काठमाडौंबाट फर्केका थिए मुस्ताङका पहिलो संक्रमित

मुस्ताङका ८३ वर्षे कोरोना संक्रमित वृद्ध एक साता पहिले काठमाडौंबाट जिल्ला पुगेको खुलेको छ। शनिबार कोरोना पुष्टि भएका ती वृद्ध ३१ जेठमा बौद्धस्थित तिब्बती शरणार्थी क्याम्पबाट २० जनाको टिममा मुस्ताङ गएका हुन्।

जोमसोममा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि पिसिआर परीक्षणका लागि पठाइएकोमा पोजेटिभ देखिएको मुस्ताङका सहायक सिडिओ घनश्याम गौतमले जानकारी दिए। उनले हेल्थपोस्टसँग भने, ‘उहाँ २० जनाको टोलीमा १ हप्ता पहिले आउनुभएको हो। जोमसोममा आरडिटी गर्दा रियाक्टिभ देखियो। त्यसपछि स्वाब पोखरा पठाएकोमा पोजेटिभ आएछ।’ संक्रमित वृद्ध जिल्लाको घरपझोङ गाउँपालिका–१ छैरोस्थित तिब्बतियन क्याम्प निवासी हुन्।

उनीसँगै आएका ज्वाइँमा समेत आरडिटी पोजेटिभ देखिएपछि स्वाब संकलन गरेर पठाइएको थियो। ज्वाइँको भने पिसिआर नेगेटिभ आएको सहायक सिडिओ गौतमले बताए। आरडिटी पोजेटिभ आएपछि दुवैलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो। बाँकी १८ जनालाई छैरो तिब्बतीयन क्याम्पमा राखिएको छ। १८ जना बसेको उक्त क्याम्प शनिबार साँझ नै सिल गरिएको मुस्ताङ प्रशासनले जनाएको छ।

क्याम्पमा सेल्फ क्वारेन्टाइनमा बसेका १८ जनाको आइतबार स्वाब संकलन गरेर पठाइने भएको छ। वृद्धको हेरचाहका लागि उनका ज्वाइँ अस्पतालमा सँगै बसेका छन्।

संक्रमित वृद्धले उच्च रक्तचापको नियमित औषधी सेवन गरिरहेको र दुवै आँखा कमजोर रहेको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ। संक्रमितको सम्पर्कमा आएकाको खोजी सुरु भएको कार्यालय प्रमुख टिकाराम भण्डारीले बताए।

प्रदेशका ११ जिल्लामध्ये मुस्ताङबाहेक अरु सबै जिल्लामा संक्रमित भेटिएका थिए। पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ८८ पुगेको छ।

शनिबार साँझ थप भएका नयाँ ५० जना थपिएसँगै संक्रमितको संख्या ४ सय ८८ पुगेको हो। शनिबार बिहान मात्रै ७ जिल्लामा ५८ जनामा कोरोना पुष्टि भएको थियो। गण्डकीका अहिलेसम्म ३९ जना संक्रमित निको भएर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमितमध्ये वालिङका ५८ वर्षे पुरुषको भने मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय