गुणस्तरहीन पिपिई र तालिम अभावले स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै

कोरोना भाइरसबाट जति सर्वसाधारणको संक्रमित संख्या बढ्दै गएको छ फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीमा पनि संक्रमण बढ्दो छ।

अहिलेसम्म कोरोनाबाट ४९ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। समग्रमा नेपालमा संक्रमित संख्या शनिबारसम्म ८ हजार ६ सय ५ पुगेको छ। त्यसमध्ये १ हजार ५ सय ७८ जना निको भएर घर फर्किएका छन् भने २२ जनाको मृत्यु भएको छ।

आइतबारसम्म ५ चिकित्सकसहित ४९ स्वास्थ्यकर्मी संक्रमित भएको तथ्यांक छ।

नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले सरकारको लापरबाही, गुणस्तरहीन स्वास्थ्य सामग्रीका सम्बन्धित निकायहरूबीचको समन्वय अभावका कारण स्वास्थ्यकर्मीलाई संक्रमण बढिरहेको बताए।

किन बढिरहेछ स्वास्थ्यकर्मीमा संक्रमण?

अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव, सरकारको लापरबाही र उचित तालिम तथा परामर्शको अभावले स्वास्थ्यकर्मी पनि संक्रमण दर बढिरहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेले सरकारको लापरबाही, गुणस्तरहीन स्वास्थ्य सामग्रीका सम्बन्धित निकायहरूबीचको समन्वय अभावका कारण स्वास्थ्यकर्मीलाई संक्रमण बढिरहेको बताए।

उनले भने, ‘पहिलो त गुणस्तरहीन सामग्रीको भरका काम गर्नुपर्छ। त्यही पनि कति ठाउँमा त पाइँदैन। अर्को स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयबीच उचित समन्वय छैन। यसले गर्दा राम्रो व्यवस्थापन हुन सकेन।’

‘स्वास्थ्यकर्मीलाई न समयमै आवश्यक सामग्री उपलब्ध गराइयो न त कुनै तालिम तथा प्रशिक्षण नै दिइयो,’ अध्यक्ष घिमिरेले भने, ‘व्यक्तिगत स्वास्थ्य सामग्रीबिना फिल्डमा खटिनुपर्ने र पाइएका सामग्री पनि गुणस्तरहीन हुँदा स्वास्थ्यकर्मीले जोखिम मोलिरहेका छन्, संक्रमण बढिरहेको छ।’

कतिपय ठाउँमा स्वास्थ्यकर्मीले एकपल्ट प्रयोग गरिएको पिपिइ र अन्य सुरक्षाका साधन पुनः प्रयोग गर्नुपरेको यथार्थता सुनाउँदै उनले भने, ‘यसले गर्दा झन जोखिम बढ्यो। त्यसका लागि पर्याप्य जानकारी नै दिइएन।’

महामारीका बेला सरकारले स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीको स्वास्थ्यलाई विशेष ध्यान दिनुको सट्टा गम्भीर लापरबाही गरेको उनको आरोप छ।

‘स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयबीच नै समन्वय छैन भने स्वास्थ्यकर्मीको अवस्थाबारे कसले सोच्ने? सरकारको लापरबाहीले हामी स्वास्थ्यकर्मीको मनोबल गिराएको छ,’ अध्यक्ष घिमिरेले प्रश्न गर्दै भने।

स्वास्थ्यकर्मीले अहिले केही स्वास्थ्य सामग्री पाए पनि गुणस्तरीय नभएकाले संक्रमणको जोखिम बढेको उनको तर्क छ।

कोरोना महामारीसँग लड्न अग्रभागमा खटिएका स्वास्थ्यकर्मी नै भाइरसको चपेटामा परेपछि सर्वसाधारणमा त्रास बढेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीको अनुभव छ।

उनले महामारीविरुद्धको लडाइँमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी नै सुरक्षित नरहे सर्वसाधारणले सुरक्षित महसुस गर्न नसक्ने बताइन्।

कोरोना महामारीसँग लड्न अग्रभागमा खटिएका स्वास्थ्यकर्मी नै भाइरसको चपेटामा परेपछि सर्वसाधारणमा त्रास बढेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीको अनुभव छ।

स्वास्थ्यकर्मीहरू नै क्वारेन्टाइनको रेखदेख, स्वाब संकलन र संक्रमितको उपचारमा खटिनुपर्ने भएकाले जोखिम बढ्नु स्वाभाविक भए पनि त्यसका लागि सम्बन्धित निकायले विशेष व्यवस्था गर्नुपर्ने उनी बताउँछिन्।

उपकुलपति भण्डारीले भनिन्, ‘संक्रमण जतिबेला जोसुकैलाई पनि हुनसक्छ, यसमा सबैले ध्यान दिनुपर्छ। स्वास्थ्यकर्मी बढी जोखिममा भएकाले सामाजिक दूरी कायम गर्ने, सुरक्षाका सामग्री प्रयोग गर्ने कुरामा विशेष ध्यान दिने अनि अस्पतालभित्र र बाहिर एक्सपोजर हुँदा सुरक्षामा हेलचेक्र्याइँ गर्न हुँदैन।’

असार ५ मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक, नर्सिङ इन्चार्ज, आइसोलेसन वार्ड इन्चार्ज र इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मी गरी चारजनामा कोरोना भाइरस पोजेटिभ रहेको पुष्टि भएको थियो।

सुरु सुरुमा स्वास्थ्य सामग्री पिपिइ (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट), स्यानिटाइजर, थर्मल गनलगायतका स्वास्थ्य उपकरण अभावले पनि स्वास्थ्यकर्मीमा भाइरसको जोखिम बढेको उनको बुझाइ छ।

‘सुरुमा स्वास्थ्य सामग्रीको अभावले संक्रमण बढ्यो र अहिले सामाजिक दूरी कायम नगर्नु, स्वास्थ्यकर्मी सजग र सचेत नहुनका साथै सही सूचनाको सम्प्रेषण नहुनुले स्वास्थ्यकर्मीमा संक्रमण जोखिम बढाएको छ,’ उनले भनिन्।

कोरोनाको आशंका लागेका सर्वसाधारणले सूचना र लक्षण लुकाउँदा स्वास्थ्यकर्मी थप जोखिममा परेको बताउँदै उनले भनिन्, ‘शंकास्पद बिरामीलाई एक अस्पतालबाट अर्को अस्पताल रेफर गर्दा सही सूचनाको अभाव र समन्वय नहुँदा समस्या बढिरहेको छ।’

कञ्चनपुर पुनर्वास नगरपालिका–९ स्थित परासन स्वास्थ्य चौकीमा कार्यरत एक ल्याब असिस्टेन्ट भने स्वास्थ्य सामग्री अभावले आफूलाई कोरोना संक्रमण भएको गुनासो गर्छन्।

उनी जेठ ८ गते भारतबाट आउने सर्र्वसाधारण कोरोनाको रोकथाम नियन्त्रण, स्वास्थ्य परीक्षण, क्वारेन्टाइन व्यवस्थापनका लागि त्रिनगर भन्सार नाकामा खटिएका थिए। त्यतिबेला उनीसँग सामान्य मास्कबाहेक अन्य सुरक्षा सामग्री केही थिएन।

‘महामारीसँग लड्न अग्रपंक्तिमा उभिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री अभाव हुँदा जोखिम बढिरहेको छ,’ स्वास्थ्य सामग्री लगाएर फिल्डमा जान पाएको भए मलाई संक्रमण हुँदैन थियो सायद।’

‘बिना कुनै स्वास्थ्य सामग्री सीमानाकामा खटिँदा नै संकमण सर्‍यो कि भन्ने लागिरहेको थियो। सही भएछ,’ उनले आफूलाई संक्रमण सर्दाको अनुभव सुनाए।

कोरोना संक्रमण जितेकी नर्स लक्ष्मी केसी पनि आफूहरू बढी जोखिममा रहेकाले त्यहीअनुसार सचेतना अपनाउनुपर्ने बताउँछन्। बाँके खजुरा गाउँपालिकामा कार्यरत उनले भनिन्, ‘गाउँगाउँमा रहेका क्वारेन्टाइनमा गएर सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्न जानुपर्ने, स्वाब संकलन गर्नुपर्ने र अस्पतालमा आउने शंकास्पद बिरामीसँग नजिक रहेर उपचारमा खटिनुपर्ने हुँदा स्वास्थ्यकर्मीमा जोखिम बढी छ।’

उनले क्वारेन्टाइन, स्वाब संकलन, स्वास्थ्य संस्थामा जाँदा आफू पनि सचेत र सजग रहने हुँदै सामाजिक दुरीमा विशेष ध्यान दिई आवश्यक सुरक्षा सामग्री प्रयोग गर्न सके केही हदसम्म सुरक्षित रहने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय