पोखराका ९० वर्षे संक्रमित वृद्धका छोरामा पनि कोरोना पुष्टि

पोखराका ९० वर्षे संक्रमित वृद्धका ४० वर्षे छोरामा समेत कोरोना पुष्टि भएको छ। बुवामा संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङमा परेका छोरामा आइतबार कोरोना पुष्टि भएको पोखरा महानगरपालिका स्रोतले जनाएको छ।

स्याङ्जाको वालिङ घर भइ पोखरा–१४ घर भएका वृद्धमा ३ असारमा कोरोना पुष्टि भएको थियो। सम्पर्कमा आएका ६५ वर्षको स्वाब पिसिआरका लागि पठाइएकोमा प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार कोरोना पुष्टि भएको जानकारी दिएको हो। महानगर स्रोतले भन्यो, ‘संक्रमितको सम्पर्कमा आएपछि हाम्रो क्वारेन्टाइनमा बस्नुभएको थियो। उहाँ पोखरा–१४ का संक्रमितको छोरा हुनुहुन्छ। परिवारका अरु ११ सदस्यको रिपोर्टबारे औपचारिक जानकारी आएको छैन।’

संक्रमित वृद्धको सम्पर्कमा आएका ६५ जनाको ४ असारमा स्वाब संकलन गरिएको थियो। उच्च ज्वरो आएपछि पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा पुगेका वृद्धको स्वाब पिसिआरका लागि पठाइएकोमा कोरोना पुष्टि भएको थियो। वृद्धको सम्पर्कमा आएका अस्पतालका ५३ कर्मचारी र १२ परिवारका सदस्य ट्रेसिङमा परेका थिए।

अस्पतालका कर्मचारी सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक मिलन श्रेष्ठले जानकारी दिए। ‘सबैको रिपोर्ट नेगेटिभ आयो। अस्पतालमा सुरक्षाका विभि अपनाइएको छ। उहाँहरु पिसिआर नेगेटिभ आएपछि काममै हुनुहुन्छ,’ उनले भने।

वृद्धलाई कसरी स-यो कोरोना ?

स्याङ्जाको वालिङ घर भइ २० वर्षदेखि पोखराबस्दै आएका वृद्ध जिल्ला बाहिर गएका छैनन्। उनी उच्च ज्वरो आएपछि २२ जेठमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेका थिए। कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका वृद्धलाई क्षेत्रीय अस्पतालले प्रि–आइसोलेसनमा राख्यो। २२ जेठमा नै भारतबाट फर्किएका वालिङ–३ का ५८ वर्षे पुरुष उपचारका लागि क्षेत्रीय अस्पताल आएका थिए। उनमा पनि उच्च ज्वरो थियो।

दुवैलाई ज्वरो आएपछि क्षेत्रीय अस्पतालले कोरोनाको रिपोर्ट नआउँदासम्म शंकास्पद भन्दै प्रि–आइसोलेसनमा राखेको थियो। वालिङका पुरुषमा २५ जेठमा कोरोना पोजेटिभ देखिँदा सँगै बसेका ९० वर्षे वृद्धको भने रिपोर्ट नेगेटिभ आएको थियो। कोरोना संक्रमण नदेखिएपछि २५ जेठमै उनी घर फर्किएका थिए। वालिङका ५८ वर्षे पुरुषको भने आइसोलेसन भर्ना गर्दाको दिनमै मृत्यु भएको थियो। उनी कोरोनाबाट मृत्यु हुने गण्डकी प्रदेशको पहिलो व्यक्ति हुन्। मृतक पुरुषका श्रीमति र छोरीमा पनि ५ असारमा संक्रमण पुष्टि भएको छ।

रिपोर्ट नेगेटिभ आएपछि क्षेत्रीय अस्पतालले ९० वर्षे वृद्धलाई घर पठायो। तर ज्वरो आएपछि उनी भोलिपल्टै पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल गए। सामुदायिक अस्पतालले स्वाब संकलन गरेर पठाउँदा रिपोर्ट पोजेटिभ आएपछि अहिले ती वृद्धको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। उनलाई प्रि–आइसोलेसनबाटै कोरोना सरेको अनुमान गरिएको छ। पोखरासहित गण्डकी प्रदेशमा अहिलेसम्म ५ सय २३ जनामा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ३९ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय