स्वास्थ्य मन्त्रालयको किताब छाप्ने ठेक्का प्रधानमन्त्रीका अवैतनिक सल्लाहकारलाई

स्वास्थ्य सामग्री खरिद प्रकरणमा अपारदर्शी गतिविधिले आलोचित स्वास्थ्य मन्त्रालयलाई कोभिड-१९ को महामारी नियन्त्रणका गतिविधिको किताब छाप्न उस्तै हतारो भएको छ।

यो हतारो पार लगाउन मन्त्रालयलाई अपारदर्शी बाटो अपनाउनुपरेको छ। पहिलो त, मन्त्रालय प्रकाशक रहेको किताबको मुद्रण कसले गर्‍यो त्यो नै ‘गायब’ छ।

थोरै संख्यामै पुस्तक छपाइ, खर्चको हिसाब कम नै आए पनि यो पुस्तक छपाइको गाँठो प्रधानमन्त्री कार्यालयको सल्लाहकार टिममा पुगेर फुकेको छ।

साझा प्रकाशन, मुद्रण विभाग हुँदाहुँदै स्वास्थ्य मन्त्रालयले कोभिड-१९ महामारीसम्बन्धीको किताब प्रधानमन्त्रीका सल्लाहकार सञ्चालक रहेको निजी कम्पनीमार्फत् छापेको हो।

बागबजारको एमएस माउस प्रा.लि. मार्फत मन्त्रालयले ‘कोभिड-१९ महामारी र हाम्रा प्रयासहरू’ नामक किताब प्रकाशन गरेको हो।

पाँच लाखभन्दा बढीको सरकारी काममा सार्वजनिक खरिद ऐन आकर्षित हुन्छ। प्रतिस्पर्धा गराउन नपरेपछि मन्त्रालयले किताब छाप्न प्रधानमन्त्रीका सल्लाहकारलाई दिएको हो। शनिबार उक्त किताब मन्त्रालयले पत्रकार सम्मेलनमा बाँडेको थियो।

एमएस माउस कम्पनी महेन्द्र श्रेष्ठको हो। उनी प्रधानमन्त्री केपी शर्मा ओलीका अवैतनिक सल्लाहकार हुन्।

बागबजारस्थित यो कम्पनीलाई पाँच लाख रुपैयाँमाथि ननाघ्ने गरी मन्त्रालयले यो किताब छाप्न दिइएको मन्त्रालय स्रोतले जनाएको छ।

सरकारी कामका लागि नै खोलिएका साझा प्रकाशन र मुद्रण विभाग छन्। सरकारी निकायका छापाखानालाई बेवास्ता गरी मन्त्रालयले अवैतनिक सल्लाहकारकहाँ छाप्ने आवश्यकता किन देख्यो भन्ने विष्टले बताउन सकेनन्।

उक्त पुस्तकको छपाइको काम कसले गर्‍यो खुलाइएको छैन। मन्त्रालयका कर्मचारीले एउटा निजी कम्पनीबाट उक्त किताब छपाइएको बताउने गरेका छन्।

मन्त्रालयले आधिकारिक रूपमा यसको प्रकाशनबारे भएको प्रक्रियाबारे जानकारी दिन मानेको छैन। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पनि ‘समृद्धिको आरम्भ’ नामक पुस्तक एमएस माउस प्रा.लि.बाटै छापेको थियो।

त्यसबेला छाप्ने कम्पनीको नाम उल्लेख गरिएको थियो।

उक्त किताबमा श्रेष्ठलाई डिजाइनरको रूपमा खुलाइएको छ। उनी अवैतनिक सल्लाहकारका साथै छापा मजदुर संगठन इम्प्रेसन नेपालका अध्यक्ष पनि हुन्।

स्वास्थ्य मन्त्रालयले कोभिडको पुस्तक छाप्दा भने मुद्रक नै छुटाएको छ। ‘किताबमै लेखेको भए सजिलो हुने थियो, लेखिएन छ, बिल आउने क्रममा होला,’ मन्त्रालयको प्रशासन शाखाका सहसचिव रघुराम विष्टले भने।

यो पुस्तक पहिलो पटक १२५० प्रति छापिएको छ। दोस्रो संस्करण भने आउने-नआउने टुंगो छैन।

स्रोतका अनुसार एमएसले पनि नयाँ बानेश्वरको सनराइज प्रिन्टिङ प्रेसबाट यो पुस्तक छपाएको थाहा भएको छ। ‘एमएसबाट छाप्न पठाइएको थियो, हामीले छापेर दियौं,’ सनराइज प्रिन्टिङ प्रेसका सञ्चालकले भने।

सरकारी कामका लागि नै खोलिएका साझा प्रकाशन र मुद्रण विभाग छन्। सरकारी निकायका छापाखानालाई बेवास्ता गरी मन्त्रालयले अवैतनिक सल्लाहकारकहाँ छाप्ने आवश्यकता किन देख्यो भन्ने विष्टले बताउन सकेनन्।

‘साझा प्रकाशन कति बेला खुल्छ कतिबेला बन्द हुन्छ थाहा छँदैछ, सानोतिनो काम जहाँबाट पनि गर्न सकिन्छ, कोटेशन आह्वान गरेरै छपाइएको हो,’ विष्टले भने।

कोटेशन आह्वान गर्दा प्रधानमन्त्रीकै अवैतनिक सल्लाहकारलाई किन पर्‍यो भन्नेबारे पनि उनले खुलाउन चाहेनन्।

श्रेष्ठले भने पहिलेको किताब आफ्नो कम्पनीको छापाखानाले छापेको तर यसपालि कहाँ छापियो थाहा नभएको बताए। ‘मेरो छापाखाना छ, यसपालि मैले छापेको हैन,’ श्रेष्ठले भने।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले यो पुस्तकबारे स्टोर शाखासँग जानकारी लिन अनुरोध गरे।

स्टोर शाखाका प्रमुख प्रेम विश्वकर्माले किताब छपाइसम्बन्धी सूचनाका लागि मन्त्रालयमा निवेदन दिन सुझाव दिए।

‘यससम्बन्धी केही बुझ्नुपर्ने छ भने सूचना अधिकारीलाई सोध्नुहोला, नभए सूचना पाउँ भनी निवेदन हाल्नुहोला,’ उनले भने, ‘सचिवले सूचना दिने निर्णय गर्नुभयो भने दिउँला।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय