लकडाउनको बेला भाडा उठाएर बस चलाउने चार चालक पक्राउ, यात्रुलाई क्वारेन्टाइन पठाइयो

लकडाउनको बेला सवारी पास नै नलिई सार्वजनिक गाडीमा यात्रु ओसार्ने चार जना चालकलाई प्रहरीले पक्राउ गरेको छ।  महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले आइतबार बससहित चालकलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–६ का राहुल डबगर, सुनसरी धरान नगरपालिका–२२ का राकेश शाक्य, बाँके गजुरा गाउँपालिका–२ का रुद्रबहादुर खत्री र नेपालगञ्ज–४ का विकास शर्मा छन्।

श्रेष्ठका अनुसार राहुलले बा४ख ४५८० नम्बरको माइक्रोमा आठ जना यात्रु लिएर काठमाडौं आएका थिए।  यस्तै, शाक्यले ना५ख ५८३४ नम्बरको बसमा झापाबाट १९ यात्रु लिएर आएका थिए। यस्तै, खत्रीले ना७ख ७३९५ नम्बरको बसमा १५ जना यात्रु ल्याएका थिए भने शर्माले बा४ख ७३७३ नम्बरको माइक्रोमा छ जना यात्रु ल्याएका थिए।

उनीहरूसँग एक जिल्लाबाट अर्को जिल्ला जान सम्बन्धित निकायबाट अधिकार प्राप्त अधिकारीले जारी गरेको पास थिएन। प्रहरी सोधीखोजी गर्दा कोरोना भाइरसको पिसिआर टेस्टको रिपोर्ट समेत देखाउन सकेका थिएनन्।

ती गाडीमा आएका यात्रुहरूलाई कीर्तिपुर राधाश्वामी सत्संग होल्डिङ जोनमा आवश्यक व्यवस्थापनको लागि पठाइएको छ। प्रारम्भिक सोधपुछको क्रममा चालकमध्ये राहुल डबगरले प्रतियात्रु दुई हजार रुपैयाँ भाडा लिएर बस चलाएको थाहा भएको छ।

यस्तै, ना५ख ५८३४ नम्बरको बसका चालक राकेश शाक्यले १९ जना प्रतियात्रुबाट दुई हजार र ना७ख ७३९५ नम्बरको बस चालक रुद्र बहादुर खत्रीले पनि दुई हजार नै प्रतियात्रु भाडा उठाएको पाइएको छ।

पक्राउ परेका चारै जनालाई संक्रमण रोग ऐन २०२० अन्तर्गत कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय