ लाख किलो दाल

गण्डकी प्रदेशका ८५ स्थानीय तहबाट १ लाख ७९ हजार ५ सय ५५ परिवारलाई राहत वितरण गरिएको छ। आगामी वर्षको बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री किरण गुरुङले डेढ लाख बढी विपन्न परिवारलाई राहत बाँडेको तथ्यांक प्रस्तुत गरेका हुन्।

ती परिवारलाई १९ लाख ३८ हजार ४ सय २१ किलो चामल, १ लाख ५० हजार १५ किलो दाल सहित नुनतेल लगायतका अत्यावश्यक खाद्यान्न राहत स्वरुप बँडिएको उनले बताए। कोरोना रोकथाम एवं नियन्त्रणका लागि स्थापना गरिएको कोषमा ३३ करोड ३ लाख १२ हजार रुपैयाँ जम्मा भएको छ।

त्यसमा ३० करोड प्रदेश सरकारको हो भने बाँकी सबै रकम विभिन्न व्यक्ति र संघसंस्थाले जम्मा गरेका हुन्। आइसोलेसन र क्वारेन्टाइन व्यवस्थापनका लागि केन्द्र सरकारसँग २१ करोड ६० लाख रुपैयाँ माग गरिएको अर्थमन्त्री गुरुङले जानकारी दिए।

साढे ८ हजार परदेशी फर्किए

गण्डकी प्रदेशमा लकडाउनपछि साढे ८ हजार नागरिक परदेशबाट फर्किएका छन्। अर्थमन्त्री किरण गुरुङले ११ चैतपछि जेठ अन्तिमसम्म भारतबाट ८ हजार ३ सय ८३ प्रदेशवासी फर्किएको जानकारी दिएका हुन्। भारतबाहेक तेस्रो मुलुकबाट २ सय २७ प्रदेशवासी फर्किएका छन्।

मन्त्री गुरुङले प्रदेश सभामा प्रस्तुत गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै बागलुङका २ हजार २७ जना स्वादेश फर्किएका छन्। तनहुँका १७ सय २२, नवलपुरका १६ सय ३४, स्याङ्जाका १४ सय ६३, पर्वतका ६ सय २, गोरखाका ३ सय ३१, कास्कीका २ सय ७८ , लमजुङका १ सय ६३ र म्याग्दीका १ सय ५९ जना प्रदेशवासी लकडाउनयता प्रदेश फर्किएका छन्।

उनीहरु सबैलाई क्वारेन्टाइनमा राखेर घर पठाइएको अर्थमन्त्री गुरुङले बताए। प्रदेशका ९ जिल्लाबाहेक मनाङ र मुस्ताङका १/१ जना प्रदेश फर्किएको अर्थमन्त्री गुरुङले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय