शरणार्थी दिवसकै दिन शरणार्थीलाई कोरोना

हिमाल पारीको जिल्ला मुस्ताङमा शनिबार पहिलोपटक कोरोना संक्रमित भेटिए। एक साता पहिले काठमाडौंबाट २० जनाको टिममा मुस्ताङ गएका ८३ वर्षे वृद्धमा कोरोना पुष्टि भएको हो। तर, संक्रमित भेटिँदा संयोग पर्‍यो। शनिबार विश्व शरणार्थी दिवस मनाइरहँदा संक्रमित वृद्ध स्वयं शरणार्थी परे।

भेला भएर मनाउने परिस्थिति नभएका बेला विश्वले नै यो दिवस विभिन्न माध्यमबाट आपसी सद्धभाव साटासाट गरेर मनायो। कोरोनामुक्त रहेको मुस्ताङ शरणार्थीमा वृद्धमा कोरोना देखिएपछि शरणार्थी दिवसकै दिन कोरोना संक्रमण भेटिने जिल्लाको सूचीमा थपियो।

संक्रमित वृद्ध काठमाडौंको बौद्धस्थित तिब्बती शरणार्थी क्याम्पबाट ३१ जेठमा अरु २० जनासँगै मुस्ताङ गएका थिए। जिल्लाको घरपझोङ गाउँपालिका–१ छैरोस्थित तिब्बतियन क्याम्पलाई गन्तव्य बनाएका उनी त्यहाँसम्म पुग्नै पाएनन्। जोमसोममा आरडिटी परीक्षण गर्दा रयाक्टिभ देखिएपछि जिल्ला अस्पतालको आइसोलेसनमा रखियो।

‘उहाँ २० जनासँग एउटै बसमा आउनुभएको थियो। जोमसोममा उहाँ र उहाँको ज्वाइँमा कोरोना पोजेटिभ देखियो,’ मुस्ताङका सहायक सिडिओ घनश्याम गौतमले, ‘त्यसपछि २ जनालाई अस्पताल र १८ जनालाई गुम्बामा राख्यौं।’ आरडिटी रियाक्टिभ देखिएका २ जनाको स्वाब २ असारमा पोखरा पठाएकोमा ८३ वर्षे वृद्धमा कोरोना पोजेटिभ देखिएको हो।

१८ जना बसेको उक्त क्याम्प शनिबार साँझ नै सिल गरिएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिए। ‘क्याम्प र क्याम्प वरपर मानवीय आवागमनलाई निषेध गरिएको छ,’ उनले भने। क्याम्पमा सेल्फ क्वारेन्टाइनमा बसेका १८ जनाको आइतबार स्वाब संकलन गरेर पठाइने भएको छ।

वृद्धको हेरचाहका लागि कोरोना नेगेटिभ आए पनि उनका ज्वाइँ अस्पतालमा बसेका छन्। संक्रमित वृद्धले उच्च रक्तचापको नियमित औषधी सेवन गरिरहेको र दुवै आँखा कमजोर रहेको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ। संक्रमितको सम्पर्कमा आएकाको खोजी सुरु भएको कार्यालय प्रमुख टिकाराम भण्डारीले बताए।

प्रदेशका ११ जिल्लामध्ये मुस्ताङबाहेक अरु सबै जिल्लामा संक्रमित भेटिएका थिए। पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ८८ पुगेको छ।

शनिबार साँझ थप भएका नयाँ ५० जना थपिएसँगै संक्रमितको संख्या ४ सय ८८ पुगेको हो। शनिबार बिहान मात्रै ७ जिल्लामा ५८ जनामा कोरोना पुष्टि भएको थियो। गण्डकीका अहिलेसम्म ३९ जना संक्रमित निको भएर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमितमध्ये वालिङका ५८ वर्षे पुरुषको भने मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय